निजामती सेवामा सकारात्मक सोच : आजको आवश्यकता ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निजामती सेवामा सकारात्मक सोच : आजको आवश्यकता !


अर्जुन

२२ भाद्र २०७५, शुक्रबार


निजामती सेवा दिवस

कुनै पनि शासन व्यवस्था सफल हुनका लागि राजनीतिले निर्दिष्ट गरेका नीतिहरूको सफल कार्यान्वयन हुनुपर्छ । राजनीतिलाई नीतिहरूको नीति मानिन्छ । राजनीतिले नै मुलुकको नेतृत्व गर्छ । अन्य अवयवहरू राजनीतिको सहयोगी भूमिकामा रहेका हुन्छन् । सरकारले प्रशासकीय अंगमार्फत् आफ्ना कार्यक्रमहरू लागू गर्छ । नीति कार्यान्वयनको मुख्य जिम्मेवारी प्रशासनको काँधमा हुन्छ । मुलुकको नेतृत्व गर्ने राजनीति र कार्यान्वयन गर्ने प्रशासनिक संयन्त्र आ–आफ्नो ठाँउबाट सफल र सबल भएमा मात्र नतिजा देखिनेगरी काम हुन सक्छ ।

संघीय संरचनाका साथसाथै प्रादेशिक एवं स्थानीय तहहरूमा पनि राजनीतिक र प्रशासनिक संयोजन छ, नीति तर्जुमामा राजनीतिक क्षेत्र तल्लीन हुने गर्छ भने कार्यान्वयनमा प्रशासनिक क्षेत्र नेतृत्वदायी भूमिकामा रहन्छ । विविध कारणले यि दुवै पक्षबीच मनमुटावको स्थिति सिर्जना भएको उदाहरण पनि हामीले भेट्छौं । लामो समयपछिको जनप्रतिनिधिको आगमनलाई कर्मचारीतन्त्रले सजिलै स्वीकार्न नसकेर होस् वा निर्वाचित प्रतिनिधिले कतिपय अवस्थामा प्रशासनिक नियन्त्रण गर्न खोज्दा होस्, केही समस्या देखिएको थियो र अहिले पनि छन् ।

प्रादेशिक सरकार एवं स्थानीय तहले जनताको अपेक्षाबमोजिम काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । कार्यालय सञ्चालन तथा जनशक्तिका लागि भौतिक एवं प्रविधिजन्य पूर्वाधारहरू अत्यावश्क हुन्छन् । यी सबैलाई परिचालन गर्न सके मात्रै अपेक्षित रूपमा काम गर्न सहयोग पुग्छ । पूर्वाधार परिचालित गर्ने काम कर्मचारीतन्त्रको हो, जसलाई परिचालित गर्ने काम राजनीतिक तहको नै हो । जसका लागि अन्य कुराका अलावा सकरात्मक मनोवृति सिर्जना गर्नु आवश्यकता छ । सकारात्मक सोचबिना जति नै लगानी गरे पनि सोचेअनुसारको नतिजा पाउन मुस्किलै हुन्छ । प्रशासनिक पुनर्संरचना दिनानुदिन जटिल बनिरहेको छ । तर, जटिल भनेर पछि फर्कन सक्ने अवस्था भने छैन । प्रस्तावित संघीय निजामती सेवा विधेयक छलफलकै क्रममा रहेको छ । यसअघिका सेवा ऐनभन्दा यो प्रस्तावित विधेयक स्वभावैत फरक छ, सेवा समूहको गठन एवम् कर्मचारी भर्नादेखि अवकाससम्मका प्रावधानहरूको व्यवस्थाका अलावा प्रस्तावित विधेयकले संघीय संरचना अनुसारको नेपालको भावी प्रशासनिक संयन्त्रको दिशानिर्देश पनि गर्ने हुँदा यो विधेयक पृथक हुनु स्वभाविक पनि हो ।

यसैका आधारमा प्रादेशिक र स्थानिय सेवा ऐनहरू निर्माण हुनेछन् । त्यसैले प्रस्तावित संघीय निजामती सेवा विधेयकमा सबैको चासो रहेको छ । अन्य व्यवस्थाका साथसाथै स्थानीय र प्रादेशिक तहमा काम गर्ने कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्न यो प्रस्तावित विधेयक सफल हुनुपर्छ । स्थानीय तहदेखि संघीय तहसम्म सकारात्मक मनोभावनाका साथ कार्य गर्ने वातावरण निर्माण गर्न यो विधेयक निर्देशित हुनुपर्छ । हिनतावोधका साथ कार्य गर्नुपर्ने अवस्था सिर्जना भएमा पक्कै पनि त्यसको असर कार्यसम्पादनमा पर्नेछ । वृत्ति विकासको वैज्ञानिक आधार स्पष्ट पार्न सक्नुपर्छ ।

राष्ट्रको दीर्घकालीन हितलाई आधार बनाएर कर्मचारीतन्त्रमा सकारात्मक सोचको वृद्धि गर्न यो कानुनले सक्नुपर्छ ।

नेपालको कर्मचारीतन्त्रलाई प्रक्रियामुखी एवं ढिलासुस्ती गर्ने भनी आरोप लाग्ने गर्छ । शतप्रतिशत आरोप गलत नहोलान् । तर, सकारात्मक पाटाहरू नभएका भने पक्कै होइनन् । विभिन्न समस्याका वावजुत उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी सेवा प्रवाह गर्नु कर्मचारीतन्त्रको दायित्व हो । सो का लागि सकारात्मक ऊर्जा सिर्जना गर्नु राजनीतिक तह एवं नीति निर्माताको दायित्व हो । ट्रेड युनियनका नाममा राजनीति गर्ने थलो कर्मचारीतन्त्र बन्नु हुँदैन । कानुनी रूपमा मात्रै नभई व्यावहारिक रूपमा पनि सकारात्मक मनोभावना सिर्जना गर्नु नेपालको कर्मचारीतन्त्रमा आजको आवश्यकता हो । ‘चलेकै छ, चल्छ’ भन्ने मनोभावनाबाट कर्मचारीतन्त्र माथि उठनुपर्छ । समयअनुकूल आफूलाई परिवर्तन गर्न सक्नुपर्छ । ‘रिस्क’ मोलेर व्यक्तिगतरूपमा सुधारका कार्यहरू गर्न खोज्दा उसैलाई ‘प्रहार’ गर्ने गलत परिपाटीका कारण कतिपय अवस्थामा चाहेर पनि सक्षम व्यक्तिहरूले सुधार गर्न नसकेको यर्थाथता यस क्षेत्रमा चासो राख्ने जोसुकैले बुझेकै कुरा हो । व्यावहारिक रूपमा परिर्वतन हुन हाम्रो प्रशासनिक संयन्त्रमा निकै कठिन छ । सो का लागि सामूहिक प्रयास जरुरी छ र अत्यावश्यक पनि छ ।

व्यावहारिक पाटाहरू समेत हामीले सुधार गर्न अत्यावश्क छ, उदाहरणका लागि अनुगमनका नाममा बेला बखत बिहान १० बजे कार्यालय पुग्यौं÷पुगेन भनेर गरिने जाँच मात्रै होइन, अब साँझ कार्यालय समयपश्चात कति समय काम ग-यो सोका आधारमा पनि मूल्यांकन एवं प्रोत्साहन हुनुपर्छ । वैज्ञानिक मूल्यांकनको अभावमा क्षमता अनुसारको कार्य गर्न व्यक्तिलाई मन नलाग्नु स्वाभावीक हो । मुस्कान सहितको सेवाको नारा लगाइरहदा कुनै पनि कर्मचारीले अभाव, वितृष्णा एवं कुण्ठाको भावना मनमा राखेर देखावटी मुस्कानका साथ सेवा प्रवाह गर्नु सक्दैन । अतः निजामती कर्मचारीहरूमा सकारात्मक भावनाका साथ काम गर्ने वातावरण सिर्जना गर्न कानुनी एवं व्यावहारिक रूपमा सबैले प्रतिवद्ध हुनैपर्छ । तब मात्रै नतिजामुखी प्रशासनका माध्यमबाट समृद्धि र सुशासनको अवधारणा सफल हुन सक्नेछ । सबैमा निजामती सेवा दिवसको शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस