लागु औषध दुर्व्यसनलाई गम्भीर समस्याका रुपमा लिइएको छ : गृहमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लागु औषध दुर्व्यसनलाई गम्भीर समस्याका रुपमा लिइएको छ : गृहमन्त्री


१२ असार २०७५, मंगलबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ हालै जारी गरेको बताएका छन्।

गृहमन्त्रालयले ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणालाई पूरा गर्न कार्ययोजना सहयोगी हुने बताए ।

गृहमन्त्री थापाले मुलुक समृद्धको उचाइमा पु-याउन स्वास्थ्य, सिर्जनशील युवाको खाँचो रहेको भन्दै यस्ता युवा–युवतीलाई लागुऔषधमा फस्न नदिन गृहमन्त्रालयले कार्ययोजनामार्फत काम गरिरहेको उल्लेख गरे। “देशका भविश्यका कर्णधार मानिने किशोर–किशोरी तथा युवा–युवतीमा देखिएको लागुऔषधको दुर्व्यसनलाई सरकारले गम्भीर समस्याका रुपमा लिएको छ”, उनले भने।

विश्वव्यापीरुपमा भइरहेको लागुऔषधसम्बन्धी समस्याबाट नेपाल पनि प्रभावित रहेको भन्दै उनले लागुऔषधको खेती, उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनजस्ता कानूनी अपराधलाई रोक्न सबै लाग्नुपर्छ भने ।

लागुऔषध दुर्व्यसनीलाई रोकथाम गर्न नागरिकस्तरबाटै विशेष सचेतना अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज देशभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रासस

प्रतिक्रिया दिनुहोस