थप्पड से डर नहि लग्ता सा’ब, सिस्टम से लगता हे ! « प्रशासन
prasaLogo
६ माघ २०७५, आईतवार

थप्पड से डर नहि लग्ता सा’ब, सिस्टम से लगता हे !


प्रकाशित मिति : 20 January, 2019 12:00 pm

निजामती पंके

समृद्धिको सुशासनले नियमन गरेका विदेश भ्रमणहरूलाई तिन भागमा बाँडिएको रहेछ । १, मस्त भ्रमण २, अर्ध भ्रमण र ३, मन्द भ्रमण । जसमा मस्त भ्रमण भन्नाले दैनिक १०० देखी १५० अम्रीकि डलर वा सो भन्दा बढीको आयआर्जन, अर्ध भ्रमण भन्नाले दैनिक ३० देखि ७० अम्रीकि डलर मात्र आयआर्जन र मन्द भ्रमण भन्नाले फ्री मा आउजाउ र खाऊवाला भ्रमण पर्दा रहेछन् भन्ने कुरा पंकेले धेरै पछि मात्र थाहा पाएको रहेछ ।

एउटै विभागमा सँगै काम गर्ने पंकेको एउटा मिल्ने साथी थियो । मात्र एउटै आर्थिक वर्ष थियो क्यारे, त्यो पंकेको साथीले २ वटा मस्त भ्रमण, ३ वटा अर्ध भ्रमण र एउटा मन्द भ्रमणको विदेश यात्राको कष्ट सहनु परेको रहेछ । पंकेलाई भने साथीले ल्याइदिएको चकलेटले आफ्नो झोला भर्दै ठिक्क । कार्यदक्षता, कामप्रतिको लगाव र परिणाम हेरी दिने कोही रहेनछन् शायद । किन त्यस्तो भन्दा त पंकेको र मनोनयनवालाहरूको नक्षत्र अल्लि उल्टो परेको रहेछ । तथापि चकलेटमै ह्याप्पि थियो । बिचरा सरकारी निगाहमा कहिल्यै पिलेन चढ्न नपाएकालाई चकलेट नै प्यारो ।

चकलेटमै दङ्ग परेको र चुपचाप अन्याय सहेको देखेर पंकेका हाकिमले अनुमान लगाएछन् क्यारे यो निमुखो रहेछ, काम गर्नबाहेक अरू केही जान्दैन भनेर । निमुखोको मतलब राजनीतिक सेटिंग नगर्ने, चाकडी नजान्ने र खानपिन मेजमानी पनि केही नजान्ने । हाकिमलाई उसका उपर निर्णय गर्दा कुनै असहज नहुने पक्का भो । त्यसैले त पंके समृद्धिको राष्ट्रिय यात्रामा जहिले पनि बलिको बोको बनिरह्यो तर पनि राजनीतिक गुण्डागर्दी कतै गुहारेन ।

शायद भदौको पहिलो हप्ता परेको थियो, पंकेलाई सङ्घीय संरचनाको नवस्विकृत निर्विकल्प दरबन्दीमा पदस्थापन गरिएछ । सोही महिनाको दोस्रो हप्ता एउटा अनाकर्षक भनिने महाशाखा सम्हाल्ने जिम्मेवारी दिइएछ । पंके निमेषभरमा पदीय दायित्वबोध गरिसक्ने खालको थियो, जिम्मेवारी दिएको भोलिपल्टै देखी वर्षभरि नगरी नहुने न्यूनतम कार्यक्रम र महाशाखाको लक्ष्य तय गर्दै थियो । तेस्रो हप्ता टिम वर्क र प्लानिंग अनि स्ट्राटेजिहरु तयार गर्दै कार्यक्रमहरूलाई समयतालिकामा उतार्दै थियो । भदौको चौथो हप्ता लागिहाल्यो, हाकिमलाई के नशा चढेछ कुन्नि देशकै दुर्गम मानिने प्रदेशमा कामकाज गर्न जानु भन्ने चिठ्ठी थमाई दिएछन् । ब्ल्याकहोल निर्णय प्रक्रियाबाट आएको आदेशले पंके लाजवाफ र नाजवाफ थियो । यस्सो सोच्यो, हाकिम भन्या हाकिम नै हुन्, मैले भन्दा धेरै त्याग गरिसक्या हुनन् । आवश्यक ठानेरै पठायका त होलान् भन्दै आगामी शनिवार छोरोलाई स्विमिंग पुल लग्ने बाचालाई बिचैमा हारेर गुन्टा कस्यो ।

अल्लि खरो वाक क्षमता भा’को भए शायद चुपचाप बस्दैनथ्यो होला । तर पंकेले निजामती सेवालाई काम गरेर परिणाम दिने विवेकशील मेसिनको रूपमा मात्र बुझेको थियो । बोल्नैका लागि त भृकुटीमण्डपका गुडियाको भाउमा देशै भरी छरिएका असङ्ख्य नेताहरू छंदै छन् नि ।

सहन पनि कति सकेको, सब सहने । पिडाबोधको अनुभवको लागि प्रसव पिडाको उदाहरण चाहिन्थेन उसलाई । खटाएको ठाउमा हाजिर भयो । न स्वागत छ न अबिर फुलमाला, एकै छिनमा एक जना हिमाली बुज्रुकले पंकेको च्याम्बरमा टोपलेछन । अनि भन्दिएछन्: खान नपुगेरै आ’या त हुँदा हौ नि तिमी हैन ? पुग्दो हो त घरमै बस्दा हौ । आफैलाई खान नपुगेर आयाका तिमीले हामीकन क्या गर्दा हौ । तै पनि मेरो घर नजिकैको एउटा स्कुललाई अनुदान हाल्दैउ । अनि मेरा खेताँ खोला पस्याछन एस्सो तटबन्ध गर्न्या पैसा मिलाइदेऊ । म मन्त्रीकन पनि भनी जांउला । तिमीले यत्ति गर्दिए । पंके शक्ड, सुपर शक्ड ।

पंकेले जागिर न त पैसाका लागि खाएको थियो न त कथित सामाजिक प्रतिष्ठाको लागि । दुई छाक खान हजुरबाउले आर्जेको कृषि जग्गा र बाउले सिर्जेको व्यापार पनि छंदै थियो । तर सबै छोडेर स्वाभिमान र आत्मसन्तुष्टिका लागि निजामती जागिर अपनाएको पंकेलाई ती बुज्रुकले ख्वाइदिएका डाइलगहरू पाच्य त थिएनन् तर पनि पचाई दियो ।

हिजोआज सङ्घीयताका प्रशासकहरूले व्याख्या गर्ने “कामकाज गर्न खटाएको” अर्थात् सरुवा भएको छैटौँ दिनमा भुक्तानीको लागि एउटा फायल आयो । केही समय अगाडी माननीयको अघिपछि लागेर एक बथान ताननियहरु घुम्न जानुभाथ्यो, सांस्कृतिक चलनचल्ती अनुसार त्यस्तै दुई/चार थान बिटा खर्चिनुपर्ने गरी सोमरस आचन गरिबक्सनु भएको रहेछ (बिचरा एउटा हजुरबाले दिनको १२ घण्टा गिट्टी कुटेर कमाई खादा घुट्क्याउने दालको झोलमा पनि कर ला’छ हाम्रो स्थानीय सिंहदरवारले) । यस्सो मिलाएर भुक्तानी गरिदिनुपर्यो भन्ने ब्यहोराको उक्त तिखो फायल बोकेर ताननिय मध्येका एक महापुरुषले टकार्दिनुभएछ ।

पंकेले अध्ययन गर्‍यो । भुक्तानी दिनै सक्दैनथ्यो । खै किन हो यत्तिका वर्ष जागिर खाईसकेरपनि पंकेलाई सेटिंग मिलाउनै नआउने । ए भाइ यो फायल फिर्ता लिएर जाऊ, भुक्तानी हुँदैन भन्दियो । त्यसपछि उक्त ताननीय जंगियो: साला यथास्थितिवादी, परिवर्तित राज्यव्यवस्थामा नयाँ अन्मिनुभएका माननीयहरू र उहाँका सहयोगीहरूलाई असहयोग गर्ने । साला सङ्घीयता विरोधी कर्मचारी । त जस्ताकै कारणले नेपालमा सङ्घीयता खतरामा परिरा’छ ।

सङ्घीयतामा नयाँ जन्मनुभएका राजईच्छाधारी माननीयहरूको नाममा दाई हाल्न खोज्ने अधिकतम सङ्ख्यामा रहेका ताननियहरुको अभिस्ट पुरा गर्न पंके पुरापुर असमर्थ थियो । जसका कारण केही दिन असहज वातावरणमै अफिस चलिरह्यो तर धेरै टिक्न सकेन । किन भन्दा, उता सोमरसको बिल चढेका चढेई यता भुक्तानी गर्ने पंके मरिगए नटेर्ने । अरू पनि कतिपय कार्यक्रम मागको नाममा भाग लगाएर खाने प्रकृतिका आशयपत्रहरूको बिगबिगी बखान गरी साध्य थिएनन् । ३ महिना पनि पुरा नहुँदै सङ्घको एउटा विभागमा सरुवा (ए सरि, कामकाज स्थानान्तरण) भयो । अन्ततः: पंकेको कामकाजको ठेगाना परिवर्तन भएर सङ्घीय तहमानै आई पुग्यो ।

त्यो विभागमा त झन् २ महिना पनि टिकेन । प्रश्न उठ्ला, किन ? पहिल्यै बखान गर्‍याजस्तो पंके त निमुखो बिचरा । पदस्थापना पेश्की दिएन की अथवा कसैलाई उसको रंगरुप मन परेन । बिना कसुर कसै सँग झगडा पनि नपरिकनै पनि टिकेन विभागमा । उसको कामकाज स्थानान्तरण फेरी अर्को प्रदेशमा गरियो ।

शासनलाई मुठ्ठीको अधिकार बुझ्ने र कानुनलाई आदेशले उछिन्ने परिवेशमा हुर्केका जनप्रतिनिधिहरूको कुनै कमी नभएको प्रताडीत राज्यमा मिल्ने भए पंकेलाई घटुवा गरेर सरुवा गर्थे होलान् तर मिल्दैनथ्यो । पंके देश जानेर शेष पल्टिकन पनि नव रक्तसञ्चार भएको कर्मठ निजामतीको आदर्श ज्वाला स्वरूप थियो ।

नवनियुक्त प्रदेश पुग्दा नपुग्दै २ हप्ताभित्रै एउटा फोन आयो । माननीय बोल्दै छु भन्याजस्तो त सुनिन्थ्यो तर प्रस्ट थिएन परिचय, आदेश चांहि प्रस्ट थियो: मेरो ससुराको सालीकी अमाजुकी नातिनी ज्वाईको गांउमा एउटा कार्यक्रम हाल्दिन पर्‍यो । पंकेले हुन्छ हजुर म फायल हेरौँला कानुन संवत् भएसम्म त तपाईको कार्यक्रम पार्नु मेरो पनि सौभाग्य नै हुन्थ्यो नि भन्दिएछ । उताबाट फेरी भनेछन्: हेरौँला होइन हेरिहाल्ने अनि बजेट पारिहाल्ने नत्र खैरियत छैन नि फेरी । भोलि म मेरो सालोलाई पठाउँछु । फोन राखियो ।

भोलिपल्ट सालो आयो । पंकेले टाइम दिएन । फायल अध्ययन गर्दा कार्यक्रम दिन मिल्ने अवस्था नै देखेन शायद । त्यसको एक डेढ घण्टामा माननीय आफै आई पुगेछन् । ढोका पनि नढकढकाई भित्र पसे र कुर्ले: यो प्रदेशको माननीय हो म, तैँले पढेका कानुनहरू सिरानीमा राखेर सुत तर मेरो काम गरिनस् भने यी औँला र औँठीको छाप बस्ने गरी थप्पड लगाईदिम्ला फेरी । बिचरा बजारमा निस्क्यो भने कति प्रेमिकाहरूले म्वाइँ खाम्ला जस्तो गर्ने पंकेका कलिला गालामा थप्पड !

पंकेले स्वाभिमानको धनुष उचाल्यो अनि वाक्य फुटायो । थप्पड से डर नहि लग्ता सा’ब, सिस्टम से लगता हे । निजामती कर्मचारीको नाताले सरकारको नोकर हुनुका साथसाथै नबिर्सनुस् म यो देशको शिक्षित र एक स्वाभिमान आम नागरिक पनि हुँ ।

थप्पड से डर नहि लग्ता सा’ब, सिस्टम से लगता हे । कतै तपाई जस्ता मान्छेहरूको अराजनीतिक स्वार्थका खातिर आम जनताको समृद्धिको सपना खरानीको राख् हुने त होइन । थप्पड से डर नहि लग्ता सा’ब, सिस्टम से लगता हे । यस्तै अराजक अवस्था हाबी भैरहेमा कतै राज्य दुर्घटनामा परेर निमुखा जनताले पुन: अशान्ति, अभाव र द्वन्द्व झेल्नुपर्ने त होइन । थप्पड से डर नहि लग्ता सा’ब, सिस्टम से लगता हे । यस्तै अराजक अवस्था रहिरहे कतै तानाशाहवाद जन्मिने अवस्था आउने खतरा पलाउने त होइन । थप्पड से डर नहि लग्ता सा’ब, सिस्टम से लगता हे । यस्तै अराजक अवस्था रहिरहे देशको राजनीतिक र आर्थिक अवस्था डामाडोल भएर स्टेट फेलियर हुन पुगी सबै नेपाली नागरिकहरू अनागरिक बन्ने त होइनन् ।

पंकेले यति भन्दै गर्दा ती माननीय धेरै गलिसकेका रहेछन् । अवाक् सुनिरहेका तिनलाई पंकेले अरू थप्यो: तपाईँलाई यसरी बोल्न हुर्काउने मान्छेहरू म जस्तै निजामतीकै खोल ओढेका तर भ्रष्ट्रचारी र राष्ट्रघाती थिए होलान् नत्र तपाईँले म सँग यति बोल्न आँट्नुहुन्थेन । म गएपछी भोलि निजामतीको बर्को ओढेर आउने अर्को लुते कर्मचारीले पनि तपांईको ईच्छानुसार काम गर्देलान् । तर माननीयज्यू, म पंके हो “निजामती पंके” । बरु मलाई तपांईको सार्वभौम सभाकै अङ्कगणितले बर्खास्त गर्नुस् या तपाँईहरुको राज्य नै यस्तै हो भनी मेरो राजीनामा माग्नुस्, दिन तयार छु । नत्र म भएसम्म र म बाँचेसम्म मेरो धर्म भनेको संविधान र कानुनको कार्यान्वयन र जनआकाङ्क्षाको विवेकशील सम्बोधन मात्र हो । माननीयदारीहरूको हुकुम टेर्नै पर्छ भनेर कुनै कानुनमा काला अक्षरले पोतिएका छैनन् । चेतना भया ।

प्रतिक्रिया दिनुहोस