सुन र शक्तिको सम्बन्ध: पञ्चायतदेखि गणतन्त्रसम्म ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुन र शक्तिको सम्बन्ध: पञ्चायतदेखि गणतन्त्रसम्म !


प्रशासन विशेष ब्युरो

१३ बैशाख २०७५, बिहिबार


काठमाडौं । सुन तस्करीसँग ठूलाबडा नेपालीको साइनो पुरानो छ । पञ्चायतकालमै दरबारसम्म सुनका साथै लागुऔषधको साइनो गाँसिएको देखिन्छ । राजा महेन्द्रकै पालामा मनाङवासीको ‘जीवनस्तर उकास्न’ भन्सार छुटको सुविधा दिइयो । यससँगै सर्वसाधारण नेपालीको पनि विदेशसँग पहुँच कायम भयो । यहाँ अकुत नाफा गर्न सकिने वस्तु ल्याएर बिक्री गर्ने धन्दा फस्टायो ।

मनाङे साहुको भरिया भएर हङकङबाट तीनवटा जिन्स पाइन्ट लगाई मोटा–मोटा गहना लगाएर फर्किएको विषय हरिवंश आचार्यले आत्मकथा ‘चिना हराएको मान्छे’मा लेखेका छन् ।

४० को दशकमा नै नेपाल सुनको ‘ट्रान्जिट’ बनिसकेको थियो । दरबार सर्वशक्तिमान भएका वेला दरबारिया कनेक्सन नभई सुन तस्करी सम्भव पनि थिएन । राष्ट्रिय पञ्चायत सदस्यका रूपमा सुर्खेतबाट निर्वाचित चन्द्रबहादुर बुढा र लमजुङबाट निर्वाचित नरबहादुर गुरुङ हङकङबाट सुन ल्याउँदाल्याउँदै विमानस्थलमा समातिए ।

बुढालाई विमानस्थलमा तत्कालीन इन्स्पेक्टर कुवेरसिंह राना (पछि महानिरीक्षकबाट सेवानिवृत्त)ले साढे २२ किलो सुनसहित समातेका थिए । जहाजबाट झरेर अध्यागमनतिर आउँदै गरेका बुढा सुनको भारीले लच्किएका थिए । जिउबाट सुनका बिस्कुटै बिस्कुट बरामद भएपछि चन्द्रबहादुर बुढाको सुन बुढा भएको थियो ।

पञ्चायतको अन्तिमतिर धीरेन्द्र शाहको अंगरक्षक भइसकेका कर्णेल भरत गुरुङको घरमा छापा मार्दा २० लाख नगद बरामद भएको थियो । उनले कालु मनाङे भन्ने व्यापारीको सामान एयरपोर्टबाट छिराउन सघाएबापत घुस लिएको दरबारका तत्कालीन सैनिक सचिव ऋषिकुमार पाण्डेले आफ्नो जीवनीमा समेटेका छन् ।

पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालले आफू हङकङको महावाणिज्य दूतावासमा शाही नेपाली सम्पर्क अधिकारी हुँदा तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको आतिथ्य गरेको आत्मकथामा उल्लेख गरेका छन् ।

धीरेन्द्रका अंगरक्षक भरत गुरुङले मिलेर व्यापार गर्न प्रस्ताव गरेको कटवालको भनाइ छ । त्यही वेला सेवानिवृत्त प्रहरी महानिरीक्षक डिबी लामा र धीरेन्द्र शाहको अंगरक्षक भई काम गरेका भरत गुरुङलाई सुन तस्करीको अभियोग लागेको थियो ।

सुन तस्करीको ट्रान्जिटको लागि प्रजातन्त्र कालमा नेपाल अझ उर्बर बन्यो । ०५१–०५६ मा नेपाल सुन तस्करको स्वर्ग भयो नै, सुन तस्करीको पैसा सांसद किन्ने र सत्ता परिवर्तन गर्ने प्रयोजनमा खर्च हुन थाल्यो ।

प्रजातन्त्रकालका गृहमन्त्री खुमबहादुर खड्काका साथै वामदेव गौतम र अर्थमन्त्री रवीन्द्रनाथ शर्मा सुन तस्करीलाई सघाएको विवादमा परिरहे । सरकारसँगै गृहमन्त्री परिवर्तन भइरहेका छन् । तर, सुन तस्करीको सिलसिला परिवर्तन भएको छैन । यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस