बसपार्क निर्माणमा ढिलाइ, दोस्रो पटक म्याद थप « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बसपार्क निर्माणमा ढिलाइ, दोस्रो पटक म्याद थप


प्रशासन संवाददाता

२९ कार्तिक २०७५, बिहिबार


नेपालगञ्ज । पन्ध्र महीनामा सक्ने भनिएको नेपालगञ्ज बसपार्कको निर्माण कार्य तीन वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन ।

पन्ध्र महीनाभित्र निर्माण सक्ने गरी नेपालगञ्ज उपमहानगरपालिका र युनाइटेड बिल्डर्स एण्ड इञ्जिनीयर्सबीच सन् २०१६ मार्चमा सम्झौता भएको थियो । निर्माण शुरु भएको अहिले तीन वर्ष बितिसक्दा झण्डै ५० प्रतिशत काम मात्र सम्पन्न भएको छ ।

ठेकेदार कम्पनीका कारण निर्माण कार्यमा ढिलाइ भएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ तर बसपार्क क्षेत्रका स्थानीयले निर्माण कम्पनी, उपमहानगरपालिकाका पदाधिकारी र जनप्रतिनिधिको लापर्वाही र उदासीनताले निर्माणमा ढिलाइ भएको बताएका छन् ।

स्थानीयवासी केशव गिरीले बसपार्क निर्माणको क्रममा गुणस्तरहीन साम्रगी प्रयोग गरिएको, दैनिक काम नगरिएको भन्दै त्यसबारे उपमहानगरपालिकालाई जानकारी गराउँदा कुनै चासो नदिएको गुनासो पोखे ।

नगर विकास कोषको ऋण सहयोगमा उपमहानगरपालिकाले रु १४ करोड ९४ लाखमा बस पार्क निर्माणको ठेक्का दिएको थियो । बसपार्कमा अहिले शौचालय, पानी र यात्रु बस्ने सुरक्षित ठाउँको अभाव छ  । फोहर र धूलो चारैतिर उडेका छन् । बसपार्कमै किराना पसल गर्दै आउनुभएकी सविता चन्दले समयमै निर्माण नहुँदा सर्वसाधारणसहित आफूहरू दैनिक धूलोको शिकार हुनुपरेको आक्रोश पोखे।

उपमहानगरपालिले पछिल्लो समय आउँदो माघभित्र काम सक्ने गरी म्याद थपेको छ । सुस्त गतिमा काम भइरहेकाले माघभित्र पनि काम सकिनेमा स्थानीयवासी शंका व्यक्त गर्दछन् । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणाले ठेकेदारले समयमा काम नगर्दा समस्या परेको बताउछन् ।

झण्डै १४३ बसलाई पार्किङ गर्नसक्ने क्षमताको टर्मिनल भवन निर्माण हुँदैछ । बसपार्कमा आधुनिक टिकट काउन्टर, तीन वटा पसलसहितको भवन निर्माण हुने गरी डिजाइन गरिएको छ । कन्सल्टेन्ट इञ्जिनीयर धनबहादुर भट्टराईले पछिल्लो पटक थपेको म्यादअनुसार निर्माणको काम सक्ने गरी काम भइरहेको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस