सम्भव भएसम्मको समायोजन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सम्भव भएसम्मको समायोजन


किशोर अर्याल

२९ मंसिर २०७५, शनिबार


सम्भव भएसम्मको समायोजन

सधैँ सफा बाटो त कहाँ भेटाइन्छ र, कहिलेकाहीँ काँडाले कोतर्छ नै ! क्षितिजमा रहेको गन्तव्य सधैँ प्रस्ट त कहाँ हुन्छ र, कहिलेकाहीँ तुवाँलोको भित्रभित्रै पनि खोज्नुपर्छ । सरकारका सहयात्रीहरू, जनताको राजनीतिक आकाङ्क्षाहरू पुरा गर्ने सवालमा परिवर्तनसँग किन डराउने ? फरक स्वाद न हो, सेवा देशकै नाममा हो । संविधानको सफल कार्यान्वयनका खातिर एक मुठ्ठी समर्पण हाँजिर गर्नै पर्छ । कमीकमजोरीहरू सुधार्दै जाने संकल्प गरौँ । हाम्रो आफ्नै सरकारलाई पनि झुक्क्याउन खोज्ने बिचौलियाहरुसँगको प्रतिशोध संघीयतासँग साँचेर कायरता नदेखाउँ । मर्माहत अवस्थामा रहेको राज्यको विकास र जनताको समृद्धिका नाममा सेवाभाव र ईमान्दारीता बोकेर समायोजनमा सहभागी हुन यो आलेखकार पनि हार्दिक अपिल गर्दै आगामी दिनमा सम्बोधन गर्दै जानुपर्ने सवालहरूलाई लय बिग्रिएको कवितामार्फत यसरी प्रस्तुत गर्न चाहन्छ, जसलाई सम्बन्धित पक्षहरूले सकारात्मक पृष्ठपोषणका रूपमा स्वीकार गरुन् ।

अघिल्लो संशोधनले मेटाइदिएका मेरा डिस्टिंगसनका डिभिजनहरूको हिसाब खोज्दै थिएँ ।
आज आएर बाबुको घोडाको घाउ र आमाको आँगको पसिनाले सिर्जिएका सर्टिफिकेट नै जलाई दियौ ।
पुरा अठार वर्ष लागेका थिए ती कमाउन, तिमीले सोचेनौ ठिकै छ, कवाडीको भाउमा मिलाइदियौ ।
हुन त मेरो के नै चल्छ र, सम्भव भएसम्म समायोजनमा जान्छु ………

सङ्घीय सेवा ऐनको मस्यौदामा धमिरा लागिसके होलान्
प्रदेश र स्थानीयमा कानुन कोर्ने कागज बनेकै छैन अरे
तजबिजका कानुनले संरक्षण गरिहाल्छ नि जा भन्दै
आकाशको फल छोप्न अँधेरोमा धकेल्यौ, म त मुसा फिर ।
आधै सही नुनको पोको बटुल्न सम्भव भएसम्म समायोजनमा जान्छु ………

पन्ध्र दिने विवरण सङ्कलन आदेश, एक्काइस दिनको बर्खास्ती महोलत
ओएण्डएम को सीमा, सूचनाको म्याद अनि समायोजन संकटमोचनकोपुराण मनमर्जिका अवधि रहे
सफ्टवेयरको ग्यारेन्टी त मन्त्रालयको परिभाषा भित्र छ सालदेखि थन्किएका
छ थान द्धितिय श्रेणीको दुर्गम यात्राबाटनै हेरौँला ।
मेरो त के छ र, सम्भव भएसम्म समायोजनमा जाउँला ………

साना दुखले आज्र्याका थिएनन् ती श्रेणी अहिले लेभलमा ल्याइदियौ,
दुई हजारका ग्रेडको पुष्टकारी, म टाढिँदा घरमा घण्टी बजाउन टेलिकमलाई बुझाउँला
एकै तह बढुवाको ललिपपमा
जिन्दगीभर चकलेट खानै नसक्ने बनाईदिएपनि भन्नु केही रहेन
मेरो त के छ र, सम्भव भएसम्म समायोजनमा जान्छु ………

स्वैच्छिक अवकाशका आरोहिहरुलाई पंक्चड बनाएर सुताइदियौ
संसदलाईनै नाबालक सिद्ध गरी कानुनको परिपक्वताका खातिर अध्यादेशको आविष्कार गर्‍यौ ।
सार्वभौम संस्थाद्वारा उत्पादन कानुनले सिर्जेका विकल्पहरूलाई लत्याएको हिसाब
ती आरोहिहरुका छोरा नातिले नराखुन् मेरो पुकार
मेरो त के छ र, सम्भव भएसम्म समायोजनमा जान्छु ………

मलाई चिरपटको दाउरा देखाउँदै लखेटेर दौडाउँदै गर्दा
धन्न मङ्गलबाट खसेका मेरा हाकिमलाई समायोजन लाइदिएनछौ ।
नत्र नेपालका विशिष्ट श्रेणीहरूको शाखा कार्यालय विदेशमा खुल्थे होलान्
हाकिम धानिदिएकोमा धन्यवाद तिमीलाई, मेरो त के नै छ र
सम्भव भएसम्म समायोजनमा जान्छु ………

गएको दसैँमा (मुख्य)सचिव चाँडै बनेस् भनेर थापेको आशीर्वाद
समायोजनको खुकुरीको धारमा कति पो टिक्ला र
बढुवा लगायत वृत्ति विकासको सबै आश्वासनको उधारो लड्डुलाई
एकादेशको मदानीमा मोथेर घिउ निकालौँला
जे होस् सम्भव भएसम्म म समायोजनमा जाऔँला ………

सङ्घीयताको मर्म के हो ? भाषा के हो ? संस्कृति अनि भुगोल के हो ?
कर्मचारीको क्षमता के हो ? र सङ्घीय ईकाईहरुको आवश्यकता के हो ?
श्रीमाका इन्द्रियहरूले छामी भ्याएनन् की
बेजान सगरमाथाको शीतलले मात्र देशको पहिचान कति टिक्ला हेर्दै गरौँला
मेरो त के छ र सम्भव भएसम्म समायोजनमा जाँदै गरौँला ………

श्रीमान्ले बिच्छ्याईदिएका सेवा आयोगको आँगनमा कुस्ती खेल्दा
कति सास्ती पा’को थिएँ, खुन पसिना एक गरी हुर्काएको
मेरो मगज अग्रखका स्वाद, अवकाशको हतारो गर्नु भो, म डराएँ
अनि सम्भव भएसम्म समायोजनमा जान्छु भन्न मन पराएँ………

फाराममा कतिसम्म लेखे पुलसम्म पुगिन्छ ठेगान भएन
हुकुमी आदेशकै भर भए त कानुनको बिगुल किन फर्माउनु
उछिट्टीएर पुलसम्म पुगिहाले पनि त्यसपछिको कारोबार
नोटमा छ की भोटमा छ दैव जानुन् ।
मेरो त के छ र सम्भव भएसम्म समायोजनमा जान्छु ………

प्रदेश भनी जाँदा परदेशमा पसेँ भने,
(नागरिकतामा अब प्रादेशिक दज्र्यानी चिन्ह लाग्न थालेको छ रे, सुनेको अनि भोगेको ।)
प्रदेश भनी जाँदा परदेशमा पसेँ भने,
राजनीतिको नाभिले स्वास धानेका कर्मचारीहरूको कुवामा खसेँ भने
स्थानीय र प्रादेशिक फोहोर राजनीतिको चपेटामा निसास्सीने गरी फसेँ भने ।
ल तनि ल तँलाई आफ्नै प्रदेश पठाईदिम्ला भन्ने ठाँउपनि कहीँ राख्नुभएन अनि
संघमै फर्काम्ला भनी पाइलट पेन चलाउने मसी त रित्याईसक्नुभो, तर केही छैन
म पशुपतिनाथकै भरोसामा जिन्दगी बिताइदिउँला
मेरो त के छ र सम्भव भएसम्म समायोजनमा जाउँला ………

Tags :
प्रतिक्रिया दिनुहोस