सिंहदरबार । प्रोजेक्ट भन्ने शब्दसँग सायदै नेपालीहरु अनविज्ञ होलान् । भलै यसको अर्थ, महत्व र परिभाषा कमैले बुझेका हुनसक्छन् तर प्रोजेक्ट भनेपछि सबैले सजिलै बुझ्छन् ।
प्रोजेक्ट अर्थात आयोजना/परियोजना भन्नाले विभिन्न सीप र साधनको प्रतिवद्धतासहित विशेष लक्ष्य प्राप्तिका विस्तृत कार्ययोजनासहित निश्चित समयसम्म एक पटक संचालन हुने प्रमुख कार्य मानिएपनि नेपालमा भने सिमित बर्गको कमाउ धन्दाका लागि फलिफाप हुँदै आएको कुरा थप पुट्याई गरिरहनु नपर्ला । दाताकै दानबाट संचालित हुने हुनाले उनीहरुप्रति नै बफादार हुनुलाई अन्यथा मान्न नसकिएला तर देशको नियम नै नमान्ने अवस्थासम्म पुग्नुलाई के भनेर बुझ्ने ?
यस्तै मध्येको एक हो व्यावसायिक कृषि तथा व्यापार आयोजना(प्याक्ट) । विश्व बैंकको आर्थिक सहयोगमा नेपाल सरकार कृषि मन्त्रालय अन्तर्गत २००९ देखि ६ वर्षका लागि कार्यान्वयमा रहेको उक्त आयोजना तराइका र पहाड गरी २५ जिल्लाबाट शुरु भएर अहिले देशभरी फैलिँदै २०१८ सम्म संचालनमा रहने छ ।
अनुदानमा चरम अनियमितता, पहुँच, आफ्ना, आफन्त लगाएत तमाम् आक्षेप खेप्दै आएको परियोजनाका भित्रि कथालाई छोडौं, देखादेखी–हाकाहाक्कि त्यो पनि तालुक कार्यालयकै अगाडी ! त्यतिमात्रै हो र ? देशको प्रमुख प्रशासनिक केन्द्रभित्रै देशको नियम कानुन मिचिरहेको एउटा तस्बिर लाइभ तस्बिर हामी आज तपाइलाई देखाउँदै छौं ।
कुरा सानो जस्तो लाग्ला, कतिपयलाई त यस्तो पनि के भन्ने पनि लाग्न सक्छ, अझ हरेक दिन सडक पेटीभरी छाएका सवारी छिचोल्दै कार्यालय पुग्ने सिँहदरबारभित्रका कर्मचारीलाई त झन् केही नलाग्न सक्छ तर कानुनी राज्यमा, त्यो पनि कानून कार्यान्वय गराउने सरकारी मुख्यालयभित्रै हरेक पटक जसो कानून मिचिरहेको कुरालाई सामान्य नै मान्ने ? के गाउँका गरीब किसानहरुलाई मात्रै हो नियम लाग्ने ? खुल्ला आकासको बास हुनेहरुका लागि मात्रै हो त कानुन बनेको ? महलमा बस्ने अनि पजेरो चढ्नेले जे गरे पनि हुने, अनि झुपडीमा बस्नेले केही नगरे पनि !
ओली बा को शासन छ, यत्ति सारो त नहोला ! के होला ? त्यो त पछि सोच्नुहोला तर त्यो सोच्नुभन्दा पहिला व्यावसायिक कृषि तथा व्यापार आयोजना(प्याक्ट) लेखिएको यो सेतो प्लेटको सवारी एक पटक हेर्नुहोस् ।

कति ढुक्कसँग पेटीमा पार्किङ गरिएको छ । मानौं यही पार्किङ गर्ने ठाउँ हो । र, सरकारले यसैका लागि व्यवस्था गरिदिएको छ ।

पैदल यात्रु हिड्ने सडक पेटीमा टामटुम पारेर गाडी उभ्याएपछि पैदलयात्रु सडकबाट नहिँडी कहाँबाट हिड्नु ?


लटरम्मै फुलेका बकम्बेली अनि सजावटका लागि रोपिएको धुपीको बोटहरु पनि सरमले पानी पानी भएका होलान्, यो चालाबाट ।

सभ्यता, संस्कार र सिकाइका लागि सिँहदरबार पस्नेहरुले यस्ता दृश्यहरु देखिएपछि के सोच्छन् होला ?

पैदल यात्रु हिड्ने पेटीमा पार्किङ गरेर एउटा मात्र गल्ति गरिरहेको हो र ? बाटो काट्ने जेब्रा क्रसिङ नै छेकेर गल्तिमाथि गल्ति गरिरहेको कसले औल्याउने ?

सोचिरहेछु गाउँ गाउँ पठाइएका सिँहदरबारहरुले काठमाडौंको सिँहदरबारबाट कस्तो संस्कार सिकेका होलान् ? कतै कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयमा जस्तै गरेको भए त …… भन्दा देख्नेलाई लाज नहोला त ?

संस्कार बिर्सेका, सभ्यता भुलेका अनि कानूनी राज्यको मुख्यालयमै दिनदहाडै यसरी कानुन मिचिरहँदा सम्झि रहेछु सुशासनको कोलाहोलो यिनको कानसम्म कहिले पुग्ला र मष्तिष्क टिन्न घण्टी बजाउँदै ठीक ठाउँमा कहिले आउलान् ?
र,यो पनि पढ्नुहोस्
शासकहरुको पार्किङ शैली (फोटो फिचर)







