वर्ल्डलिंक इन्टरनेट: नारा राम्रो, सेवा झुर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वर्ल्डलिंक इन्टरनेट: नारा राम्रो, सेवा झुर


प्रशासन विशेष ब्युरो

३० जेष्ठ २०७५, बुधबार


काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन प्रालिको नारा छ– ‘छिटो भनेकै वर्ल्डलिंक’ । नारा अनुसार पनि वर्ल्डलिंकको सेवा छिटोछरितो हुनुपर्ने हो । तर, अवस्था उल्टो छ । कम्पनीले प्रवाह गर्ने सेवा गुणस्तरीय छैन । त्यति मात्र होइन, न यसको स्पिड राम्रो छ न त गुनासो सुनुवाई गर्ने संयन्त्र ।

सम्झौतामा उल्लेख गरेभन्दा इन्टरनेटको स्पिड कम हुने गरेको ग्राहकको गुनासो छ । तर, यसतर्फ वर्ल्डलिंकले चासो नदिएको उनीहरू बताउँछन् ।

फाइल डाउनलोड र अपलोड हुँदा तोकेबमोजिम स्पिड नहुने गरेको ग्राहकको गुनासो छ ।

इन्टरनेट स्लो चल्ने त बेलाबेला बिग्रने त छँदैछ, त्यसबारे गुनासो टिपाउन झन्झट भएको ग्राहक दुखेसो पोख्छन् । यसतर्फ कम्पनीले चासो नदेखाएको उनीहरूको आरोप छ ।

वर्ल्डलिंकको सेवाबारे व्यापक गुनासो आएपछि यसअघि पनि प्रशासन डट कमले ‘वर्ल्डलिंकको सेवामा ठगी’ शीर्षकको समाचार प्रकाशित गरेको थियो ।

समाचारको कमेन्ट बक्समा वर्ल्डलिंकका थुप्रै ग्राहकले यसको सेवाबारे आफ्ना धारणा सार्वजनिक गरेका छन् । तीमध्ये अधिकांशले यसको सेवाप्रति प्रश्न उठाएका छन् ।

चेम्जोङ पदम लिम्बुले लेखेका छन्, ‘हो जनता अर्थात् ग्राहकहरूले आफुलाई सेवा सुविधा होस् भनेर स्पिड अनुसार महँगो शुल्क तिरेको हुन्छ । मैले तिरेको छु । तिरेअनुसार सेवा सुविधा तथा स्पिड पाएको छैन । कति फोन गर्नु खर्चै खर्च ? तिरेसम्म चलाइन्छ, त्यसपछि देखाजाएगा । घरबाहिर इन्टरनेटको तार छ । देखाउन मात्र जस्तो भयो ।’

राकेश खड्गीले लेख्छन्, ‘अहिले आएर मलाई यो वर्ल्डलिंक ठीक लाग्न छोड्यो । खुब ‘छिटो भनेकै वर्ल्डलिंक’ भन्थे । लास्ट आएर कम्पनीकै बेइज्जत गर्याे हैन त…।’

सुधिर यादवले लेखेका छन्, ‘वर्ल्डलिंक मात्रै होइन, अन्य सबै आइएसपीको यस्तै समस्या छ । यी सबैले ग्राहक ठगिरहेका छन् । यिनीहरूको निगरानी गर्ने सरकारी निकाय कोही छ ?’

विकासकुमार राईले लेख्छन्, ‘यसबारे थुप्रै अनुशासनहिन गुनासा छन् । यसको सञ्चालकले भने आनन्द लिइरहेका छन्, यसको सेवा कहिल्यै पनि ढिलोभन्दा राम्रो भएन । नेपाली बजारमा वर्ल्डलिंक उपयुक्त पनि छैन ।’

वर्ल्डलिंकले गुनासो दर्ता व्यवस्थापन प्रभावकारी गर्न नसक्दा ग्राहकले लामो समय टेलिफोनमा खर्चनुपरेको उनले बताए । ‘एक दिन त झण्डै आधा घन्टा नै होल्डमा बस्नुपर्याे,’ उनले दुखेसो पोखे ।

दयाराम महतले लेखेका छन्, ‘कहिलेकाहीँ रातीको समयमा र दिउँसोको समयमा बत्तीजस्तै झ्यापझ्याप नेट जान्छ, यो समस्या के कारणले हुन्छ ? तुरुन्तै समाधान होस् ।’

यसबारे बुझ्न खोज्दा वर्ल्डलिंकको कस्टमर्स सर्भिस (ग्राहक सेवा)का कर्मचारीले आधिकारिक व्यक्तिसँग टेलिफोन दिनै चाहेनन् ।

यसो त अरु इन्टरनेट सेवाप्रदायक कम्पनीका ग्राहक पनि सेवाबाट सन्तुष्ट छैनन् । आफ्नो इन्टरनेट प्याकेजको स्पिडभन्दा ढिलोे अपलोड र डाउलोड हुने गरेको उनीहरूको गुनासो छ ।

इन्टरनेट सेवाप्रदायक कम्पनीको नियमन गर्ने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले इन्टरनेट सेवाप्रदायक कम्पनीले ग्राहकलाई ठगी गरिरहेको घुमाउरो पारामा स्विकारे । उनले भने, ‘इन्टरनेट सेवाप्रदायक कम्पनीले इन्टरनेट स्पिडबारे सानो अक्षरमा अन सेयरिङ बेसिस भनेर लेखिएको हुन्छ । त्यसरी लेख्न मिल्दैन । हामीले कम्पनीलाई स्पिडबारे बोल्डमा लेख्न निर्देशन दिएका छौं,’ उनले भने ।

उनी इन्टरनेट कम्पनीको नियमित अनुगमन गरिने दाबी गर्छन् । ‘हामीले बेलाबेला अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘अनुगमनका क्रममा ठगी गरेको देखिए सचेत पनि गराउँछौं, जरिवाना पनि तिराउँछौ र लाइसेन्स पनि खारेज गर्छाैं ।’ तर, उनले कति कम्पनीलाई कारवाही गरेको भने खुलाउन सकेनन् ।

यद्यपि, इन्टरनेट सेवाप्रदायकविरुद्ध फाट्टफुट्ट उजुरी आएको उनले बताए । ‘उजुरी आएपछि तुरुन्तै चेक गर्न जान्छौं,’ उनले भने ।

र यो पनि,

‘वर्ल्डलिंकको सेवामा ठगी’

Tags :
प्रतिक्रिया दिनुहोस