सरकार अनवरत रूपमा विकासमा जुटेको छ : प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकार अनवरत रूपमा विकासमा जुटेको छ : प्रधानमन्त्री ओली


प्रशासन संवाददाता

२० पुस २०७५, शुक्रबार


इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताएका छन् ।

इलाम सदरमुकाममा आज आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै उनले सरकारले कृषि, यातायात, औद्योगीकरणलगायतको क्षेत्रमा तीव्रताका साथ काम गर्न थालेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले अहिले राष्ट्र निर्माण अभियान शुरु भएकाले यो अभियानलाई सहयोग गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए । “सरकार एक्लैले विकासमा गति दिन सक्दैन । यसका लागि उद्यमी, व्यवसायीको समेत सहयोग चाहिन्छ ।’

उनले शिक्षा, मानव विकास सूचकाङ्क, आर्थिक उत्पादकजस्ता विषयमा इलाम अग्रणी जिल्ला भएकाले पनि यहाँ अनेकौँ लगानीयोग्य क्षेत्र रहेको उल्लेख गरे ।’इलाम मुलुककै अग्रणीमध्येको पनि अग्रणी जिल्ला हो । यहाँ लगानी गरे घाटा हुँदैन ।’

इलाम सचेत जिल्ला भएकाले सबै क्षेत्रमा लगानी गर्दा उल्लेखनीय प्रगति हुने भन्दै प्रधानमनत्री ओलीले यहाँ सञ्चार, उत्पादनको साधनलगायतका थुप्रै लगानीयोग्य क्षेत्र रहेका छन् भने ।

अन्तर्राष्ट्रियस्तरमा समेत इलाम लगानीयोग्य क्षेत्र भनेर चिनिसकेकाले इलामको आर्थिक विकास हुनेमा आफू ढुक्क रहेको बताउँदै उनले प्रदेश नं १ देशकै नमूना प्रदेश भएकाले यहाँका सबै विषयवस्तुले आकर्षण गर्ने उल्लेख गरे ।

‘यो प्रदेशमा देशकै होचो क्षेत्रदेखि सगरमाथासम्मका क्षेत्र छन् । कञ्चनजङ्गा पर्वत शृङ्खलादेखि विश्वकै अग्लो क्षेत्र अन्य हिमालसमेत भएको क्षेत्र भएकाले सबै वस्तुको आकर्षक प्रदेश हो ।’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री अभिनन्दित

लगानी सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलाम नगरपालिकाका तर्फबाट अभिनन्दित गरिएको छ । राष्ट्र निर्माण पुर्‍याएको योगदानको कदर गर्दै प्रधानमन्त्रीलाई नगरले अभिनन्दन गरेको हो । सामान्य परिवारमा हुर्किएरसमेत राष्ट्रका लागि लडेको र मुलुकको परिवर्तनको लागि जेल जीवनसमेत बिताउनु परेको भन्दै प्रधानमन्त्रीलाई अभिनन्दन गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, उद्यमीलगायतको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस