पोखरेली रङ्गमञ्चको सात दशक : दरबारभित्रको नाट्यशालादेखि पोखरा थिएटरसम्म « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पोखरेली रङ्गमञ्चको सात दशक : दरबारभित्रको नाट्यशालादेखि पोखरा थिएटरसम्म


१० बैशाख २०७५, सोमबार


पोखरा । प्राकृतिक संपदा मात्र नभएर वर्षभरि नै स्वदेशी एवं विदेशी पर्यटक आइरहने पोखरा नाट्यकर्मीलाई लोभ्याउने ठाउँ पनि बनेको छ । चलचित्र, इन्टरनेट र मोबाइलप्रतिको बढ्दो आकर्षणसँगै नाटक प्रदर्शन कतै ओझेलमा पर्ने पो हो कि भन्ने चासो र चिन्ता बढेका अवस्थामा पोखरामा दुई महिनाअघि मात्र पोखरा थिएटर ‘नाटकघर’ सञ्चालनमा आएको हो ।

पोखरेली रङ्गमञ्च केही समय ओझेलमा परेजस्तो देखिए पनि नाटकघरको सञ्चालनसँगै ज्यूँदो र जाग्दो इतिहासलाई पुनरावृत्ति गर्दै अघि बढ्ने आशा पलाएको छ ।सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति एवं नाटककार सरुभक्तको सिरुमारानी नाटक मञ्चनसँगै औपचारिक सञ्चालनमा आएको पोखरा थिएटरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा राष्ट्रिय नाटक महोत्सव, २०७४ पनि भव्यताका साथ सम्पन्न भयो भने त्यसयता पनि विभिन्न नाटक प्रदर्शन गरिएको छ ।

पोखराको गैह्रापाटनमा लगभग दुई रोपनी क्षेत्रफलमा निर्मित जम्मा २०० सिट क्षमताको थिएटर ८० लाखको लागतमा तयार गरिएको नाट्यकर्मी परिवर्तन बताउँछन् । नाट्यकर्मी परिवर्तन सहित दिलु गुरुङ र स्थानीय शंकरनाथ कोइरालाको लगानीमा निर्मित थिएटर निर्माणको अवधारणासँगै नाटक मञ्चन हुने अवस्थासम्म आउन करीब तीन वर्ष लागेको सञ्चालकहरूको भनाइ छ ।

विसं २००७ पूर्व नै पोखरामा तत्कालीन राणा बडाहाकिम धनशम्शेरको दरबारमा मनोरञ्जनका लागि नाटक मञ्चन गर्न थालिएसँगै पोखरामा नाटक मञ्चन गर्न थालिएको नाटककार सरुभक्त बताउँछन् । नशम्शेरको समयमा पोखरामा पहिलो पटक विसं १९९५ मा नाटक मञ्चन भएको थियो। धनशम्शेर स्वयंले लेखेको ‘पोखराको चक्कर’ मोहरिया टोलस्थित आफ्नै सेतो दरबारमा पहिलो पटक मञ्चन भएको थियो । उक्त नाटकको निर्देशन उनका छोरा हरिशम्शेरले गरेका थिए । तत्कालीन समयमा सेतो दरबारमा मञ्चन भएका वाणासुर’, ‘उषाहरण’, ‘माया मच्छेन्द्र’, ‘कृष्ण–सुदामा’जस्ता नाटक चर्चित थिए । धनशम्शेरको दरबारमा त्यसबखत मञ्चन हुने नाटक हेर्ने अवसर भने उनका निकटस्थ व्यक्ति र दरबारिया भाइ भारदारले मात्र पाउँथे ।

तत्कालीन समयमा प्रदर्शन गरिने नाटक धार्मिक एवं ऐतिहासिकतामा आधारित हुन्थ्यो । वि.सं. १९९७ मा रामबहादुर श्रेष्ठ र पूर्णबहादुर कार्कीको संयुक्त निर्देशनमा ‘राजा हरिश्चन्द्र’ नाटक पहिलो पटक पोखरामा सार्वजनिक रूपमा मञ्चन गरिएको थियो । वि.सं. २००७ मा उनीहरुकै निर्देशनमा भीमनिधि तिवारीको ‘सहनशीला सुशीला’ नाटक मञ्चन गरिएको थियो । एक सुकादेखि दुई रुपैयाँसम्मको टिकट दर राखिएको सो नाटकलाई नै पोखरामा पहिलोपल्ट टिकटमा प्रदर्शन गरिएको नाटकका रुपमा लिने गरिएको छ ।

उक्त समयतिरै पोखरामा ‘रतन’ र ‘प्रेम परिवर्तन’ नामका नाटक मञ्चनसँगै विन्ध्यवासिनी नाटक मण्डली खुलेको इतिहास छ । त्यसयता थुप्रै नाट्य संस्था खुले पनि तिनले निरन्तरता भने पाउन सकेनन् ।पोखरेली नाट्य रङ्गमञ्च यसबीचमा विभिन्न आरोह अवरोह पार गर्दै आएको नाट्यकलाकार प्रकाश घिमिरे बताउँछन् ।

पोखराको सात दशकयताको नाट्य यात्रामा टिकटमा पहिलो पटक मञ्चन भएको ‘सहनशीला सुशीला’ देखि हाल मञ्चन भइरहेका ‘थाङ्ला’, ‘एन्टिगोनी’ हुँदै ‘सान्नानीको सन्ते राजा’सम्मका नाटकले नाट्यप्रेमीको मनलाई खिचेको घिमिरेको भनाइ छ । पोखरामा २०१३ सालतिर ‘भूल’, ‘विषालु साप’, ‘किस्मतको फैसला’ जस्ता नाटक मञ्चन गरिएको थियो ।

प्रजातन्त्रको स्थापनासँगै २००७ सालपछि पोखरेली रङ्गमञ्चले सकारात्मक रूप लिएको प्राध्यापक तारा बराल बताउँछन् । उनका अनुसार २० को दशकतिर शैक्षिक संस्थामा शिक्षकलाई तलब खुवाउन नाटकहरू मञ्चन गर्ने गरिएको थियो । पोखराको महेन्द्रपुलको निर्माणमा सहयोग जुटाउन २०१९ सालमा नाटक प्रदर्शन गरिएको थियो ।

नाटकप्रतिको आकर्षण तत्कालीन समयमा निकै रहेको बताउँदै प्राध्यापक बराल भन्छन्, ‘मैले पहिलो पटक २०२२/२३ सालतिर अमरसिंह चौरको फुटबल मैदानमा श्रीप्रसाद घिमिरेद्वारा लिखित ‘विषय वासना’ शीर्षकको नाटक हेरेको हुँ, तत्कालीन समयमा पनि नाट्य प्रेमीहरू नाटक हेर्न निकै उत्सुक देखिन्थे ।’ त्यसबखत जस्तोसुकै नाटक देखाउन भने बर्जित रहेको जानकारी दिँदै उनी २०३६ सालको जनमत संग्रहपछि नाटक मञ्चन एवं प्रदर्शनमा केही खुकुलो भएको हो भन्छन् ।

विसं २०२२ मा पृथ्वीनारायण क्याम्पसमा अन्नपूर्ण रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन तिलकमान गुभाजुद्वारा निर्देशित सेक्सपियरको ‘म्याक्वेथ’ प्रदर्शन भएको थियो । ‘त्यस समयमा क्याम्पसको विकास निर्माणलगायतमा सहयोग जुटाउन प्रत्येक वर्ष विद्यार्थीले नाटक देखाउने प्रचलन थियो ।’ म्याक्वेथ नाटकका निर्देशक गुभाजु भन्छन् । पोखरामा तत्कालीन समयमा भाले चरो नामका हास्य कलाकार निकै चर्चामा थिए । उक्त समयमा अहिलेको जस्तो चलचित्र नभएका कारण पनि नाटकप्रति छुट्टै किसिमको आकर्षण रहेको उनको भनाइ छ । विसं २०२२ तिरै चेतन कार्कीको लेखन तथा निर्देशनमा ‘आत्मा बेचेको छैन’ प्रदर्शन गरिएको थियो ।

विसं २०२६ मा क्याप्टेन मीनबहादुुर गुरूङको सक्रियतामा खुलेको डाँफे कला मन्दिरले पोखरेली नाट्य र संगीतको क्षेत्रमा विशेष योगदान पु¥याएको यस क्षेत्रका जानकार बताउँछन् । डाँफे कला मन्दिरमा सरुभक्त, दुर्गा बराल ‘वात्सायन’, अनुप बराल, प्रकाश घिमिरे, प्रकट पंगेनी लगायत थुप्रै कलाकारले नाटक देखाएका थिए । तीसको दशक र त्यसभन्दा पछाडि पोखरामा नाटक लेखनदेखि निर्देशन र अभिनयको क्रम निकै उत्साहजनक रुपमा बढेको संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठ जानकारी दिन्छन् ।

पोखरामा २०३४ मा स्थापित पोखरेली युवा सांस्कृतिक परिवारदेखि २०४७ सालमा स्थापित प्रतिबिम्ब नाट्य समूहजस्ता संस्थाहरूले पोखरामा साहित्य, नाटकलगायतका विधामा महत्वपूर्ण योगदान पु¥याएका थिए ।

कलाकार दुर्गा बराल, सरूभक्त, कवि तीर्थ श्रेष्ठ, रंगकर्मी अनुप बराललगायत ४० साहित्यकार, कलाकार, संगीतकार र रंगकर्मीको संलग्नतामा प्रतिबिम्ब नाट्य समूहको जन्म भएपछि पोखरेली नाटकले अझै गति लिएको पाइन्छ ।

विन्ध्यवासिनी युवा क्लब, सूर्योदय युवा क्लब, हिमशिखर कला परिवार, ओम शिवकला केन्द्र, आदर्श नाट्य समूह, हिमाली सांस्कृतिक परिवार, क्षितिज नाट्य परिवार, दीर्घजीवी, नवप्रतिभा नाट्य परिवार, धर्मसेवा परिवार, जमर्को साहित्य प्रतिष्ठान, सिर्जनशील साहित्य सदनजस्ता संस्थाहरूले पोखरामा नाटकको विकासमा महत्वपूर्ण योगदान पु-याएका छन् ।

पछिल्लो समयमा नाटकप्रतिको आकर्षण बढीरहेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य रमेशरञ्जन झा बताउँछन्। ‘पोखरासहित देशका विभिन्न ठाउँमा नाटकघर बन्ने क्रम पनि बढिरहेको छ’, उनी भन्छन्, ‘हाल निजीस्तरबाट काठमाडौंमा चारवटा, विराटनगरमा दुईवटा, पोखरामा एकवटा नाटक घर बनिसकेका छन् भने जनकपुर र धरानमा बन्ने क्रममा छन् ।’

पछिल्लो समयमा नाटकप्रति दर्शकको सचेतता बढेको उल्लेख नाटककार अशेष मल्ल यसतर्फ युवाको जमात पनि निकै आकर्षित भएको बताउँछन् । पोखरालाई साहित्य एवं रङ्गमञ्चका दृष्टिले सचेत ठाउँका रुपमा आफूले हेर्ने गरेको बताउँदै उनी पोखरा थिएटरको निर्माणसँगै यहाँ नाट्य गतिविधि विस्तार हुने विश्वास व्यक्त गर्छन् ।

प्रतिक्रिया दिनुहोस