चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै उनले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको बताएका छन् ।
विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा द्वन्द्व पीडितको पीडा उस्ताको उस्तै नरहेको बताए । उनले भने, ‘द्वन्द्व पीडितको पीडा पहिलाको भन्दा धेरै घटेको छ । तै पनि अहिले अब हामी राजनीतिक तह र कानूनी तहमा पनि गम्भीर रुपले गृहकार्य गरिराखेका छौँ ।’
शान्ति सम्झौताको हस्ताक्षरकर्ता समेत रहेका दाहालले भने, ‘प्रधानमन्त्री कै चाहनाको कुरा गर्ने हो भने संयुक्त राष्ट्रसंघ, कोस्टारीकामा जस्तो मन्तव्य दिएका छन् त्यसले शान्ति प्रक्रियाका बाँकी काम र पीडितलाई परिपूरणका कुरा या सत्य निरुपण र बेपत्ताका विषय आउने जेठ असारसम्म पूरै टुङ्ग्याउने किसिमले काम भइरहेको छ ।’
उनले भरतपुर विमानस्थल को विस्तारका लागि पनि छलफल भइरहेको बताए। उनले भने, ‘भरतपुर विमानस्थल विस्तारको काम अहिले छलफलमा नै छ ।’