गर्भपतन गराएउने जनप्रतिनिधि पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गर्भपतन गराएउने जनप्रतिनिधि पक्राउ


८ बैशाख २०७५, शनिबार


रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन दिँदै बेलाबेला अवैध यौन सम्पर्क गरेर आफूलाई गर्भवती बनाएको भन्दै ती महिलाले प्रहरीसमक्ष उजुरी दिएकी छिन् । उनको उजुरीका आधारमा कार्यपालिका सदस्य सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको यहाँका प्रहरी नायब उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार सुनार विवाहित हुन् । उनका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् । यता महिला भने माइतीघरमा बस्दै आएको बताइएको छ ।

सहमतिमा अवैध यौन सम्पर्क भए पनि गर्भपतनपछि अत्यधिक रक्तस्राव भएपछि महिलाले प्रहरीसमक्ष उजुरी दिएको बताइएको छ । स्वास्थ्यमा असुरक्षा हुने भएपछि उनी प्रहरीसमक्ष पुगेकी हुन् । निजी स्वास्थ्य संस्थाबाट औषधि किनेको महिलाले प्रहरीसमक्ष बताएकी छिन् ।

श्रीमान्–श्रीमतीले नै विभिन्न धम्की दिएर चार महिनाको बच्चा गर्भपतन गराउन लगाएको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । पीडित महिलाको जाहेरीअनुसार कार्यपालिका सदस्य सुनारलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । रासस

प्रतिक्रिया दिनुहोस