इन्डोनेसियामा बाढी पहिरोबाट ५९ को मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इन्डोनेसियामा बाढी पहिरोबाट ५९ को मृत्यु


प्रशासन संवाददाता

११ माघ २०७५, शुक्रबार


माकासार, इन्डोनेसिया । इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म ५९ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ ।

इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा परेको भीषण वर्षापछि आएको बाढी पहिरोको कारण हजारौँ व्यक्ति विस्थापित र घरवारविहीन भएका छन् ।

बाढी पहिरोका कारण अझै २५ जनाभन्दा बढी मानिस बेपत्ता रहेका छन् ।

यस प्रकारको भीषण प्रकोप आफूले कहिल्यै नदेखेको सुलावेसी द्वीपका प्रकोप नियन्त्रण विभाग प्रमुखले एएफपी समाचार समितिलाई बताएका छन् ।

इन्डोनेसियाको दक्षिणी भागमा पर्ने ११ ओटा जिल्लाका केही नदी समेत पहिरोले थुनिएका कारण गाउँतर्फ सोझिएको पानीले हजारौैँको सङ्ख्यामा नागरिक विस्थापित भएका छन् ।

प्रकोप नियन्त्रण निकाय प्रमुखले सुलावेसी द्वीपको गोवा जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको बताए। यस जिल्लामा मात्र ४४ जनाको मृत्यु भएको छ ।

बिहीबार साँझसम्म यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ३० पुगेको थियो । वेपत्ता व्यक्तिहरुको शब भेटिएको र थप केही व्यक्तिको मृत्युपछि शुक्रबार बिहानसम्म यो संख्या ५९ पुगेको बताइएको छ ।

साथै दर्जनौँ व्यक्ति घाइते भएका र उनीहरुको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

प्रकोपका कारण विस्थापित भएका करिब ३ हजार ४०० व्यक्तिलाई विद्यालय, मस्जिद र टेन्टहरुमा राखिएको छ ।

यस बाढीका कारण आवासीय र सरकारी भवनहरु, विद्यालय र पुल क्षतिग्रस्त भएको बताइएको छ ।

गतवर्ष इन्डोनेसियको सुमात्रा द्वीपमा आएको बाढी पहिरो कारण कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।

इन्डोनेसियामा बाढी, पहिरो र ज्वालामुखी विस्फोट जस्ता प्राकृतिक प्रकोपले बारम्बार सताउने गरेको छ ।

गत डिसेम्बरमा आएको ज्वालामुखीका कारण ४०० भन्दा बढीको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस