मोदीको भ्रमण मुस्ताङको पर्यटकीय विकासका लागि महत्वपूर्ण हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोदीको भ्रमण मुस्ताङको पर्यटकीय विकासका लागि महत्वपूर्ण हुने


२७ बैशाख २०७५, बिहिबार


मुस्ताङ । प्रकृतिका मनोरम दृश्यले सजिएको हिमालपारिको जिल्ला मुस्ताङ पर्यटक आकर्षित गर्ने स्थल हो । त्यससँगै यहाँ रहेको मुक्तिनाथ मन्दिर धार्मिक महत्वको धरोहर मानिन्छ । यो हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा पवित्र तीर्थस्थल पनि हो । यससँगै चाँदीजस्तै टल्कने हिमशृंखलाले यस क्षेत्रमा पर्यटकलाई तानेको छ ।

मुक्तिनाथसहित कागबेनी, दामोदर कुण्ड, गुम्बा, ऐतिहासिक ठिनी गाउँ र तिब्बती संस्कृतिका जीवन्तस्थलहरू यहाँका प्रमुख पर्यटकीय आकर्षणका केन्द्र हुन् । मनोरम दृश्यसहित पदयात्राका लागि ख्याति कमाएको मुस्ताङ पदमार्गको बाहुल्यता भएको स्थान हो ।

छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका क्रममा भोलि नेपाल आउँदैछन् । त्यसक्रममा उनी वैशाख २९ गते मुक्तिनाथ दर्शन गर्न जाँदैछन् ।

मोदीको मुक्तिनाथ दर्शन व्यवस्थित गर्न मुक्तिनाथ मन्दिर रहेको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष छेन्तोकछेप्तेन गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । ‘समितिले आफ्ना काम तीव्रताका साथ अघि बढाएको छ,’ प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने । समितिको संयोजनमा अहिले सरसफाइलगायत काम भइरहेको छ । मोदीको मुक्तिनाथ दर्शनलाई लक्ष्य गरी जिल्ला सुरक्षा समितिले सुरक्षा प्रबन्ध गरिरहेको छ । सवारी साधन आवतजावत गर्ने विभिन्न चेक पोष्टमा सुरक्षा निगरानी बढाइएको छ ।

प्रधानमन्त्री मोदी दर्शन गर्न आउने भएसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण सहयोग पुग्ने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीको भनाइ छ । पर्यटकले स्नान गर्ने १०८ धारालाई रङरोगन गरिएको छ । मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।

प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणबाट यस क्षेत्रले विश्व पर्यटन बजारमा स्थान पाउने नेपाल–भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचन बताउँछन् । ‘प्रधानमन्त्री मोदीको भ्रमण हाम्रा लागि गौरवको विषय हो,’ उनले भने । जिल्ला समन्वय समितिका सभापति छिरिङल्हामु गुरुङ आफूहरू मोदीको स्वागतको तयारीमा जुटेको बताउँछन् ।

मोदीको भ्रमणका क्रममा आउने देशी/विदेशी सञ्चारकर्मीले यहाँका सुन्दर दृश्यलाई कैद गरी विश्व पर्यटन बजारमा पु¥याउने उनको विश्वास छ । (रासस)

प्रतिक्रिया दिनुहोस