व्यावसायिक जीवनमा आध्यात्मिकताको महत्त्व र हाम्रा चाडपर्वहरू « प्रशासन
prasaLogo
३१ आश्विन २०७५, बुधबार

व्यावसायिक जीवनमा आध्यात्मिकताको महत्त्व र हाम्रा चाडपर्वहरू


प्रकाशित मिति : 17 October, 2018 7:30 am

आध्यात्मिकता

कार्य व्यवहार
मानिस सामाजिक प्राणी हो यस हैसियतले उसको सम्पर्क, सम्बन्ध र अन्तरक्रिया समाजका विभिन्न व्यक्तिहरूसँग हुने गर्दछ । व्यक्तिमा अन्तर्निहित भावना र विशेषताले यस्तो सम्पर्क, सम्बन्ध र अन्तरक्रियालाई प्रभाव पारिरहेको हुन्छ । व्यक्तिमा अन्तर्निहित हुने भावना र विशेषता व्यक्तिले ग्रहण गरेको आध्यात्मिक पक्षबाट प्रभावित हुने गर्दछ ।समाजमा विद्यमान सबै अवयवहरू प्रतिको दृष्टिकोण निर्माणमा आध्यात्मिकताको महत्त्व रहने गर्दछ ।

वर्तमान समयमा मानिसको ठुलो रोग आन्तरिक व्यक्तिगत मूल्य, प्रवृत्ति, श्रेष्ठ भावनाको लागि बाह्य साधन, व्यक्ति र वस्तुमा खुसीको खोजी गर्नु रहेको छ । राम्रो सोचाई जीवनशैलीको एक आधार हो तर यो मात्र सम्पूर्ण भने होइन । जति राम्रो सोचाइको आवश्यकता छ त्यति नै श्रेष्ठ कर्मको पनि महत्त्व हुन्छ । दोस्रो, व्यक्ति वा अन्य वस्तुको प्राप्तिले मात्र हामीमा स्थायी प्रसन्नता उत्पन्न गर्न सक्दैन । बाह्य पक्षहरूले हाम्रो जीवनमा योगदान, मार्गदर्शन र प्रेरणा त प्रदान गर्न सक्लान् तर प्रसन्नतामा मौलिकता प्रदान गर्ने उत्तरदायित्व व्यक्ति मै निर्भर रहेको हुन्छ । मानिसले जीवनको सार्थकता, मूल्य र महत्त्व आफ्नो जीवनमा निरन्तर आत्म विश्लेषण र परीक्षणबाट मात्र स्थापित गराउन सक्दछ किनकि कठिनाइ र समस्याहरूले जीवनको यात्रालाई कठिन बनाउँछ तर समाधान आफैबाट खोजिनु पर्दछ ।

आध्यात्मिकता
आध्यात्मिकताको जानकारी र प्रयोगले जीवनमा प्रसन्नता ल्याउँछ । तत्त्वमा जीवन जिउने कला जान्नु नै आध्यात्मिकता हो । पूजा पाठको पद्दति वा कर्मकाण्ड आध्यात्मिकता होइन । यो स्वयम् र अन्य व्यक्तिहरूले अपनाउँदै आएको जीवन प्रतिको संघर्ष समाप्त गर्ने उद्देश्यले अपनाइने एक सकारात्मक दृष्टिकोण हो । यसको अवलम्बनले जीवन खुसी र सुखमय बन्दछ । मानव जीवनका स्वार्थ रहित मित्रता, उद्देश्यपूर्ण जीवन र भावनात्मक सन्तुष्टता प्रसन्नताका आधारहरू हुन् । प्रसन्नता प्राप्ति वा यसको अभावको बाह्य कारणको प्रभाव होइन यो आन्तरिक विषय नै हो । उदाहरणको लागि धन न त प्रसन्नता प्रदान गर्ने साधन हो न त अप्रसन्नताको साधन । व्यक्तिको बाह्य साधन वा वस्तुहरू (धन, व्यक्ति, घटना, वस्तुको उपयोग र दुरुपयोग) प्रतिको हेराइको दृष्टिकोणले नै यसको निर्धारण गर्दछ ।

सकारात्मक दृष्टिकोणको लागि आध्यात्मिकता
वर्तमान समयमा मानिसको जीवनका प्रत्येक कदमहरू संकट, समस्या र निराशापूर्ण बनेका छन् । यसको समाधान कसरी गर्ने । स्वयंलाई निराश र हताश हुनबाट कसरी बचाउने ? यी प्रश्नको समाधान केवल आफै भित्र आध्यात्मिकता को खोजीबाट मात्रै सम्भव छ । आध्यात्मिक ज्ञानले मानिस भित्र सकारात्मक चिन्तन उत्पन्न हुन्छ जसले जीवन प्रतिको यथार्थ दृष्टिकोण विकास गर्नमा सहायक सिद्ध बन्दछ । यो नयाँ विकसित आध्यात्मिक ज्ञानले जीवनमा उत्पन्न हुनसक्ने नकारात्मकता र यसबाट सिर्जित हुने कष्टलाई कम गराउनमा सहयोग पु¥याउछ । स्वयम् प्रति बढी भन्दा बढी सकारात्मक दृष्टिकोणको उत्पत्ति गराउँदा हाम्रो मनोवृत्ति अरू व्यक्ति र अन्य परिस्थिति प्रति पनि सकारात्मक बन्न पुग्दछ । वर्तमान समयको माग यो हो कि मानिसले आफ्नो आन्तरिक शक्ति को विकास आफैबाट गर्न सक्नु पर्दछ किनकि जीवनलाई प्रभावित गर्ने बाह्य पक्षले जीवनलाई चुनौती दिँदै भ्रम उत्पन्न गरिरहेका छन् । यसर्थ आन्तरिक शक्ति नै आध्यात्मिक व्यक्तिको लक्षण हो यसबाट जीवनमा सन्तुष्टता मात्र प्राप्त हुने होइन कि जीवनको सार्थकताको समेत स्पष्ट अनुभूति हुन पुग्दछ । आध्यात्मिक शक्तिको कारणले निराशाको क्षणलाई आशा तथा अन्धकारमा सदा प्रकाशको अनुभूति हुन्छ । आध्यात्मिक शक्तिको अनुभवले जीवन र जगतलाई फरक ढङ्गले हेर्ने र सकारात्मक परिवर्तन गर्ने चाहना राखेको हुन्छ । यो आन्तरिक शक्तिको अनुभूतिले मानवीय सम्बन्धमा प्रेम, शान्ति, प्रसन्नतालाई सत्यतापूर्वक प्रयोग गर्न सक्ने शक्ति प्राप्त हुन्छ । यसर्थ आध्यात्मिक शक्तिको अनुभवको लागि सत्यता अति आवश्यक हुन्छ आचरण र व्यवहारमा देखावटीपन र कृतिमताले पूर्णताको अनुभव हुन सक्दैन । बनावटी व्यवहार आन्तरिक रिक्तता र अधिक स्वार्थवृत्तिको लक्षण हो । कसैको बारेमा एउटा निश्चित आधारमा सोच्ने अधिक चासो लिने बानीले निर्भरता, अभाव आवश्यकता र क्षमा जस्ता प्रवृत्ति उत्पन्न हुन जान्छ ।

आध्यात्मिक जीवनको प्रारम्भ विन्दु स्वयमको बारेमा यथार्थ ढंगले सोच्ने र सचेत रहनु हो आफू भित्र सकारात्मक एवं नकारात्मक संकल्पको परीक्षण र पहिचान गर्नु नै स्वयमको बारेमा यथार्थ जान्नु हो । स्वयम्मा विद्यमान सत्य आध्यात्मिक पहिचानको स्वीकार गर्न सकेमात्र कुनै बहाना अथवा परिवर्तनको भय विरुद्ध लड्न सक्ने साहस सहज ढंगबाट आउन थाल्दछ । जीवनमा श्रेष्ठताको लागि प्रवृत्ति, भावना तथा अभिप्रायमा शुद्धता आवश्यक हुन्छ । सबभन्दा महत्त्वपूर्ण कुरा यो हो कि स्व को मौलिक गुण अविनाशी छ जसलाई मानिसले प्रायः अस्वीकार गरेको पाइन्छ । स्व मा निहित अविनाशी गुण नै मानिसको मनुष्यताको गरिमाको आधार हो । यो अविनाशी गुण नै दिब्यता हो र यही दिब्यताले नै मानिसलाई महामानव बनाइदिन्छ । यसर्थ आध्यात्मिक व्यक्ति हुनुको अर्थ जीवनको हरेक गतिविधिमा दिब्यताको अवलम्बन गर्नु हो । उत्कृष्ट मानव जीवन नै दिब्यता हो जसका मूल आधार प्रेम, शान्ति प्रसन्नता हुन् । जीवनका उत्कृष्ट वस्तु(प्रेम, शान्ति र प्रसन्नता) निःशुल्क हुन्छन् । तर निःशुल्क चिजहरूको खरिद विक्री हुन सक्दैन यसको व्यापक वितरण भने सम्भव छ । आध्यात्मिकताले जीवनलाई तेजस्वी र समस्या र सङ्कटको समयमा आनन्द र प्रेमबाट पूर्णताको अनुभव गराइदिन्छ ।

आध्यात्मिक उन्नतिको लागि अपनाउन सकिने प्रक्रियाहरू
१. स्वयम् तथा अन्य व्यक्तिहरू प्रति सकारात्मक चिन्तनबाट दिनचर्याको प्रारम्भ गर्ने ।
२. आफ्नो सङ्कल्प, बोली र कर्मलाई सकारात्मक बनाइ सकारात्मक जीवनशैलीको अवलम्बन गर्ने ।
३. पूर्वाग्रह र भेदभाव विना सबै व्यक्तिहरू प्रति आदर भाव प्रकट गर्ने ।
४. विविध विचार, दृष्टिकोण र संस्कृतिको बारेमा सहजतापूर्वक सुन्न सक्ने क्षमताको विकास गर्ने र आग्रह पूर्वाग्रहको भावनाको त्याग गर्ने ।
५. प्रत्येक दिन आध्यात्मिक तथा नैतिक शक्ति विकास गर्न तथा आन्तरिक शान्ति अभिवृद्धि गर्न योग/ध्यान गर्ने ।
६. प्रेम, सहनशीलता, नम्रता तथा दया जस्ता आत्माका मूल गुणहरूलाई दैनिक व्यावहारिक जीवनमा प्रयोग गर्न प्रयत्नशील रहने ।
७. जीवनलाई ईश्वरको अमूल्य उपहारको रूपमा स्विकार्ने र हर क्षण मुस्कानको अवस्थामा रहने ।

आध्यात्मिक उन्नतिका फाइदाहरू
व्यक्तिगत प्रभाव
आध्यात्मिकताको अवलम्बनले व्यक्ति विशेषमा दैनिक गतिविधि र कार्यसूचीहरूलाई उपयुक्त तबरबाट व्यवस्थापन गर्न सक्ने क्षमताको विकास हुन्छ । मानसिक एकाग्रताको अभिवृद्धिले लक्ष्य प्राप्तिमा नकारात्मक असर पार्न सक्दैन । आध्यात्मिक शिक्षा र प्रवृत्तिको अवलम्बनले अहमपनाको समाप्तिको साथै अनुशासित र उत्तरदायी पूर्ण जीवनशैलीको अवलम्बनमा सहयोग पुग्न जान्छ ।

नेतृत्व क्षमताको विकास
नेतृत्वदायी व्यक्तिले आफ्नो असल कर्म र विचारको व्यवहारिक प्रदर्शन गर्न सक्नुपर्दछ । धैर्य, दूरदर्शिता, अनुकुलनको सामयिक व्यवहार नेतृत्वको लागि आवश्यकीय विशेषताहरू हुन् । यी सबै गुणहरू आध्यात्मिकताको अवलम्बन गर्ने व्यक्तिहरूमा बढी मात्रामा पाउन सकिन्छ । आध्यात्मिकताको अवलम्बनले प्रवृत्ति, दृष्टिकोण र कार्य दक्षतामा वृद्धि ल्याइदिनुको साथै यी दक्षताहरूको व्यवहारिक प्रयोगमा ऊर्जा प्रदान गर्दछ जुन कुरा नेतृत्व क्षमताको विकासको लागि अपरिहार्य पक्ष हो ।

व्यावसायिक दक्षताको विकास
व्यावसायिक जीवन विविध अनेक पक्षहरू र आरोह अवरोहहरूको संगम हो । परिश्रम, धैर्यता, सहनशीलता समस्याहरूसँग भिड्न सक्ने क्षमता, चुनौतीहरू बिच पनि अवसर देख्न सक्न व्यावसायिक जीवनका अपरिहार्य विषयहरू हुन् । आध्यात्मिकताको विकासले व्यक्तिमा उपरोक्त गुणहरू गहिराईबाट प्रवेश भएका हुन्छन् । आध्यात्मिकताले श्रमलाई सहज रूपमा स्विकार्ने र शुभभावनायूक्त बनाउनमा सहयोग पु¥याउँछ । जसले व्यक्तिलाई व्यावसायिक सफलता प्राप्त गर्नमा सहयोग पुग्दछ ।

आध्यात्मिकताको अर्थ न त भौतिक जगतसँग भावनात्मक रूपमा बढी नै मात्रामा आबद्ध हुनु हो न त सांसारिक साधनको उपभोगबाट पृथक् भएर बस्नु हो । हाम्रो अर्धचेतन मनलाई सर्वोच्च सत्तासँगको निरन्तर सम्बन्ध र समर्पण भाव नै यथार्थतामा आध्यात्मिकता हो । आध्यात्मिकतालाई आस्तिक वा नास्तिकको सीमारेखाबाट हेरिने तथा कर्मकान्डी वा क्रान्तिकारीताको विभेदको कसीमा हेरिदा पनि आध्यात्मिकताको सही परिभाषा भएको मान्न सकिँदैन । आध्यात्मिकताको अर्थ र उद्देश्य सही रूपमा बुझ्न नसक्दा पनि मानव जीवन प्रभावशाली बन्न सकिरहेको छैन । आध्यात्मिकता धर्म भन्दा पनि अलग छ यो आध्यात्मिकता चेतना र व्यवहार बिचको समिश्रण हो । यसको व्यवहार परक प्रयोगले हाम्रा नियमित कार्य व्यवहारहरू प्रभावकारी, आदर्श र अनुकरणीय बन्ने मात्र होइन की यसले हामीमा मानसिक शान्ति, सन्तुलन र स्वस्थ्यताको दिगो आधार स्तम्भ समेत प्रदान गर्दछ ।

हाम्रा चाडपर्वहरू
नेपाल भाषिक, धार्मिक , भौगोलिक, सांस्कृतिक विविधतामा एकताको संगमको पहिचनलेयुक्त मुलुक हो । यहाँका हरेक जात, जाति, धर्म र सम्प्रदायको आ आफ्नै सांस्कृतिक महत्त्व छ । हाम्रा प्रत्येक चाड पर्वहरू मनाउनुको पछाडि विशिष्ट उद्देश्य रहेका छन् । हाम्रा चाड पर्वहरू धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीकको रूपमा रहेका छन् । हाम्रा प्रत्येक चाड पर्वहरू आपसी भाइचारा,बन्धुत्व, स्नेह सम्बन्ध, सदा चरण आदि गुण अभिवृद्धि गर्नमा सहायक बन्ने गरेका छन् । दसैँले पनि हाम्रा आरोह अवरोहहरूको सङ्गमको रूपमा रहेको व्यावसायिक जीवनमा परिश्रम, धैर्यता, सहनशीलता , समस्याहरूसँग भिड्न सक्ने क्षमता, चुनौतीहरू बिच पनि अवसर देख्न सक्ने क्षमता बढाइ हाम्रा पेसागत र व्यावसायिक जीवन सुखद बन्न सकोस् यही नै आदरणीय पाठकवर्गमा शुभ कामना ।

Tags :
प्रतिक्रिया दिनुहोस