नगरको सार्वजनिक सुनुवाइ : ५३१ योजना सम्पन्न « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नगरको सार्वजनिक सुनुवाइ : ५३१ योजना सम्पन्न


प्रशासन संवाददाता

९ मंसिर २०७५, आइतबार


बैतडी । हरेक ३/३ महीनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने भए पनि बैतडीको पाटन नगरपालिकाले जनप्रतिनिधि आएपछि पहिलो सार्वजनिक सुनुवाइ शनिबार गरेको छ ।

गत आर्थिक वर्षमा ५३१ वटा योजना बजेट विनियोजन गरेर सम्पन्न गरेको जनाइएको छ । ५१ नगरस्तरीय, ३३१ वडास्तरीय र १०३ वटा सशर्त तर्फका योजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । गत आवमा नगरपालिकाले रु ४८ करोड ५९ लाख १२ हजार ७४ विनियोजन गरेको थियो ।

नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर ६८ वटा सडकसहित भौतिक पूर्वाधारतर्फ रु ५ करोड १५ लाख बजेट खर्च गरेको जनाएको छ । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइका सहभागीहरुले टुक्रे योजनाका कारण विकासको कामले गति नलिएको गुनासो गरेका छन् । धेरै ठाउँमा कार्यकर्तामुखी बजेट भएको समेत उनीहरुले आरोप लगाएका छन् ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै नगरप्रमुख केशवबहादुर चन्दले कतिपय अधिकार अझै स्थानीय तहमा आउन नसकेकाले सोचेअनुसार काम गर्न नसकेको बताए ।
यस्तै गत आवको बजेटमा रु तीन करोड ३५ लाखभन्दा बढी बेरुजु देखिएको छ । नगरपालिकाको बेरुजु रकमप्रति पनि सुनुवाइका सहभागीले असन्तुष्टि जनाएका छन् । चालू आवमा नगरसभाले ४५० वटा योजना छनौट गरेको प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले जानकारी दिए।

नगरसभाले चालू आवमा रु ४६ करोड ६३ लाख १६ हजार बजेट विनियोजन गरेको छ । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई नेपाल पत्रकार महासङ्घले सहजीकरण गरेको थियो ।

नगरवासी आक्रोशित

ढिलो सार्वजनिक सुनुवाइ गरिएको भनी नागरिक आक्रोशित थिए । नगरपालिकाको नीति तथा कार्यक्रममा समेटिएका कुरा कागजमै सीमित भएको धेरैले गुनासो गरेका छन् । पाटन–६ का चमनकुमार भण्डारीले भने,’हाम्रो नगरपालिकामा प्रशस्त काम नागरिकलाई झुक्याउने तवरले भएका छन्, जनगुनासो बढी आउँछ भनेर नै आजसम्म सार्वजनिक सुनुवाइ नभएको हो, आज भयो, यो पनि प्रक्रिया मात्रै पूरा गर्ने तवरले भएको छ, नगरपालिकामा जनप्रतिनिधि आएपछिको कामप्रति हामी नगरवासी सन्तुष्ट छैनौँ ।’

पाटन नगर कार्यपालिकाले बनाएका नीति तथा कार्यक्रम कार्यान्वयन नभएको पाटन–८ का हरिश बिष्टले बताए। पाटन नगरपालिकाको आव २०७४/७५ को बजेटमा ३ करोडभन्दा बढी रकम बेरुजु भएको पाइएको छ । रकम खर्च गर्दा अनियमितता भएको भन्दै यसप्रति पनि नागरिकले गुनासो गरेका छन् ।

उनीहरुले सरकारको नीतिका आधारमा हरेक ३ महीनामा सार्वजनिक सुनुवाइ गरी नगरपालिकाका कामबारे नागरिकलाई जानकारी गराउन आग्रह गरेका थिए । विगतमा विभिन्न समस्या र व्यस्तताका कारण केही काम समयमै पूरा हुन नसके पनि आगामी दिनमा भने सबै कार्यक्रम समयमै सम्पन्न गर्ने नगरप्रमुख केशवबहादुर चन्दले बताए।

प्रतिक्रिया दिनुहोस