राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी


प्रशासन संवाददाता

२ माघ २०७५, बुधबार


नारायणपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय घोराहीमा तालबन्दी गरेका छन् ।

कर्मचारी संघर्ष समितिले भोलिदेखि आकस्मिक र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ । राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भएपछि प्रतिष्ठानका पदाधिकारी व्यक्ति स्वार्थमा लागेको भन्दै सातदर्जन बढी स्वास्थ्यकर्मी, कर्मचारी आन्दोलित हुँदै आएका छन् । आन्दोलित कर्मचारीले कर्मचारीको समायोजन हुनुपर्ने, तलब खुवाउनुपर्ने, सुविधा कटौती गर्न नहुनेलगायतका माग राख्दै आएका छन् ।

प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारका श्रेणीविहीन कर्मचारीको म्याद थप नगरेको साथै चिकित्सकको समेत म्याद थपका लागि आवश्यक सिफरिस नगरेपछि आन्दोलन थालेको संघर्ष समितिका अध्यक्ष हिमलाल गौतमले जानकारी दिए । राप्ती उपक्षेत्रीय अस्पतालको अरबौंको सम्पत्ति तथा जिन्सी प्रतिष्ठानमा अटाएको अवस्थामा सोही अस्पतालमा वर्षौंदेखि कार्यरत कर्मचारी निकालिनु दुर्भाग्य भएको अध्यक्ष गौतमले बताए ।

अस्पतालका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् । साथै विगतमा अस्पताल सञ्चालन गर्न ल्याइएको औषधि, सर्जिकल सामान, प्रयोगशाला र एक्सरेको सामान, कार्यालय सामानको समेत व्यापारीलाई भुक्तानी नगरेको अध्यक्ष गौतमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस