विद्यालयमा १४ वर्ष निःशुल्क सेवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विद्यालयमा १४ वर्ष निःशुल्क सेवा


९ मंसिर २०७५, आइतबार


काठमाडौं । आफूले नोकरी गरेर त्यसवापतको पारिश्रमिक नलिने शायद कोही नहोलान् । असीवर्षीय हितबहादुर प्याकुरेलले भने १४ वर्षे शैक्षिक कर्ममा एक पैसा पनि नलिई सेवा गरिसकेका छन् ।

वि.सं. १९९५ मा नुवाकोटको बागीश्वरी गाविसमा जन्मिएको प्याकुरेलले वि.सं. २०१८ मा प्रवेशिका उत्तीर्ण गरी हाल भएको सूर्यगढी गाउँपालिकास्थित बागेश्वरी प्राविबाट शिक्षासेवा आरम्भ गरेका थिए । वि.सं. २०३१ सम्म निरन्तर सोही विद्यालयका लागि निःस्वार्थ सेवा गरेका प्याकुरेलले शिक्षासेवा छाडेसँगै आफ्नो घरजग्गासहित केही जग्गा विद्यालयकै नाममा पास गरिदिए। ‘त्यो क्षेत्रमा शिक्षा दिनु मेरो धर्म थियो, पैसा नै मेरा लागि सबथोक थिएन’, प्याकुरेलले भने ।

हाल उक्त विद्यालयमा माध्यामिक तहसम्म पढाइ हुन्छ भने सूर्यगढी बहुमुखी क्याम्पस समेत उनले नै दान गरेको जग्गामा सञ्चालन भएको छ । शिक्षासेवा छाडेदेखि नै आफूले राजनीतिमा प्रवेश गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘मेरो बाँकी जिन्दगी समाजसेवा र राजनीतिमा नै बिताउनु थियो । तसर्थ आफूसँग भएको पुर्ख्यौली सम्पत्ति बिक्री गरी आफ्नो कामलाई निरन्तरता दिँदै गएँ ।’ उनले आफ्नो स्वामित्वमा रहेको ६० रोपनी जमीन समाजसेवामा नै खर्चे। शिक्षा सेवामा रहुञ्जेल भने प्याकुरेलको चौध जनाको परिवार खेतीपातीबाटै चलेको थियो । प्याकुरेलले रसुवाको सरमथलीमा रहेको तत्कालीन निर्कुभूमे उमाविमा समेत आर्थिक सहयोग गरे। अङ्गेजी र हिन्दी भाषामा समेत अब्बल उनी प्रवेशिका तहबाहेक अध्ययन गर्न नपाएपछि भने निकै आत्मग्लानि महसुस गर्थे । फलस्वरुप उनले वि.सं. २०२३ मा स्नातकसरह कानून विषय उत्तीर्ण गरेका थिए ।

प्याकुरेलले नुवाकोट, रसुवा, काठमाडौंलगायत क्षेत्रमा सात मन्दिर समेत बनाइसकेका छन् । विद्यालयको प्रधानाध्यापक हुँदा वि.सं. २०२४ मा प्याकुरेलको अगुवाइमा नुवाकोटदेखि बागीश्वरी हुँदै ओख्रे, उर्लेसम्म चल्ने मोटरबाटाको समेत निर्माण भएको थियो । बागीश्वरी चोकमा उनले बनाएको बाआमाका नाममा भीमलीला स्मृति सङ्ग्रहालय पनि निर्माणका क्रममा छ । सङ्ग्रहालयभित्र ब्रह्माबाबाको मन्दिर, गणेश मन्दिर र राधाकृष्ण मन्दिर छन् भने पुराना ऐतिहासिक तथा धार्मिक पुस्तक राख्ने उनको योजना छ । उक्त सङ्ग्रहालयका लागि प्याकुरेलले रु एक करोड लगानी गरेका छन् । सङ्ग्रहालयमार्फत उक्त क्षेत्रका मानिसलाई धर्मका बारेमा जानकारी दिनाका साथै आन्तरिक पर्यटनको प्रवर्द्धन गराउने उद्देश्य समेत रहेको उनी बताउँछन्।

उनले वि.सं. २०२१ मा निजी खर्चमा बागीश्वरी माविका लागि पुस्तकालय तथा वि.सं. २०५२ मा नुवाकोट क्षेत्र नम्बर २ मा बागीश्वरी गाविसमा निजी तीन लाखको श्रोतमा राधाकृष्ण मन्दिरको निर्माणसमेत गरे । साथै उक्त क्षेत्रको वातावरण सरसफाइ र वनजङ्गल संरक्षणमा समेत उनको योगदान छ । ‘हामीले मरेपछि पनि लैजाने भनेको काम र नाम मात्रै हो’, उनले भने । समाजलाई असल कर्मको पथमा डोहो¥याउनु आफ्नो धर्म रहेको उनी बताउँछन् । विभिन्न सामाजिक काममा समेत क्रियाशील प्याकुरेल हाल ब्रह्माकुमारी राजयोगमा लागेर समाजसेवामा संलग्न छन् । आफ्नो जिब्राको स्वादको लागि पशुको हत्या गर्नु महापाप हो भन्ने विचार राख्ने प्याकुरेल आफूले पहिले नजानेर माछामासु खाएकामा पश्चात्ताप मान्छन् ।

“आजको मानिस धर्मलाई नकार्छ तर धर्मविना जीवनको कुनै अर्थ छैन”, उनी बताउँछन् । प्याकुरेल अहिले काम, क्रोध, लोभ, मोह, अहङ्कार सबै त्यागे मात्र भगवान्को शरणमा पुगिन्छ भन्ने पथमा अघि बढिरहेका छन् । कानून विषय उत्तीर्ण प्याकुरेल हालसम्म पनि सरकारवादी मुद्दमलगायत असहाय महिलाका लागि निःशुल्क कानूनी सेवा दिँदै आएका छन् । हालसम्म आफूले ५० देखि ६० महिलालाई न्याय दिलाएको उनले जानकारी दिए । कानूनी क्षेत्रमा पनि उनको छ दशक बितिसक्यो ।

प्याकुरेलले आफ्नै लागि पनि अदालतका विरुद्ध मुद्दा लडी जितेका थिए । वि.सं. २०४० देखि उनको जग्गा जिल्ला अदालत नुवाकोटले रोक्का गरिदिएपछि उनी ३० वर्षसम्म रोक्का फिर्ता गर्न अदालतका विरुद्ध लागेका थिए । “जग्गा बेचेर नै बितेको मेरो सामाजिक कर्म अदालतले रोक्का गरिदिएपछि निकै सास्ती बेहोरेँ ”, स्मरण गर्दै प्याकुरेलले भने । अन्ततः उनी वि.सं. २०७० कात्तिक १ गते आफ्नो पक्षमा फैसला लिन सफल भए । सो विवरण सर्वोच्च अदालतको वि.सं. २०७१ बैशाख १ गतेको अङ्क १ को भाग ५६ मा कानून पत्रिकामा समेत उल्लेख छ । वि.सं. २०६३ को अन्तरिम संविधानको मस्यौदा बनाउन समेत उनको योगदान छ । त्यतिबेला उनले सर्वोच्च अदालतका न्यायधीश लक्ष्मणप्रसाद अर्यालसँग सहकार्य काम गरेका थिए ।

आफ्नो पूर्ण जीवन नै अरुको सेवामा समर्पित गर्ने उहाँको योजना छ । काठमाडौं महाराजगञ्जमा गीता पाठशाला समेत सञ्चालन गरिरहेका प्याकुरेल हाल योगबाट नै मृतात्मासँग सम्पर्क गरिरहेको जिकिर गर्छन् । तीन छोरा र एक छोरीका पितासमेत रहनुभएका उनी आफूले जीवनमा विवाह गरेर ठूलो गल्ती गरेको बताउँछन् र हरेक अविवाहितलाई विवाह नगर्न समेत सल्लाह दिन्छन् । हाल उनी आफूलाई समाजसेवी भन्दा पनि राजयोगी भन्न रुचाउँछन् ।

प्रतिक्रिया दिनुहोस