आइएनजिओलाई पारदर्शी बन्न आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आइएनजिओलाई पारदर्शी बन्न आग्रह


प्रशासन संवाददाता

१० मंसिर २०७५, सोमबार


काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) लाई एकद्वार प्रणालीमा ल्याउन र पारदर्शी बन्न आग्रह गरिएको छ ।

नेपालको सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा काम गर्दे आएका अधिकांश अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कानूनअनुरुप काम नगरेको गुनासो बढ्दै गएको सन्दर्भमा उक्त आग्रह गरिएको हो । प्रतिनिधिसभा महिला तथा सामाजिक समितिको आजको बैठकमा समितिका सदस्यहरुले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले परियोजनाभन्दा प्रशासनिक र कर्मचारीका तलब भत्तामा धेरै खर्च गर्ने गरेकाले नियमन र अनुगमनमा सक्रियता देखाउन समाज कल्याण परिषद्लाई सुझाव दिएका छन् ।

नेपालमा झन्डै ५०० गैरसरकारी संस्थाले विभिन्न क्षेत्रमा काम गरिरहेको तथ्याङ्क छ । त्यस्तै २३५ले समाज कल्याण परिषदसँग र २६५ ले अर्थमन्त्रालयसँग समन्वय गरी परियोजना सञ्चालन गरेका छन् । बैठकमा सांसद विमला विश्वकर्माले परिषद्सँग पर्याप्त स्रोत र साधन भएपनि भरपुर सदुपयोग नगरी ऐनलाई मात्र बाधक देख्नुले परिणाम प्राप्त हुन नसकेको बताए ।

हाल परिषद्मा दर्ता भएका २३५ गैरसरकारी संस्थाले एक हजार १८१ परियोजना सञ्चालन गरेका छन् । परिषद्ले जम्मा दुई सयको मात्र अनुगमन गरेको छ । परिषद्का उपाध्यक्ष नीलमणि बरालले कर्मचारीको अभावमा अनुगमन र नियमन गर्न कठिन भएको समितिलाई जानकारी दिए । हाल समितिमा १६७ जनाको दरबन्दी भएपनि १३७ कर्मचारीले काम गर्दे आएका छन् ।

सांसद गङ्गा चौधरीले नेपाली जनताको चाहनाभन्दा संस्थाको आफ्नै चाहनाअनुरुप काम गर्दै गएको गुनाासो बढ्दै गएको तर्फ परिषद्ले ध्यान दिनुपर्ने बताए ।

सांसद नारायणप्रसाद खतिवडाले केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालको संविधान विपरीत बलजफतीपूर्ण धर्मपरिवर्तन गर्नेसम्मको काम गर्दे गएको गुनासो गरे ।

समितिका अर्का सदस्य गणेश ठगुन्नाले केही गैरसरकारी संस्थाले नेपालीलाई ऋण बोकाउन र माग्ने बानी बसाल्नतर्फ परियोजना केन्द्रीकृत गरेकामा त्यसतर्फ लक्षित परियोजना सञ्चालन गर्न दिनुले राष्ट्रियतामाथि सङ्कट पैदा हुने जानकारी दिए । सांसद धु्रव शाहीले लेखा परीक्षण नगर्ने तथा संविधान, ऐन, नियम र कानून विपरीत राज्यले तोकिएको स्थानमा परियोजना सञ्चालन नगर्ने संस्थालाई अनुमति नदिन परिषद्को ध्यानाकर्षण गरे ।

समितिका सभापति निरुदेवी पालको अध्यक्षतामा सम्पन्न आजको बैठक समाज कल्याण परिषद्बाट हालसम्म भएगरेका कार्य र भावी कार्ययोजनाको सम्बन्धमा केन्द्रीत थियो । बैठकमा सांसद खेमप्रसाद लोहनी, हीरा गुरुङ र शिवकुमार मण्डलले आ–आफ्नो धारणा राख्नुभएको थियो । संस्था दर्ता ऐन २०३४ अनुसार नेपालभर झन्डै एक लाख गैरसरकारी संस्था (एनजिओ) सम्बन्धित निकायमा दर्ता भएका छन् भने मङ्सिर ९ सम्म ४९ हजार ३७ संस्था परिषद्मा दर्ता छन् ।

प्रतिक्रिया दिनुहोस