निजी श्रोतका शिक्षकहरूलाई गाउँपालिकाले तलब खुवाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निजी श्रोतका शिक्षकहरूलाई गाउँपालिकाले तलब खुवाउने


प्रशासन विशेष ब्युरो

१८ श्रावण २०७५, शुक्रबार


शिक्षक

डोटी । बोगटान गाउँपालिकाले निजीस्रोतका शिक्षकलाई तलब खुवाउनका लागि विद्यालयलाई अनुदान दिने भएको छ ।

गाउँपालिका भित्र रहेका निजीस्रोतका शिक्षक व्यवस्थापन गर्न आवश्यक कार्यविधि निर्माण गरेर विद्यार्थी सङ्ख्याका आधारमा विद्यालयलाई अनुदान दिने बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । गडसिलाले भने –‘गाउँपालिका भित्र रहेका विद्यालयमा कार्यरत निजीस्रोतमा काम गर्दैै गएका शिक्षकको सङ्ख्या पनि ठुलो छ, शिक्षकको व्यवस्थापन गर्ने निर्णय गरेका छौँ ।’

कार्यरत निजीश्रोतका शिक्षकहरूमा प्रतिस्पर्धा गरेर शिक्षक छनौट गर्ने अध्यक्ष गडसिलाले बताए । ‘हामीले आन्तरिक प्रतिस्पर्धाबाट छनौट गछौ, विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक थप्ने र घटाउने काम पनि हुन्छ ।’– गडसिलाले थपे

गाउँपालिकामा हुने नीतिगत भ्रष्टाचार अन्त्यका लागि समेत गाउँ कार्यपालिकाको बैठकबाट यस्तो निर्णय गरेको गडसिलाले बताए । अध्यक्ष गडसिलाले भने ‘ठाउँ–ठाउँमा विद्यालय खुलेका छन् ती विद्यालयको चल्ने स्रोत के हो त्यो सबैलाई थाहा नै छ, त्यसैले घुमाएर खर्च गर्नु भन्दा नीतिभित्र रहेर अनुदान दिने व्यवस्था गरेका हौँ ।’

विद्यार्थी सङ्ख्या नपुगेका विद्यालयलाई मर्ज गर्ने प्रक्रिया पनि सँगसँगै लैजाने तयारी रहेको अध्यक्ष गडसिलाले बताए । उनले भने– ‘शिक्षा क्षेत्रको व्यापक सुधारका लागि लागेका छौँ, विद्यालय मर्जको काम पनि यसका साथमै हुन्छ धेरै विद्यालय भन्दा पनि अहिले गुणस्तरीय शिक्षा आवश्यक छ ।’

गाउँपालिकाले गरेको निर्णयले निजीस्रोतका शिक्षकलाई राहत हुने मष्टेश्वर माध्यमिक विद्यालयका शिक्षक चक्रबहादुर चन्दले बताए । शिक्षक चन्दले भने ‘विगत लामो समयदेखि यस क्षेत्रमा कार्यरत छौँ, गाउँपालिकाले हाम्रा माग सम्बोधन गर्ने विषयमा कदम चालेका कारण शिक्षा क्षेत्र र शिक्षक सबैका लागी खुसीको बिषयरहेको हो ।’

गाउँपालिकाले आफ्नो क्षेत्र भित्र रहेका शिक्षकको व्यवस्थापनका लागी कार्य थालनी गर्नु सकरात्कम पक्ष भएको जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख अनन्तकुमार पौड्यालले बताए । उनले भने ‘व्यवस्थित रूपमा कार्यविधि निर्माण गरेर शिक्षकको व्यवस्थापन गर्न सकियो भने देशभरिमै उदाहरणीय काम हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस