गोरखामा राजा छनोट गर्न लिगलिगे दौड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गोरखामा राजा छनोट गर्न लिगलिगे दौड


२३ आश्विन २०७५, मंगलबार


गोरखा । गोरखामा राजा छनोट गर्न यही असोज २८ गते लिगलिगे दौड प्रतियोगिता हुने भएको छ ।

लिगलिगकोट विकास अभियानले सदरमुकाममा आज पत्रकार सम्मेलनको आयोजना गरी लिगलिगे म्याराथन २०७५ को तयारी तीव्ररुपमा अघि बढेको जनाएको छ । वि.सं. १६०४ देखि शुरु भएको मानिने सोे दौड विगत नौ वर्षदेखि हुँदै आएको छ । अभियानका अध्यक्ष पूर्णबहादुर रानाले विगतका वर्षमा जस्तै गोरखाको लिगलिगकोटको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई चिनाउन प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

सो दौड चेपे र मस्र्याङ्दी नदीको दोभानबाट शुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर अन्त्य हुने छ । १३.८ किलोमिटर दूरी पार गर्नुपर्ने उक्त प्रतियोगितामा पहिलो हुनेलाई नगद ६० हजार १०० को साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट राजदूतको ब्याच प्रदान गरिने रानाले जानकारी दिए ।

साथै प्रतियोगिताको उपाधि विजेतालाई एकरात लिगलिगमा राजाका रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गरिने उनले बताए । त्यस्तै दोस्रो हुनेलाई नगद ३५ हजार र तेस्रो हुनेलाई नगद २५ हजारको साथमा सम्मान गरिने छ । नवौँ स्थानसम्म प्राप्त गर्ने सहभागीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

स्वदेशी तथा विदेशी नागरिकले भाग लिन पाउने सो प्रतियोगितामा नेपालीलाई दर्ता शुल्क एक हजार र विदेशीलाई पाँच हजार लाग्ने छ । प्रतियोगिता सम्पन्न गर्नका लागि कूल २८ लाख ५५ हजार लाग्ने अनुमान गरिएको छ । बडडाँडादेखि लिगलिगकोटसम्मको पाँच किलोमिटर दूरीको महिला खुला दौड प्रतियोगितासमेत हुनेछ । सो दौडमा पहिलोले २० हजार पाँच, दोस्रो हुनेले १२ हजार पाँच र तेस्रो हुनेले सात हजार ०५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस