उपत्यकाबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपत्यकाबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन


प्रशासन संवाददाता

५ माघ २०७५, शनिबार


काठमाडौं । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् ।

स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् । वाग्मती सफाइ महाअभियानको २९७ औँ हप्तामा ललितपुरतिरको गुसिङ्गालमुनिको नदी किनारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा प्रदेशसभा सदस्यद्वय दीपेन्द्र श्रेष्ठ र धर्मराज रेग्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मीको सहभागिता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत ३० संस्थाका ४०० अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए । डेढ वर्षअघि गुसिङ्गाल क्षेत्रबाट हटाइएका सुकुम्बासी फेरि नदी किनारमा आइ बसेकाले नदीमा फोहर बढेको पाइएको उनले जानकारी दिए ।

गुह्येश्वरीमाथिको नदी सफाइको २५८औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–६ र ८ को सीमास्थित माकालबारी क्षेत्र अघिको नदी किनारमा सफाइ गरियो । दुवै वडाको संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए ।

सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत आह्वान गरेको छ । घरकै फोहर व्यवस्थपन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ । सो अवसरमा नगरपालिका–६ का अध्यक्ष रमेश अर्याल, वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गाना, मानवअधिकार तथा शान्ति समाजलगायत संघ संस्थासहित माकालबारी टोलवासी गरी २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइ अभियानको २५२ हप्तामा रातोपुल–रुद्रमतीमार्ग– कालोपुलसम्मको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, वडा सदस्यद्वय शर्मिला महतोसहित २०० जना अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी रोहित गिरीले जानकारी दिए ।

सफाइ अभियानका अवसरमा वडाध्यक्ष कार्कीले घर आँगनको सफाइ नगरे अर्को हप्ता वडा कार्यालयले कारवाही गर्ने जानकारी दिए । विष्णुमती सफाइ अभियानको २२४औँ हप्तामा तारकेश्वर नगरपालिका–७ र टोखा नगरपालिका वडा नं ३ को दियालो पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई सुनाए ।

सफाइसँगै सो क्षेत्रमा प्लास्टिक जलाउँदा स्वास्थ्यका लागि नकारात्मक असर गर्ने भनी जनचेनामूलक अभियान पनि सञ्चालन गरिएको थियो । वाग्मतीको तिलगङ्गा क्षेत्रमा १९९औँ हप्ताको सफाइ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो ।

तिलगङ्गा आँखा अस्पताल अघिको नदी किनारमा भएको सफाइमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १०७औँ हप्ताको सफाइ गरियो । सयभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले राससलाई जानकारी दिए ।

मनोहरा नदी सफाइको ९७औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्रप्रसाद दङ्गालले बताए । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख सरिता दाहालसहित १०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

चक्रपथ सफाइ अभियानको ९३औँ हप्तामा ग्रिनसिटी अस्पतालबाट बसुन्धरा चोकसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । चक्रपथ सफाइ अभियानकै संयोजकत्वमा आजदेखि ललितपुरको लगनखेल बसपार्क क्षेत्रमा पनि सफाइ शुरु भएको छ । युवा अभियानकर्मी केपी खनालको नेतृत्वमा शुरु भएको सफाइमा आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

आलोकनगर सफाइको ९३औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । सो अवसरमा जनचेतनामूलक अभियान समेत चलाइएको थियो ।

चक्रपथ बाफल खण्ड सफाइको ७५औँ हप्तामा सीतापाइलाचोकबाट स्वयम्भू बुद्धपार्कसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ३०० जनाभन्दा बढी अभियानकर्मीको सहभागितामा भएको सफाइमा हेभी इक्विपमेन्ट डिभिजनको सहयोगमा ब्रुमर लगाई सडकको धुलो टिपिएको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको उपत्यकाका नदी एवं चक्रपथलगायत विभिन्न स्थानको सफाइले देशव्यापी स्वरुप ग्रहण गरेपनि सोचेजति सफा हुन नसकेको गुनासो छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ । वाग्मती किनारमा सञ्चालन भएका सुङ्गुर बङ्गुर फार्म र सुकुम्वासी बस्ती हटाउन समेत सरकारले पहल गर्न सकेको छैन ।

माघ २६ गते वाग्मती सफाइ महाअभियान शुरु भएको ३००औँ हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी भएको छ । विशेष कार्यक्रमका लागि शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजनामा बैठक गरी तयारीका काम अघि बढाइएको जनाइएको छ । संघीय मामिला मन्त्रालयले उपत्यकाका सबै नगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा छलफल कार्यक्रम आयोजना गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस