काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सांसदमा जवाफ दिँदै निर्मला पन्तको अनुसन्धान चाँडै निष्कर्षमा पुग्ने बताएका छन् ।
उनले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या घटनामा सरकार गम्भीर रहेको र पिडितले चाँडै न्याय पाउने बताए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबार निर्मला पन्तको हत्याबारे सरकारको जवाफ माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि उनले शुक्रबार संसदमा जवाफ दिने भनेका थिए ।
गृहमन्त्री थापाले बलात्कार, हत्याजस्ता जघन्य अपराधमा सरकार शून्य सहनशीलताका साथ अगाडि बढेको दाबी गर्दै घटनामा संलग्न दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने प्रतिवद्धता जनाए ।