बाग्लुङ र डोल्पाका दुर्गम क्षेत्रमा मोबाइल सेवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाग्लुङ र डोल्पाका दुर्गम क्षेत्रमा मोबाइल सेवा


१० बैशाख २०७५, सोमबार


काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ र डोल्पाका अति दुर्गम ग्रामीण भेगमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

टेलिकमले बाग्लुङको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रिजी विटिएस स्थापना गरी २०७५ साल वैशाख ९ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ ।

माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो । टेलिकमका अनुसार ढोरपाटन नगरपालिका–९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा थ्रिजी सेवा सञ्चालनमा आएको छ । सो ठाउँ बाग्लुङ सदरमुकामदेखि १२४ किलोमिटरको सडक दूरीमा र करीब तीन हजार २०० मिटर उचाइमा अवस्थित छ ।

उक्त सेवाबाट त्यस स्थानका करीब ५०० घरधुरी तथा सो क्षेत्रमा आउने पर्यटक लाभान्वित हुनेछन् । बागलुङमा रहेको नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको सुरक्षाका लागि समेत सो सेवाले सहयोग गर्ने टेलिकमको दाबी छ ।

त्यसैगरी डोल्पाको दुर्गम ग्रामीण क्षेत्र धो मा भि स्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराउन आरम्भ भएको छ । डोल्पा बुद्ध गाउँपालिका धो मा स्थापित विटिएसबाट त्यस स्थानका करीब दुई हजार बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटक लाभान्वित हुनेछन् । यो दुनै सदरमुकामदेखि करीब तीन दिनको पैदल दूरीमा पर्छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए ।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरीे सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस