नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण


प्रशासन संवाददाता

५ पुस २०७५, बिहिबार


दार्चुला । लेकम गाउँपालिका–३ लालीमा निर्माण भएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणको काम पूरा भएको छ ।

भारतसँग सीमा जोडिएको लेकम गाउँपालिकाको लालीमा सञ्चालन हुने ट्युब विस्थापनअन्तर्गत निर्माण भइरहेको झोलुङ्गे पुल निर्माणको काम पूरा भएको हो । पुल निर्माणको औपचारिक रुपमा सम्पन्न भएको घोषणा गर्न मात्रै बाँकी रहेको निर्माण कम्पनी मनोमालिका कन्सटक्र्सनका प्रतिनिधि दीपक साउँदले बताए । पुलको प्राविधिक रुपमा स्वीकृत गरेपछि झोलुङ्गे पुलबाट आवतजावत गर्न दिइनेछ ।

पुल निर्माणको प्राविधिक मूल्याङ्कन गर्न यही दुई तीन दिनभित्र प्राविधिक टोली लाली आउने कार्यक्रम रहेको साउँदले बताए । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७२ साल असोज २५ गते देशभरका तुइन २ वर्षभित्र हटाउने घोषणा गरेका थिए । उक्त घोषणमा दार्चुलाको लेकम क्षेत्रमा सञ्चालन रहेको ट्युब तथा उत्तरी क्षेत्रमा सञ्चालनमा रहेका तुइन विस्थापन गर्ने लक्ष्य राखिएको थियो ।

लेकम गाउँपालिकालाई भारतसँग जोड्ने झोलुङ्गे पुल निर्माणको लागि ०७३ असोज ४ गते कूल रु १ करोड ३२ लाख लागतमा सम्झौता भएको थियो । ढिलै भए पनि पुल निर्माणपछि स्थानीयवासी हर्षित भएका छन् । वर्षौंदेखि महाकाली नदीमाथि ट्युबको सहारामा आवतजावत गर्दै आएका स्थानीयवासीलाई पुल निर्माणले सहज भएको सीमा प्रहरी चौकी लालीका निमित्त इञ्चार्ज गणेश बुडालले बताए ।

पुल निर्माण करीब सकिएको छ, बुडालले भने ‘दुवैतिर ढोका बन्द गरेर राखेका छौँ । अहिले पुलमा आवतजावत गर्न दिएका छैनौँ । प्राविधिक रुपमा मूल्याङ्कन नगरिएको कारण पुलबाट स्थानीयवासीलाई आवतजावत गर्न नदिइएको हो ।

पुल निर्माणपछि लेकम गाउँपालिका वडा नम्बर १, २, ३, ४, र ५ का स्थानीयवासीलाई आवतजावतमा सहज हुने लेकम गाउँपालिका स्थानीयवासी गणेश भण्डारीले बताए । २०४८ सालमै लालीमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण हुन्छ भनेर सुनेका स्थानीयवासीले झण्डै ३० वर्षपछि झोलुङ्गे पुल पाएका हुन् ।

पुल नहुँदा यहाँका स्थानीयवासीले ट्युबको सहारामा दैनिक उपभोग्य सामग्री ल्याउनुपरेको थियो । लेकम क्षेत्रलाई जोड्ने नेपालतिरको निर्माणाधीन महाकाली करिडोरले गति लिएको छैन । लालीको झोलुङ्गे पुल निर्माणपछि लेकम क्षेत्रको व्यापारिक नाकाको रुपमा यो क्षेत्र विकास हुने गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताए । लेकम क्षेत्रको लाली उर्बर भूमि भएको क्षेत्र हो । सडक पहुँच नहुँदा यहाँ उब्जनी हुने धान दाल अन्न बिक्री गर्न समस्या हुने गरेको थियो ।

सुरक्षा चुनौती

नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणपछि पुलको सुरक्षा तथा सामान जाँच गर्न समस्या उत्पन्न भएको छ । २ देश जोड्ने महाकाली नदीमाथि निर्माण भएको पुलको सुरक्षा तथा पुलबाट आयात निर्यात हुने सामानको जाँचको लागि समस्या भएको हो ।

भारतीय पक्षले पुल निर्माणसँगै सुरक्षाकर्मी बस्ने भवन निर्माण गरेको छ । पुल सँगसँगै स्थानीय मानसिह भाटको जमीन भाडामा लगेर भवन निर्माण गरेको हो । पुल छेउमै एसएसबी राख्नको लागि भवन निर्माण गरेको छ । यता नेपालतिर भने प्रहरीको लागि प्रहरी बिटसमेत बनाउन समस्या भएको सीमा प्रहरी चौकी लालीका निमित्त इञ्चार्ज गणेश बुडालले बताए।

“अहिलेको सीमा चौकीबाट १०/१५ मिनेट लगाएर झोलुङ्गे पुल पुग्नुपर्छ । अहिलेलाई बिहानदेखि बेलुकीसम्म ड्युटी खटाउने गरिएको छ’ उनले भने, ‘पुलमा नियमित आवतजावत गरेपछि रातिको समयमा खोल्नुपरे समस्या हुन्छ ।’ छिमेकी भारतमा पक्की संरचनामा भवन निर्माण भइसकेको छ, हामीतिर भवन त परै जाओस् प्रहरी बस्न पोष्टसमेत निर्माण गरिएको छैन । पुल निर्माण गर्ने निर्माण व्यवसायीलाई भन्दा घाटा भइसकेको छ भनेर पन्छिने गरेको छ । गाउँपालिकाले पनि अहिलेसम्म सहयोग नगरेको बुडालको भनाइ छ ।

उक्त ठाउँमा प्रहरी बिट राख्न र भन्सार स्थापनाको लागि गाउँपालिकाले पहल गरे पनि निर्णय भइनसकेको गाउँपालिका अध्यक्ष प्रमानन्द जोशी बता । प्रहरी पोष्ट राख्न स्वीकृतपछि भन्सार पनि चाहिन्छ, उनले भने, ‘भन्सार बिना भारतीय सामान ल्याउन स्थानीयवासीलाई समस्या हुन्छ । लेकम र मालिकार्जुनको ठूलो क्षेत्रका नागरिक यही पुल भएर आवतजावत गर्छन् ।’विगतमा छोटी भन्सार कार्यालय रहेको यस क्षेत्रमा भन्सार पुर्नबहाली गर्न गाउँ कार्यपालिका बैठकले निर्णय गरी माग भइसकेको अध्यक्ष जोशी बताउछन् ।

प्रतिक्रिया दिनुहोस