काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शनिबार राजधानीमा शक्ति प्रर्दशनसहित विशाल जनसभा कार्यक्रमको आयोजना गरेको छ।
सभालाई सम्बोधन गर्दै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सत्तामा रहेकाहरुले राज्यको ढुकुटी रित्याएर निजी बनाउने खेलमा लागेका आरोप लगाएका छन् ।
सरकारले ल्याएको ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा जनतालाई बेबकुफ बनाउने खेल मात्र भएको टिप्पणी गर्दै राष्ट्रिय व्यवसायी टाट पल्टने अवस्थामा पुगेको बेला सरकारले समृद्धि ल्याउँछु भन्नु खोक्रो नारामात्रै भएको उनले बताए ।
‘९ महिनाको अवधिमा भ्रष्टाचार, महँगी नियन्त्रण, सामाजिक सुरक्षालगायत विषयमा सरकार असफल भएको छ,’ उनले भने, ‘कम्युनिस्ट नेतृत्वको सरकारलाई मजदुर, किसान र उद्योगी/व्यवसायी, सहिद परिवारको चिन्ता नहुन दुखद् हो ।’
उनले सामाजिक असुरक्षा बढेको र सरकार त्यसमा उदासिन बनेको आरोप लगाएका छन् । गत साउन १० गते कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कारपछि हत्या घटनामा सरकार पक्षकै सामेल भएकाले दोषीलाई बचाइएको र आफ्नो पार्टीले निर्मला बलात्कार र हत्या घटनामा संलग्नलाई कारबाही गर्ने उनले चेतावनी दिए ।