देश माफिया, तस्कर र ठेकेदारको कब्जामा : गृहमन्त्री बादल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

देश माफिया, तस्कर र ठेकेदारको कब्जामा : गृहमन्त्री बादल


३१ बैशाख २०७५, सोमबार


पोखरा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश माफिया, तस्कर र ठेकेदारको कब्जामा रहेको बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले माफिया, तस्कर र ठेकेदारको कब्जाबाट देशलाई मुक्त गर्ने बताए । ‘देशको अर्थतन्त्र ठेकेदारको हातमा छ, जसले अर्बौंको राजश्व छलि गरेका छन्,’ उनले भने, ‘देश तस्करको हातमा छ जसले तस्करी गरिरहेका छन् ।’

देशमा मुठीभरको वर्चश्व रहेको भन्दै उनले आर्थिक समृद्धिको बाधक त्यही भएको बताए । हरेक क्षेत्रको एकाधिकार नतोडी समृद्धि सम्भव नभएको उनको भनाइ थियो । ‘हरेक क्षेत्रमा एकाधिकार र कालोबजारी छ,’ थापाले भने, ‘त्यसको अन्त्यबिना विकास सम्भव छैन ।’ भ्रष्टाचार र एकाधिकारको प्रणालीलाई समाप्त गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।
विकासको अर्को वाधक लागूपदार्थ रहेको र यसकै कारोवारले देशका कर्णधारहरूको भविष्य दलदलमा फस्दै गएको उनले बताए ।

सरकारले राजश्व नतिर्ने उद्योगी, व्यवसायी र हैकमवादीको अन्त्य गर्न चाहेको पनि गृहमन्त्री थापाले बताए । ‘विकासका लागि राजश्व नतिर्ने र हैकमवादीको अन्त्य जरुरी छ,’ गृहमन्त्री थापाले भने, ‘विकास लागि स्थायित्व चाहिन्छ र स्थायित्वका लागि दल एककठ हुन जरुरी छ । हामी एककठ हुँदैछौं ।’

गृहमन्त्री थापाले विकास र शान्ति सुरक्षामा बाधा पुर्याउने गुन्डाहरूको लिस्ट तयार भइरहेको बताएका छन् । ‘गुन्डाराजको छिटोभन्दा छिटोभन्दा अन्त्य गर्छौं,’ गृहमन्त्री थापाले भने, ‘सबै गाउँमा गुन्डाहरुरूो ब्ल्याक लिस्ट तयार हुँदैछ ।’ यसका लागि देशव्यापीरूपमा अभियान चलाउन लागिएको उनले जानकारी दिए ।

गृहमन्त्री थापाले देशबाट अब सबैखाले सिन्डिकेटको अन्त्य हुने बताएका छन् । ‘यातायात क्षेत्रको सिन्डिकेट तोडिइसकेको छ,’ उनले भने, ‘अब यो क्षेत्रमा आउन अरु व्यवसायीलाई पनि बाटो खुलेको छ ।’
मिटरमा टयाक्सी चलाउने कुरा, ट्रक व्यवसायी, ट्रान्सपोर्ट लगायतका क्षेत्रमा पनि सिन्डिकेट कायमै रहेको गुनासो आइरहेकाले सबैको अन्त्य गर्ने उनले बताए ।

प्रहरीभित्र सबै तहको बढुवा गर्नका लागि तल्लो तहबाट बढुवाको थालनी गरिएको उनले बताए । ‘तल्लो तहबाट बढुवा थालिएको छ,’ गृहमन्त्री थापाले भने, ‘अब डिआइजीहरूको पनि बुढो नहुँदै बढुवा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस