चार स्वास्थ्य चौकीलाई सुत्केरी गराउने औजार प्रदान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चार स्वास्थ्य चौकीलाई सुत्केरी गराउने औजार प्रदान


प्रशासन संवाददाता

२७ पुस २०७५, शुक्रबार


बेझाड । पूर्वखोला गाउँपालिका पाल्पाले ४ वटा स्वास्थ्य चौकीलाई सुत्केरी गराउँदा आवश्यकपर्ने औजार तथा उपकरण प्रदान गरेको छ । गाउँपालिकाले वडा नं १ सिलुवा, वडा नं २ को जल्पा, वडा नं ५ वीरकोट र वडा नं ६ हेक्लाङको स्वास्थ्य चौकीलाई सक्सन मेसिन, इलेक्ट्रिक अक्सिजन मेसिन, डब्लरलगायतका औजार तथा उपकरण उपलब्ध गराएको गाउँपालिकाका स्वास्थ्य उपसंयोजक मोहन ढकालले जानकारी दिए ।

उनले बाँकी रहेका वडा नं ३ को रिङनेरह र वडा नं ४ को देवीनगर स्वास्थ्य चौकीलाई पनि छिट्टै नै सुत्केरी गराउन आवश्यक पर्ने औजार र उपकरण उपलब्ध गराउने बताए । प्रतिसेट रु एक लाख २० हजार बढी मूल्यका ती उपकरण गाउँपालिकाले आफ्नै खर्चमा खरीद गरी स्वास्थ्य चौकीलाई प्रदान गरेको ढकालले बताए ।

गाउँपालिकाले संस्थागत सुत्केरी अभियानलाई थप मद्दत गर्न सुत्केरी हुँदा आवश्यक पर्ने औजार र उपकरण उपलब्ध गराएको बताइएको छ । ‘जिरो होम डेलिभरी’ अभियानलाई शतप्रतिशतमा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको छ । गाउँपालिकाले शुरु गरेको संस्थागत सुत्केरी कार्यक्रम अहिले निकै प्रभावकारी बन्दै गएको छ ।

चालू आर्थिक वर्षको पछिल्लो विवरणअनुसार ९३ जना सुत्केरी भएकामा चार जनामात्रै घरमा सुत्केरी भएको पाइएको छ । गाउँपालिकाभित्र चालू आर्थिक वर्षमा ८९ जनाले स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी भएको तथ्याङ्क छ ।

गाउँपालिकाका वडा नं ३ रिङनेरह र वडा नं ४ को देवीनगर स्वास्थ्य चौकीमा शतप्रतिशत संस्थागत सुत्केरी भएको पाइएको छ । पूर्वखोला गाउँपालिकाका सबै वडामा प्रसूति सेवा सञ्चालनमा ल्याउने जिल्लाकै पहिलो गाउँपालिका हो ।

प्रतिक्रिया दिनुहोस