उडानमा फोटोग्राफी गरे पाइलटलाई ग्राउण्डेड गर्नेसम्मको कारवाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उडानमा फोटोग्राफी गरे पाइलटलाई ग्राउण्डेड गर्नेसम्मको कारवाही


प्रशासन विशेष ब्युरो

७ बैशाख २०७५, शुक्रबार


काठमाडौं । नेपाल एयरलाइन्सको एयरबस उडाउने एक सेलिब्रिटी पाइलटले यात्रु उडानमा रहेका बेलामा खिचेका सेल्फी तस्बिर सामाजिक सञ्जालमा छयापछयाप्ती देखिन्छन् ।

आगामी दिनमा चालक दलका कुनै पनि सदस्यले यसो गर्न पाइने छैन। यसो गरेको भेटिए पाइलटलाई ग्राउन्डेड गर्नेसम्मको कारबाही हुने खबर आजको कान्तिपुर दैनिकमा छ ।

फ्लाइट डेकमा युनिफर्ममा रहेका पाइलट तथा पाइलट र उडानकर्मीहरूसँग यात्रुले जहाजभित्र मात्र नभई हवाई सुरक्षाका हिसाबले संवेदनशील मानिने ककपिटमै पुगेर खिचेका तस्बिर फेसबुकलगायत सामाजिक सञ्जालमा अत्याधिक देखिन थालेपछि नागरिक उड्डयन प्राधिकरण यो विषयमा गम्भीर भएको हो। प्राधिकरणभित्रको नियमनकारी निकाय फ्लाइट सेफटी स्टयान्डर्ड विभाग नेपालमा दर्ता भएका सबै २१ वटा हेलिकप्टर तथा वायुसेवा कम्पनीलाई फोटोग्राफीबारे सचेत गराएको छ।

त्यसैगरी नेपालभित्रका हिमाली तथा पहाडी विमानस्थलमा बादल लागेको अवस्थामा विमान उडाउने नियम छैन। उपकरणको सहायतामा हुने (आईएफआर) उडान नियम दुर्गम भेगमा हुँदैनन्। स्पष्ट देखिने अवस्थामा हेरेर मात्रै उडान (भीएफआर फ्लाइट) भर्नुपर्छ। कतिपय पाइलटले ती रुटमा निकैबेर बादलभित्र जहाज उडाउने गर्छन्। यो पनि कानुन विपरीत हो।

वायुयान तथा पाइलटको अनुमतिपत्र नियमन गर्ने यस निकायले ‘कुनै पनि प्रकारका नागरिक उडानमा फोटोग्राफी नगर्न’ सचेत गरेको हो। विभागका उपनिर्देशक दीपककुमार लामाद्वारा जारी गरिएको परिपत्र २१ वटै हवाई सेवा कम्पनीभित्र चालकदलको कार्यतालिका हेर्न अपरेसन (सञ्चालन विभाग) तोकेरै पठाइएको छ। ‘सम्बन्धित सबै उडानकर्मीलाई कुनै पनि उडान अवस्थामा फोटोग्राफीमा लिप्त नहुन गम्भीरतापूर्वक सचेत गराइएको छ,’ परिपत्रमा लेखिएको छ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार यस्ता गतिविधिले उडान र हवाई सुरक्षामा असर पर्न सक्ने भएकाले सचेत गराइएको हो। ‘नियमनकारी निकायको परिपत्र उल्लंघन गरिए चालक र अन्य उडानकर्मीलाई जरिवानासमेत ग्राउन्डेड निश्चित समयका लागि उडानमा रोकसम्म गर्नेछौं,’ नागरिक उड्डयन सुरक्षा नियमन निर्देशनालय प्रमुख पोखरेलले भने।

उडिरहेको जहाजमा शौचालय जाँदै गरेका फलाइट डेकका पाइलटले यात्रुसँग फोटोग्राफी गर्दा कमजोर मनोबल भएका यात्रुमा असर पर्छ। ‘यस्ता गतिविधिले उड्डयनसम्बन्धी जानकारी नभएका, पहिलोपटक उडान अनुभव बटुलिरहेका यात्रुको मनोबल कमजोर बन्न सक्छ,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘कतिपय यात्रु आत्तिन सक्छन् भने कतिपयले सहज महसुस नगर्न सक्छन्।

यो उडान सुरक्षाका लागि राम्रो होइन।’ त्यसैगरी नेपालबाहिर हुने अन्तर्राष्ट्रिय रुटमा अर्को डयुटीका लागि यात्रुसँगै सिटमा बसेर उडान भरिरहेका पाइलट तथा क्याबिन क्रुले पनि फोटोग्राफी गर्दा कपितय यात्रु त्रसित हुने, आत्तिने गरेको गुनासो आउने गरेको विभागका एक अधिकारीले बताए।

‘हाम्रो वेबपेजमार्फत थुप्रैले स्वतस्फूर्त इमेल उजुरीरगुनासो गरिरहेका हुन्छन्। हामी सम्बन्धितलाई कारबाही पनि गरिरहेका हुन्छौं। तर, यस्ता कारबाहीमा संलग्नलाई सार्वजनिक गर्न मिल्दैन र गर्दैनौं पनि,’ उपमहानिर्देशक पोखरेलले भने।

प्राधिकरणमा यस्ता गतिविधिबारे त्यही विमानमा रहेका कुनै पनि एक पाइलट, एयरहोस्टेस, इन्जिनियर, यात्रु, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) वा अन्य विमान कम्पनीले गोप्य जानकारी दिन्छन्। यस्ता घटनाको प्राधिकरणले आन्तरिक रूपमै छानबिन गरी कारबाही गर्छ। तर, कारबाही हुने र उजुरी गर्नेको नाम सार्वजनिक गर्दैन। यसबारे नियमावली नै रहेको छ।

अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) तथा युरोपियन युनियन (ईयू) लगायतलाई बेलाबेला के कसरी कारबाही गरियो भनेर प्राधिकरणले जानकारी पनि गराउनुपर्छ।

प्रतिक्रिया दिनुहोस