नेकपाको स्थायी समिति बैठक भोलिका लागि तय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपाको स्थायी समिति बैठक भोलिका लागि तय


२० असार २०७५, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आज बसेको सचिवालय बैठकले स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बसेको बैठकले बिहीबार बस्ने स्थायी समिति बैठकका एजेन्डा तय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठक भोलि अपरान्ह ३ बजेका लागि तय गरिएको जानकारी दिएका छन् ।

बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले रिपोर्टिङ गर्नेछन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले चीन भ्रमण तथा सरकारको कामकारबाहीबारे रिपोर्टिङ गर्नेछन् र अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक एकीकरण प्रक्रिया आदिबारे रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।

स्थायी समिति बैठकमा पार्टीको प्रस्तावित नियमावलीबारे छलफल गरेर स्थायी समितिको सुझाव लिने काम पनि हुनेछ । नियमावलीको मस्यौदा पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले सचिवालयलाई बुझाइसकेको छ ।

स्थायी समितिको सुझावपछि त्यसलाई अन्तिम रुप दिइने प्रवक्ता श्रेष्ठले बताए । त्यसपछि भ्रातृ संस्था तथा जनवर्गीय संगठनहरुको सांगठिनक एकीकरणको प्रक्रियालाई तीव्रता दिइने छ ।

प्रतिक्रिया दिनुहोस