प्रदेश नं. सात कै कम बजेट पूर्वप्रधानमन्त्री देउवाको गृहजिल्लामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश नं. सात कै कम बजेट पूर्वप्रधानमन्त्री देउवाको गृहजिल्लामा


१७ जेष्ठ २०७५, बिहिबार


बैतडी । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदेश नं ७ कै सबैभन्दा कम बजेट छुट्याइएको छ ।

मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमा प्रदेश नं ७ का नौ जिल्लामध्ये सबैभन्दा कम बजेट डडेल्धुराका लागि विनियोजन भएको छ ।

प्रदेश नं ७ का लागि छुट्याइएको कूल २१ अर्ब ७० करोड ७६ लाख बजेटमध्ये डडेल्धुराका लागि एक अर्ब ५२ करोड ७६ लाख बजेट छुट्याइएको छ । सभापति देउवाको जन्मस्थान गन्यापधुरा गाउँपालिकाका लागि पनि जिल्लाका सबै स्थानीय तहमध्ये सबैभन्दा कम १६ करोड ८९ लाख बजेट विनियोजन भएको छ ।

बैतडीका लागि कूल दुई अर्ब ४२ करोड ५७ लाख बजेट विनियोजन भएको छ । जिल्लाका ६ गाउँपालिका र चार नगरपालिकामध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा रु ३६ करोड तीन लाख र सबैभन्दा कम शिवनाथ गाउँपालिकामा १६ करोड ९६ लाख विनियोजन भएको छ ।

यस्तै, पाटन नगरपालिकाका लागि ३० करोड ९० लाख, पुर्चौंडीका लागि ३० करोड २१ लाख र मेलौली नगरपालिका लागि २३ करोड ५८ लाख बजेट छुट्याइएको छ । दोगडाकेदारका लागि २३ करोड ५९ लाख, डिलाशैनीका लागि २१ करोड ४६ लाख, पञ्चेश्वरका लागि २० करोड ७० लाख, सिगासका लागि २० करोड ३७ लाख र सुुर्नया गाउँपालिकाका लागि १८ करोड ७७ लाख बजेट विनियोजन भएको छ ।

प्रदेश नं ७ मा कैलालीमा सबैभन्दा बढी चार अर्ब १७ करोड २९ लाख बजेट विनियोजन गरेको छ । कञ्चनपुरका लागि दुई अर्ब ५६ करोड ७१ लाख, बझाङका लागि दुई अर्ब ७३ करोड ७७ लाख, अछामका लागि दुई अर्ब ४५ करोड ९८ लाख, दार्चुलाका लागि दुई अर्ब नौ करोड आठ लाख, डोटीका लागि एक अर्ब ९४ करोड ५५ लाख र बाजुराका लागि एक अर्ब ७८ करोड पाँच लाख बजेट विनियोजन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस