सेनाको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५० जनाको स्वास्थ्य परीक्षण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेनाको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५० जनाको स्वास्थ्य परीक्षण


प्रशासन विशेष ब्युरो

८ मंसिर २०७५, शनिबार


निःशुल्क स्वास्थ्य शिविर

डोटी । नेपाली सेनाले शनिवार डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ७ सलेनामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

डोटीको दिपायल राजपुरस्थित सुल्लेक डाँडामा तैनाथ रहेको गुरु बक्स गुल्मले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा बालक, महिलादेखि वृद्धा सम्मकाले स्वास्थ्य चेक जाँच गरेको गुल्मपती तथा सेनानी किशोर खड्काले जानकारी दिए ।

शिविरको उद्घाटन गर्दै सुदूरपश्चिम पृतनापति उपरथी झंकरबहादुर कडायतले नेपाली सेना जनताको सेवक भएको बताएका छन् । ‘नेपाली सेना जनताको सेवक भएकाले जनताको सेवा गर्नु नै सेनाको धर्म हो’ उपरथी कडायतले भने, -‘सेना र जनता सधैँ सँगसँगै हातेमालो गरेर अघि बढ्नु पर्छ ।’

उनले जनता भनेका सेनाको आँखा भएको र आँखाको सधैँ रक्षा गर्नु आफ्नो नित्य कर्म भएको बताए । उपरथी कडायतले जनतालाई परेको समस्या बुझ्न र उनीहरूको उपचार गर्नका लागि निःशुल्क स्वाथ्य शिविर चलाएको र आगामी दिनमा पनि निरन्तर हुने समेत बताए ।

कार्यक्रममा बोल्दै केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले सेना हाम्रो घरको सदस्य भएकाले हामी सदैव सेनासँग सहकार्य गरी अघि बढ्ने बताए । उनले भने ‘सेना हाम्रो सुख दुःखको मित्र हो, हामी मित्र भएर बस्ने छौँ साझा मुद्दामा काम गर्न हामीहरू पनि मिलेर काम गर्न तयार छौ ।’

त्यस्तै उक्त कार्यक्रममा पृतनापति उपरथी कडायतले स्थानीय भूमिराज मावि सलेनामा कक्षा १ देखी १० सम्म आफ्नो कक्षामा उत्कृष्ट नम्बर ल्याउने दश जना छात्र तथा छात्राहरूलाई स्कुले सामाग्री वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस