सरकार र चिकित्सक संघबीच सहमति, सोमबारसम्म आन्दोलन स्थगन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकार र चिकित्सक संघबीच सहमति, सोमबारसम्म आन्दोलन स्थगन


१९ भाद्र २०७५, मंगलबार


काठमाडौं । सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव र संघबीच सोमबार राती सहमति भएको हो ।

सहमतिपछि संघले जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी सोमबार (भदौ २५)सम्म मुलुकी अपराध (संहिता) ऐनका विवादास्पद बूँदाबारे संसद्मा संशोधन प्रस्ताव दर्ता गर्ने उल्लेख छ । यससँगै संघले आगामी सोमबारसम्मका लागि आन्दोलन स्थगन गरेको जनाएको छ ।

सहमतिमा मुलुकी अपराध (संहिता) ऐनको दफा २३० को उपदफा ३ खारेज गर्ने उल्लेख छ । यस्तै, परिच्छेद १९ मा रहेको सबै सजाय र दण्डबारे सम्बन्धित काउन्सिलको छानबिन समितिको प्रतिवदेनका आधारमा निर्णय गर्ने, उजुरीको म्याद ६ महिना राख्ने र ड्युटीमा रहेका बेला स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा गालीगलौज, हातपात, तोडफोड तथा आगजनी गर्नेलाई बिना धरौटी हिरासतमा राख्ने सहमति पनि भएको छ ।

चिकित्सक संघ मुलुकी अपराध (संहिता) ऐनका चिकित्सासम्बन्धी केही प्रावधानलाई तत्काल संशोधन गर्नुपर्ने माग राखेर आन्दोलित भएको थियो । आन्दोलनका कार्यक्रमअन्तर्गत संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेको थियो ।

यस्तै, संघले माइतीघरमा प्रदर्शन गर्नुका साथै नेपाल मेडिकल काउन्सिललाई लाइसेन्स बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस