निजामती किताबखानाको निर्णय ‘पराजुलीको अवकाश साउन २१ मै’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निजामती किताबखानाको निर्णय ‘पराजुलीको अवकाश साउन २१ मै’


प्रशासन विशेष ब्युरो

१५ बैशाख २०७५, शनिबार


Chief Justice

काठमाडौँ । निजामती किताबखानाले निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश मिति २०७४ साउन २१ गते नै कायम हुने निर्णय गरेको छ ।

न्यायपरिषदबाट प्राप्त पत्र र अन्य कानुनी आधारमा समेत ६५ वर्षे उमेरहदका कारण गत साउनकै अवकाश मिति कायम गर्ने निर्णय भएको किताबखानाले सर्वोच्च अदालतमा पठाएको पत्रमा उल्लेख छ ।

‘न्यायपरिषदको सचिवालयको पत्रमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली २०७४ साउन २१ मा नै ६५ वर्ष उमेर पूरा भई पदमा नरहेको उल्लेख भएको र कानुनको रोहमा रीतबाट अन्यथा हुने थप कुनै जानकारी प्राप्त नभएको सन्दर्भमा,’ किताबखानाको पत्रमा छ, ‘सेवानिवृत्त प्रधानन्यायाधीश पराजुलीको अवकाश मिति २०७४ साउन २१ देखि नै निवृित्तभरण पाउने गरी निवृत्तिभरण अधिकारपत्र जारी गर्नुपर्ने कानुनी दायित्व रहन्छ ।’ किताबखानाले गत चैत २० गते नै यो निर्णय गरेको पत्रमा उल्लेख छ ।

किताबखानाले पेस गरेको पत्र सर्वोच्च प्रशासनले भने गोप्य राखेको छ । किताबखानाले निर्णय र पत्रको प्रतिलिपि अनौपचारिक रूपमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई समेत पठाएको थियो ।

मन्त्रीको सचिवालय स्रोतबाट प्राप्त उक्त प्रतिलिपिमा किताबखानाले साउन २१ गतेपछिको तलबलगायत सुविधा फिर्ता भएपछि मात्रै पराजुलीको पेन्सनपट्टा बन्ने जानकारी गराएको छ । किताबखानाले सर्वोच्च अदालतलाई साउन २१ पछिको अतिरिक्त सुविधा फिर्ता भएको यकिन गरिदिनसमेत पत्र लेखेको छ । उक्त पत्रको बोधार्थ पराजुलीलाई समेत पठाइएको छ । यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस