चार वर्षसम्म छाप्रोमै वास « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चार वर्षसम्म छाप्रोमै वास


प्रशासन संवाददाता

१० मंसिर २०७५, सोमबार


रामपुर । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालका खड्गबहादुर खण्डलुकको परिवार २०७२ साल वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि छाप्रोमा बस्दै आएका छन् ।

सरकारले पूर्णरुपमा क्षति भएका घर निर्माणको निम्ति अनुदान रकम उपलब्ध गराउँदै आए पनि खण्डलुकको परिवार भने छाप्रोमै बस्न बाध्य छ । अहिलेसम्म सरकारले दिएको पहिलो किस्ताको रु ५० हजार पाए पनि दाजुभाइको आन्तरिक कुरा नमिल्दा घर निर्माण हुन नसकेको स्थानीयवासी सन्तवीर सुनारीले जानकारी दिए।

भूकम्प अनुदानको बैंक खाता दाजु गसबहादुर खण्डलुकको नाममा रहेकाले घर निर्माणमा समस्या भएको खण्डलुकको गुनासो छ । समुद्री सतहदेखि करीब एक हजार ५०० को उचाइमा रहेको मित्याल पाल्पामा बाह्रै महीना निकै चिसो हावा चल्छ, ‘न गतिलोसँग शित छेकिने छाना छ, न ओढ्ने, नै लगाउने बाक्लो कपडा छ, जाडो महीना शुरु भयो, मरिन्छ कि क्या हो’ खड्गबहादुरले भने ।

‘चारैतिर टिनका टुक्राले गाँसिएको छाप्रोमा रातिमा तप्पतप्प शितका थोपा आँखामा पर्छ निदाउन सकिंदैन् । मजदूरी गरेर खानसम्म जुटाएको छु’, खण्डलुकले बताए ।

निस्दी गाउँपालिका कार्यालय प्राङ्गणको आडैमा रहेको खण्डलुकको परिवारको दयनीय अवस्था देखेर गाउँपालिकाले रु २५ हजार सहयोग गरेको छ । ‘भूकम्प गएको चारवर्ष बितिसक्यो, तीन छोरा र चार छोरी र श्रीमती गरी नौ जनाको परिवार यही घरमा बस्दै आएका छौँ’उनले भने । रासस

प्रतिक्रिया दिनुहोस