प्रधानमन्त्रीले निर्देशन दिएको दुई घण्टामै मुख्यसचिवद्वारा भत्ता फिर्ता - प्रशासन प्रशासन
prasaLogo
७ मंसिर २०७५, शुक्रबार

प्रधानमन्त्रीले निर्देशन दिएको दुई घण्टामै मुख्यसचिवद्वारा भत्ता फिर्ता


प्रकाशित मिति : 23 November, 2018 11:28 am

मुख्यसचिवद्वारा भत्ता फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीलाई कार्यालय समयमा हुने बैठकको भत्ता नलिनू भन्ने निर्देशन दिएको दुई घन्टामै मुख्यसचिव लोकदर्शन रेग्मीले भत्ता रकम फिर्ता गरेका छन् ।

उच्च स्रोतका अनुसार मुख्यसचिव रेग्मीले बिहीबार साँझ बढुवा समितिको बैठक बाफत पाउने रकम सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गरेका हुन् । यद्यपि, उनले फिर्ता गरेको रकम आफूलाई जानकारी नभएको उच्च स्रोतले बताएको छ । उनले साउनयता बैठक भत्ताबाफतको रकम फिर्ता गरेका हुन् । चालू आर्थिक वर्षमा बढुवा समितिको ५/६ बैठक बसेको बुझिएको छ ।

अर्थ मन्त्रालयकै निर्देशिका अनुसार कार्यालय समय अघि-पछि बसेका बैठकहरूको भत्ता पाइने व्यवस्था छ । तर, पछिल्लो समय कर्मचारीले कार्यालय समयमा गर्न सकिने/भएका बैठक कार्यालय समयभन्दा अघि-पछि वा बिदाको दिन राखेर भत्ता लिने गरेको पाइएको थियो ।

बिहीबार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम एवं बजेट कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन प्रधानमन्त्री ओलीले कार्यालय समयमा हुने बैठकको भत्ता नलिन कर्मचारीलाई निर्देशन दिएका थिए ।

नेपाल सरकारका सबै सचिव तथा केही मन्त्रीहरू उपस्थित बैठकमा प्रधानमन्त्री ओलीले भनेका थिए-‘कार्यालय समयमा गरेको कामको तपाईँले तलब लिनु भएको छ, त्यसकारण भत्ता लिने सोचाई हटाउनुहोस् ।’

सम्बन्धित समाचार : कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : तलब लिनु भएको छ, भत्ता लिने सोचाइ हटाउनुहोस्

मुख्यसचिवको उक्त कदमलाई कर्मचारी वृत्तमा सकारात्मकरूपमा लिइएको छ । ‘विभिन्न सुधारका प्रयासहरू तलबाट मात्रै गर्न/गराउन निर्देशन हुँदै आएकोमा प्रधानमन्त्रीज्यूको निर्देशन मुख्यसचिवबाटै सुरु हुनु सह्रानीय र सकारात्मक कदम हो,’ एक विशिष्ट कर्मचारीले प्रशासनसँग भने, ‘यसलाई सही अर्थमा बुझ्ने हो र यसको सही सन्देश सबैतिर फैलाउन सक्ने हो भने सरकारका नीति तथा निर्देशन एकपछि अर्को गर्दै कार्यान्वयन हुँदै जानेछन् र त्यसको महसुस नागरिकले गर्न पाउनेछन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस