टास्क फोर्स बनाएर विस्तृत अध्ययन गरेपछि मात्रै सुन तस्करीको होल पिक्चर आउन सक्छ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टास्क फोर्स बनाएर विस्तृत अध्ययन गरेपछि मात्रै सुन तस्करीको होल पिक्चर आउन सक्छ


११ जेष्ठ २०७५, शुक्रबार


३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेति ‘गोरे’ पक्राउपछि नेपालमा मौलाएको सुन तस्करीको सञ्जाल पत्ता लाग्छ कि भन्नेमा सबै चाँसोपूर्व हेरीरहेको अवस्था हो । नेपालमा भईरहेको सुन तस्करी पञ्चायतदेखि नै निरन्तर हुँदै आएको भएपनि पछिल्लो साढे ३३ किलो सुन तस्करीको विशेष अनुसन्धान प्रक्रियाले महत्व पाएको छ । पछिल्लो सुन तस्करी घटनाका मुख्य अभियुक्त पक्राउ पछि नेपालमा लामो समयदेखि मौलाएको सुन तस्करीको गुथ्थी सुल्झेला कि नसुल्झेला ? सुन तस्करीको पछिल्लो घटना र नेपालमा परेको प्रभावका विविध विषयमा नेपाल प्रहरीका चर्चित अनुसन्धानविद्का रूपमा चिनिएका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीसँग प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।

सुन तस्करीको मुख्य अभियुक्त भनिएको ‘गोरे’ पक्राउ परेको अवस्थामा सुन तस्करीका सबै रहस्य खुल्लान् त ?
होइन, गोरेबाट सबै रहस्य आउँदैन । गोरे संगठित गु्रपको एक तहमा बसेर काम गर्दै आएको व्यक्ति मात्र हो । उसले उताबाट भरियाहरूलाई सुन बोकेर पठाइदिने, एयरपोर्टमा मिलाउने र यता आएको सुनमा जिम्मा दिने काम गर्दै आएको थियो । त्यसकारण उसले सुन कहाँ जान्छ भन्न सक्दैन । तर, उतातिरको स्टोरी, जस्तो : ऊ कसबाट सञ्चालित छ ? यसको कनेक्सन के–के हो ? यी कुरा भने खुलाउन सकिन्छ । सुन तस्करीको सबै स्टोरी उसलाई थाहा छ भन्न मिल्दैन ।

त्यसो भए कसरी जाँदा पिन प्वाइन्टसम्म पुग्न सकिन्छ त ?
म पहिल्यैदेखि भनिरहेको छु । यसका लागि टास्क फोर्स बनाएर काम गर्नुपर्छ । अहिले समितिले १५–१५ दिन वा दुई–दुई महिना थपेर काम गरिरहेको छ, यसरी हुँदैन ।
किनकी सुन तस्करी एउटा बिगतदेखिकै समस्या हो । सुन नेपालको विदेशी मुद्रा र अर्थतन्त्रसँग जोडिएको इस्यु हो । त्यसकारण टाक्स फोर्स बनाएर विस्तृत अनुसन्धान गरे मात्रै यसको होल पिक्चर आउन सक्छ ।

इन्भेस्टिगेसनका विभिन्न चरणहरू छन् । अलिकति समय लिनुपर्छ । यो एक–दुई दिनमा टुंगिने वा थाहा हुने पनि होइन । त्यसैले यससँग सम्बन्धित अन्य सरोकारवाला निकायहरुसमेतलाई मिलाएर एउटा टिम बनाउने र त्यसबाट निश्केको निचोडका आधारमा सरकारले रणनैतिक हिसावले अघि बढ्ने हो भने मात्रै यसको निराकरण गर्न सकिन्छ ।

गोरेको हाउभाउ र उसले दिएको बयानका आधारले लगाउन सकिने प्रारम्भिक अनुमान के गर्न सकिन्छ ?
यो एक महत्वपूर्ण मान्छे हो । यसको हाउभाउले के बुझिन्छ भने कि नेपालमा सुन तस्करको सञ्जाल छ कि उसको गु्रपका मान्छेहरू छन् । त्यो गु्रप महँगो सामानको स्मग्लिङमा लागेको छ । त्यसले गर्दा तिनीहरू साम, दाम, दण्ड र भेद सबै प्रयोग गर्नुपर्ने अवस्थामा बसेका छन् ।

पहिलो कुरा, भोलि कुनै पनि घटना भयो भने तिनीहरू कुनै पनि हदसम्म जान सक्छन् भन्ने गोरेको व्यवहारले देखाउँछ । अर्काे कुरा, संगठित अपराधको एक तहमा बसेर लामो समयदेखि काम गरेको र क्रुर तथा प्रोफेसनल टाइपको अपराधी हो । त्यो साइक्लोजीले गोरेलाई कताकता प्ले गरेको छ ।

कुनै पनि हदसम्म जान सक्ने भन्नुभयो, कुन हदसम्म जान सक्छ भन्ने यहाँको पूर्वानुमान् हो ?
संचारमाध्यममा गोरेको हाउभाउ, उसले बोलेको र उसलाई हार्ड कोर क्रिमिनलजस्तो लाग्यो । हार्ड कोर क्रिमिनलले एक किसिमको डोमिनेसन देखाउन खोज्छ, जस्तो : तपाईँ अनुसन्धानकर्ता हो । तपाईँसँग उसको बारेमा पर्याप्त सूचना छ, त्यसअवस्थामा उसलाई प्रोफेसनली डोमिनेट गर्न सक्नुभयो, ऊ डोमिनेट होला । नत्र उसको कन्फिडेन्सले उल्टै तपाईँलाई नै डोमिनेट गरिदिन्छ ।

गठित छानबिन समितिले गोरेबाट सत्यतथ्य कुरा पत्ता लगाउन सक्ला त ?
सक्छ । यसमा सबैभन्दा ठूलो कुरा के हो भने गोरेसँग इन्फरमेसन निकाल्न अनुसन्धानकर्तासँग पनि इन्फरमेसन चाहिन्छ । भन भन्दैमा उसले इन्फरमेसन दिनेवाला छैन । गोरेबाट कति कुरा निकाल्न सक्ने त्यो अनुसन्धानकर्ताले संकलन गरेको सूचनामा भर पर्छ । यदि अनुसन्धानकर्ताले गोरेबाट सजिलोसँग इन्फरमेसन पाइएला सोच्छ भने त्यो गलत हो । किनकि अनुसन्धानकर्तासँग सूचना नभई सबै सूचना पाउन गाह्रो छ ।

इन्टरभ्यु र इन्टरोगेसन टर्ममा भनिन्छ नि, इन्टरभ्यु लिने मान्छे प्रोफेसनल हुनुपर्छ । र, ऊसँग इन्फरमेसन पनि त्यत्तिकै हुनुपर्छ ।

यहाँले भनेजस्तै के अहिलेको समितिमा अनुसन्धानका लागि पर्याप्त ज्ञान भएका अधिकारी छन् ?
छन्, अहिले प्रोफेसनल मान्छे नभाको होइन, छन् ।

यो घटनासँग दाउद इब्राहिमको कनेक्सनको कुरा पनि आइरहेको छ, यो कतिसम्म सत्य हो ?
पहिलो कुरा, भारत सरकारले दाउद इब्राहिम पाकिस्तानमा रहेको जनाइसकेको छ । भारतीय अनुसन्धानले पनि उसको साम्राज्य गल्फमा फैलिएको देखाएको छ । भारतीय अनुसन्धानमा युएनलगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाले सहयोग गरेका छन् । र, भारतीय अनुसन्धान गर्ने निकायले भारतमा गल्फबाट सुन आउने र त्यसमा दाउद इब्राहिमको संलग्नता रहेको भनिसकेका छन् । त्यसले गर्दा नेपालमा आउने सुन थोरै परिणाममा यहाँ रहे पनि अल्टिमेट्ली जाने भारतमै हो । त्यसले गर्दा यो घटनामा दाउदको संलग्नता छैन पनि भन्न सकिँदैन ।

समितिको म्याद पनि थप भएको छ, अबको अनुसन्धान कसरी अगाडि बढाउनुपर्ला ?
समितिको म्याद थप्ने होइन कि टाक्स फोर्स बनाउनुपर्छ । अनुसन्धान गर्ने संख्या थप गरेर र यसका सरोकारका निकायहरू जस्तैः राष्ट्र बैंक, भन्सार कार्यालयलगायतबाट कर्मचारी समावेश गरी टाक्स फोर्स गठन गरी अनुसन्धान प्रक्रियालाई निरन्तरता दिनुपर्छ । अहिले नै मुद्दा चलाउनुभन्दा पनि यो संजालको गहिराईमा पुग्नतर्फ ध्यान दिनुपर्छ ।

अहिलेको सिनारियो देख्दा सरकारले यस अनुसन्धानलाई नै सुन तस्करीको कोशेढुंगा बनाउन खोजेको छ भन्न सकिन्छ, यहाँलाई के लाग्छ ?
सकिन्छ । यसभन्दा अगाडि समातेका सुन घटनाको डिटेल इन्भेस्टिगेसन भएको छैन, दुई–चार वटा केसहरूबाहेक । जुन सिआइबीले चलाएको छ । अहिले समितिले गरेको अनुसन्धानले कुनै न कुनै तहसम्मको सञ्जाल देखाएको छ । र, यसले गोल्डको कुन तहको स्मग्लिङ भइरहेको छ भन्ने बाहिर ल्याइदिएको छ । यसका विभिन्न पाटाहरू बाँकी छन् । यसका लागि टाक्स फोर्स गठन गर्नुपर्छ । यसको जिम्मेवारी भनेको तस्करीका पाटाहरू खोलिदिने हो । त्यो जरुरी पनि छ ।

यसअघि सुन तस्करीका घटनाको अनुसन्धान नहुनुको कारण के हो ?
मैले अघि पनि भने, संगठित अपराधअन्तर्गत सिआइबीले दुई–चार वटा मुद्दा चलाएकोबाहेक अन्य मुद्दा चलेको छैन ।

सुन समात्यो । राजस्वमा पठाइदियो । राजस्वले छिटो मुद्दा टुंग्याइदिन्छन् । किनकि सुराकीबाफत पाउने कमिसन पाएपछि किन मुद्दा चलाउने भन्ने हुन्छ । सुन तस्करीका घटनाको अनुसन्धान नहुनुको मुख्य कारण यही हो ।

नेपालमा सुन तस्करी मौलाउँदै जानुमा यसको मुद्दा प्रक्रियामै नजाने अर्थात लोभी मनले नै यो भयावह अवस्था आएको हो भन्न खोज्नुभएको हो ?
हो । मुद्दा प्रक्रियामै नजाँदा र यसबारे सरोकारवालाले चासो पनि नलिँदा तस्करी मौलाइरहेको छ ।

किनकी सुन बुझाइदिएपछि छिटो फैसला हुन्छ । त्योबाफतको कमिसन (जुन लिगल हो) पनि आइहाल्छ । अनि किन मुद्दा अगाडि बढाउने भन्ने हुन्छ । अर्काे कुरा, मुद्दा प्रक्रियामा जाँदा कमिसनबाट वञ्चित हुन सक्ने अवस्था आउन सक्छ, जस्तोः जिल्लामा मुद्दा चल्यो । त्यो मुद्दा फेरि पुनरावेदन होला । त्यहाँबाट पनि सर्वोच्चमा जाला । त्यो भएपछि भोलि कमिसन आउँछ कि आउँदैन भन्ने हुन्छ । त्यसकारण अनुसन्धान प्रक्रियामै नजानु पनि सुन तस्करी मौलाउँदै जानु मुख्य कारणमध्ये एउटा हो ।

खासगरी संलग्न अधिकारी नै लोभी भए हैन त ?
हो, हामीहरू लोभी भयौं । हामीहरू पनि थियौं होला ।

अव त्यसो नहोस् अर्थात् फेरी त्यही अवस्था नदोहोरियोस् भन्नका लागि के छ यहाँको सुझाव ?
हो, अबचाहिँ यो समितिले मुद्दा नै चलाउने हिसाबले गर्नुभन्दा पनि यसको सञ्जालबारे विस्तृत अनुसन्धान गर्नु जरुरी छ । सुन तस्करीको सञ्जाल कहाँ छ ? कुन तहसम्म तस्करी भइरहेको छ ? कुन–कुन बाटोबाट भइरहेको छ ? यसका पाटाहरू के–के हुन् ? यसको होल पिक्चर प्रष्ट गर्न जरुरी छ । मुद्दा त पछि पनि चलाउन सकिन्छ ।

गोरे एकाएक आत्मसमर्पण गर्न आउनुको कारण के हुनसक्छ ?
गोरेलाई प्रहरीले नै पक्राउ गरेको सुनिएको छ । केही मिडियामा आत्मसमर्पण गर्याे र केहीमा पक्राएको खबर आएको थियो ।

यदि गोरेले आत्मसमर्पण गरेको हो भने उसले आफूलाई काम लगाउने पक्षबाट सुरक्षित महसुस गरेन भन्ने बुझ्नुपर्छ ।

गोरेको पक्राउले थप जोखिम पनि निम्त्याएको छ कि ?
जोखिम छ, अहिले यति थुप्रै मान्छे समातिएका छन् । मुद्दा अगाडि बढिरहेको छ । छानबिन अगाडि बढ्दै छ । अहिलेसम्म पक्राउ परेकोमध्ये सबैभन्दा माथिल्लो यही हो । यसभन्दा माथिल्ला पाटा चढ्नको लागि यो महत्वपूर्ण खुड्किलो हो ।

संगठित अपराधमा के हुन्छ भन्दा अपराधीहरूले यस्ता खुड्किला भत्काउन खोज्छन् । त्यसकारण सरकार, छानबिन समिति र सम्बन्धित प्रहरी निकायले गोरेको सुरक्षालाई ध्यान दिनुपर्छ । पुलिसको कस्टडीमा होस् वा अदालतले थुनामा पठाएको बेला होस् । गोरेको सुरक्षाबारे ध्यान दिनुपर्छ ।

र यो पनि, 

सुन काण्डका मुख्य अभियुक्त गोरे कारिन्दा मात्रै हुन्

Tags :
प्रतिक्रिया दिनुहोस