काठमाडौं । वाणिज्य बैंकहरूले अस्ट्रेलियन डलर पनि सीधै आयात गर्न पाउने भएका छन् । नेपाली बजारमा अस्ट्रेलियन डलर अभाव हुन थालेपछि राष्ट्र बैंकले आइतबार परिपत्र गरी वाणिज्य बैंकहरूले आयात गर्न पाउने व्यवस्था गरेको हो ।
बजारमा डलरको माग बढेअनुसार आपूर्ति हुन नसकेपछि बैंकहरूले अस्ट्रेलियन डलर आयातको सुविधा दिन माग गर्दै आएका थिए ।
पछिल्लो समयमा बजारमा अस्ट्रेलियन डलरको माग अत्यधिक छ । खासगरी अध्ययनका लागि जाने विद्यार्थीहरूबाट माग धेरै हुने गरेको हो । तर, माग बढे पनि बैंकहरूसँग अस्ट्रेलियन डलर छैन ।
अभाव बढेपछि केही महिनायता राष्ट्र बैंकले पनि सर्वसाधारणका लागि अस्ट्रेलियन डलर सटही सुविधा दिएको छैन । थोरै स्टक रहेकाले सटही सुविधा नदिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूले डेबिट/क्रेडिट कार्डमार्फत् भुक्तानी गर्ने प्रवृत्ति बढेपछि बजारमा नगद अस्ट्रेलियन डलर अभाव भएको राष्ट्र बैंकले जनाएको छ ।
अस्ट्रेलियन डलरको आपूर्ति सहज बनाउन बैंकहरूलाई पनि आयात सुविधा दिइएको राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । बैंकहरूले आयात गर्दा अमेरिकी डलरका नयाँ नोट (फ्रेस नोट) र अस्ट्रेलियन डलरको सफा नोट (क्लिन नोट) मात्र ल्याउनुपर्ने राष्ट्र बैंकको स्पष्ट निर्देशन छ ।
राष्ट्र बैंकले करिब एक वर्षअघि मात्रै बाणिज्य बैंकहरूलाई अमेरिकी डलर आयात गर्ने व्यवस्था गरेको थियो ।