सप्तरीमा बढ्यो धान उत्पादन « प्रशासन
prasaLogo
१४ पुष २०७५, शनिबार

सप्तरीमा बढ्यो धान उत्पादन


प्रकाशित मिति : 29 December, 2018 7:52 am

राजविराज । यस वर्ष सप्तरीमा धान उत्पादन बढेकोे छ। विगत चार वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो।

यस वर्ष करिब १९ हजार ६ सय ७५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र (तत्कालीन कृषि विकास कार्यालय) का वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिए।

जिल्लामा रहेको कूल ७० हजार हेक्टर खेतीयोग्य जमीनमध्ये यस वर्ष ६३ हजार हेक्टरमा धान बाली लगाइएको बताउँदै प्रतिहेक्टर २ दशमलव ८५ मेट्रिकटनका दरले कूल एक लाख ६९ हजार ५५० मेट्रिकटन धान उत्पादन भएको उनले बताए।

गत वर्ष प्रतिहेक्टर सरदर २ दशमलव ७५ मेट्रिकटन धान उत्पादन भएको थियो। आव २०७३/०७४ मा उत्पादन २ दशमलव ५ मेट्रिकटन प्रतिहेक्टर थियो भने आर्थिक वर्ष ०७०/०७१ र ०७१/७२ मा जिल्लामा औसत तीन दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो।

गत वर्षको तुलनामा यस वर्ष सात प्रतिशत धान उत्पादन भएको उक्त कार्यालयले जनाएको छ।

रोपाईंको समयमा तुलनात्मकरुपमा वर्षाले साथ दिएकाले गत वर्षभन्दा ८ हजार ५ सय हेक्टर बढी जमिनमा धान रोपाईं भएकाले पनि धान उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत यादवले बताए।

गत वर्ष रोपाइँको समयमा पर्याप्त सिँचाइ नहुँदा सात हजार हेक्टर जमनि बाँझै रह्यो। गत वर्षको बाढीले रोपाईं भएको धानबालीसमेत पुरेपछि कतिपय किसानले यसपाली पनि धानबाली लगाउन सकेका थिएनन्।

करिब ८ हजार ५ सय हेक्टर धानबाली त्यति बेला बाढीले बगाएको थियो र बाँकी रहेको बालीबाट किसानले कूल १ लाख ४९ हजार ८ सय ७५ मेट्रिकटन धान उत्पादन गरेको उक्त कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

सिँचाइ अभावमा हरेक वर्ष १० देखि ४० हजार हेक्टर खेतीयोग्य जमिन सप्तरी जिल्लामा बाँझो रहने गरेको पाइएको छ।

सप्तरीमा ५६ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमीनलाई सिञ्चित क्षेत्र मानिए पनि चन्द्रनहर, कोसी पश्चिमी नहर र कोशी पम्प नहर प्रणाली गरी तीन वटा ठूला सिँचाई प्रणाली र ग्रामीण पूर्वाधार विकास कार्यक्रम तथा सिँचाई सेक्टरअन्तर्गतका अन्य सानातिना सिँचाइ छन् तर अधिकांश सिँचाइ प्रणालीको अवस्था जीर्ण र अस्तव्यस्त हुँदा हरेक वर्ष सिँचाइ अभावकै कारण १० देखि ४० हजार हेक्टरसम्म खेतीयोग्य जमीन बाँझो रहने गरेको उक्त कार्यालयले जनाएको छ।

प्राप्त तथ्याङ्कअनुसार आव ०७४/०७५ मा ६३ हजार हेक्टर जमिनमा मात्रै धान बाली लगाइएको थियो भने २०७३/७४ मा ५४ हजार ५ सय हेक्टर, ०७२/०७३ मा ३२ हजार ९ सय हेक्टर तथा ०७१/०७२ मा ४२ हजार हेक्टर र ०७०/०७१ मा ६० हजार २ सय हेक्टरमा धान बाली लगाइएको थियो। रासस

प्रतिक्रिया दिनुहोस