३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर


४ बैशाख २०७५, मंगलबार


School

झापा । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर सुरु भएको छ ।

वैशाख २ गतेदेखि सुरु भएको भर्ना अभियानअन्तर्गत विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने सरकारको लक्ष्य छ । देशभर विद्यालय उमेर समूहका प्राथमिक तह (५–९ वर्ष उमेर समूह) का २।८ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको सरकारको तथ्यांक छ । विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी भर्ना कार्यक्रम नयाँ शैक्षिक सत्र २०७५ मा पहिलो पटक राजनीतिक अभियानका रुपमा मनाइँदैछ । विगतमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाले मात्र भर्ना कार्यक्रम मनाउँदै आएका थिए भने यस पटक प्रधानमन्त्रीदेखि उच्च राजनीतिक तहबाट अभियानमा सहभागिता भइरहेको छ ।

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको रारामा आयोजित पर्यटन महोत्सवका अवसरमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण शुभारम्भ गर्नुभएको थियो । यससँगै यस वर्षको देशभर विद्यार्थी भर्ना अभियान सुरु भएको हो ।

वि.सं. २०६१ देखि शुरु भएको विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि यस वर्ष केन्द्र, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रुपमा काम सुरु गरेका छन् । झापामा पनि अभियानस्वरुप विद्यार्थी भर्ना कार्यक्रम शुरु गरिएको छ । उपजिल्ला शिक्षा अधिकारी रामप्रसाद ढुंगेलका अनुसार जिल्लामा प्राथमिक तहका विद्यालय उमेर समूहका अझैं ३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । उनीहरुलाई विद्यालयको पहुँचमा ल्याउन जिल्ला शिक्षा कार्यालयसहित झापाका आठ नगरपालिका र सात गाउँपालिकाले अहिले विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेका छन् ।

साविक टाघनडुब्बा– ८ स्थित नमूना प्राथमिक विद्यालय अहिले झापा गाउँपालिका– ३ मा पर्छ । हरेक दृष्टिकोणले पछि परेको सो ठाउँका सर्वसाधारण शैक्षिक दृष्टिकोणले समेत अझैं पछि छन् । झापा गाउँपालिका–३ मा पर्ने गैरीगाउँमा कोच आदिवासी समुदायसहित सीमान्तकृत, अल्पसंख्यक र लोपोन्मुख समुदायको बसोवास छ । यस ठाउँका अधिकांश बालबालिका अझै पनि विद्यालय बाहिर छन् ।

विद्यालय बाहिरका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन झापा गाउँपालिकाले विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएको छ । सोही क्रममा गाउँपालिकाले नमूना प्राविका विद्यार्थी भर्ना कार्यक्रम सोमवारदेखि सुरु गरेको विद्यालयकी प्रधानाध्यापक कमला विश्वकर्माले बताइन् ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले अलका उराँव र गणेश उराँवका छोरा राजलाई नमूना प्राविमा भर्ना गर्दै अभियानको उद्घाटन गर्दै उनलाई विद्यालय पोशाक, पाठ्यसामग्रीसमेत प्रदान गरे ।

सरकारले अभियानस्वरुप देशभर विद्यार्थी भर्ना कार्यक्रमलाई निरन्तरता दिए पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसकेको आरोप छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसक्नुमा समयनुकूल पाठ्यक्रम परिमार्जन नहुनु शिक्षकको ठम्याइ छ । सामुदायिक विद्यालयप्रति अभिभावकको चासो कम हुनु र विद्यालय र अभिभावकबीच समन्वयको कमीका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसकेको झापा गाउँपालिका– २ का वडाध्यक्ष नेत्र खड्काको बुझाइ छ ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि झापा गाउँपालिकाले अंग्रेजी माध्यमलाई निरन्तरता दिएको टाघनडुब्बा स्रोत केन्द्रका स्रोत व्यक्ति खड्गप्रसाद खरेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस