लागु औषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लागु औषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी


प्रशासन संवाददाता

११ मंसिर २०७५, मंगलबार


सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लागुऔषध दुव्र्यसनी मानव समाजको क्यान्सर भएको बताएका छन् ।

प्रदेश प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित ‘लागुऔषध विरुद्धको जनचेतनामूलक’ समापन कार्यक्रममा बोल्दै कानूनमन्त्री भण्डारीले लागुऔषध दुव्र्यसनी समाजमा भयानक बन्दै गएको बताए । ‘लागुऔषध दुव्यर्सनी हामी सबैको साझा शत्रु हो,’ उनले भने, ‘यसका विरुद्ध युद्धस्तरमा काम गर्न हामी सबै जुट्नुपर्छ ।’

मानव समाजको कलङ्कका रूपमा देखापरेको यो विकृति विरुद्ध अभियान चलाउने प्रदेश प्रहरी श्रीमती संघ, कर्णालीलाई धन्यवाद दिँदै कानूनमन्त्री भण्डारीले भने, ‘कर्णाली प्रदेश सरकारले यो प्रदेशलाई लागुऔषध प्रयोगविहीन प्रदेश स्थापनाको लक्ष्य लिएर चालु आवमा रु २ करोड ५० लाख बजेट विनियोजन गरेको छ, यो डरलाग्दो प्रवृत्तिका विरुद्ध तपाईं हामी ऐक्यबद्ध भएर लागौँ ।’

कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले कर्णाली प्रदेशमा सबैभन्दा बढी लागुऔषध दुव्र्यसनी र मदिराका घटना भएको बताए । ‘लागुऔषध र मदिरालगायत सबैखाले विकृति विरुद्धको अभियान शहरमा मात्र होइन, गाउँ बस्तीसम्म पुर्‍याउँछौँ,’ प्रहरी नायब महानिरीक्षक शाहले भने ।

प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष महिमा शाहले भोलिको होनाहार पुस्तालाई सही मार्गदर्शन गराउन लागुऔषध दुव्र्यसनी विरुद्धको जनचेतना अभियान थालिएको बताए ।’हामीले यो अभियानबाट आध्यात्मिक, सांस्कृतिक, वैयक्तिक र सामाजिक परिवर्तन गर्ने लक्ष्य लिएका छौं,’ अध्यक्ष शाहले भने, ‘देशका सात प्रदेश गरेर हालसम्म ४ हजार ३७६ जनालाई उपचार गरी पठाइसकेका छौँ ।’

‘आसरा सुधार केन्द्र’ रानीबारी, काठमाडौंका परामर्शदाता लवज पुरीले प्रहरी श्रीमती संघसँगको सहकार्यमा कर्णाली प्रदेशका जुम्ला, कालीकोट, मुगु र सुर्खेत जिल्लाका विभिन्न विद्यालयगरी हालसम्म जम्मा ३ हजार ४१९ विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीसम्बन्धी जनचेतना जगाइएको बताए ।

उक्त कार्यक्रममा दुव्र्यसनीका विरुद्ध राम्रो काम गर्ने जिल्ला प्रहरी कार्यालय जुम्ला, मुगु, कालीकोट, सुर्खेत, इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेत, प्रहरी तालीम केन्द्र सुर्खेत, प्रहरी नायव निरीक्षक मञ्जु चौधरीलाई प्रशंसापत्र र सवारी चालक शेरबहादुर महतो, लोकबहादुर महतो र महादेव गिरीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस