पैसा छ, औषधि छैन: औषधि अभाव भने अझै लम्बिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पैसा छ, औषधि छैन: औषधि अभाव भने अझै लम्बिने


प्रशासन विशेष ब्युरो

११ बैशाख २०७५, मंगलबार


काठमाडौं । आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन सरकारले निःशुल्क औषधि उपलब्ध गराउन बजेट विनियोजन गरे पनि औषधि अभाव भने अझै लम्बिने भएको छ।

स्वास्थ्य सेवा विभागका निमित्त निर्देशक डा.गुणराज लोहनीले जिल्लामा औषधि अभाव न्यूनीकरण गर्न केन्द्रीय बजेटबाट २५ करोड रुपैयाँ रकमान्तर गरी पठाइएको बताए।

आर्थिक वर्ष ०७४/७५ मा औषधि खरिदका लागि केन्द्रमा छुट्याइएको १ अर्ब पाँच करोडमध्येबाट २५ करोड रुपैयाँ स्थानीय तहमा पठाइएको छ। विभागका निमित्त महानिर्देशक डा.लोहनीले भने, ‘जिल्ला जनस्वास्थ्य कार्यालय र अस्पतालमा बजेट पठाइएको छ। तर, गाउँपालिका तहसम्म लैजाने र त्यहाँबाट स्थानीय तहका स्वास्थ्य संस्थामा पुर्‍याउने सवालमा कठिनाइ छ।’

मेडिकल स्टोरमा स्टकमा रहेको औषधि पठाउने कार्य सुरु भएको उल्लेख गर्दै उनले स्थानीय तहले औषधि खरिद कार्य अघि नबढाउँदा औषधि अभाव हुन पुगेको बताए। आव ०७४/७५ मा स्थानीय तहमा ३६ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस