आयल निगम जग्गा खरिदः १ अर्ब ३४ करोड नोक्सानी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आयल निगम जग्गा खरिदः १ अर्ब ३४ करोड नोक्सानी


प्रशासन विशेष ब्युरो

४ बैशाख २०७५, मंगलबार


काठमाडौँ । नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमितताका कारण कम्तीमा एक अर्ब ३४ करोड रुपैयाँ राज्यकोषमा नोक्सानी भएको एक सरकारी तथ्यांकबाट देखिएको छ ।

जग्गा प्राप्ति ऐनअनुसार सरकारी दररेटमा जग्गा खरिद गर्नुपर्नेमा पटक–पटक बिचौलिया प्रयोग गरेर टेन्डरबाट जग्गा खरिद भएकाले राज्यकोषमा ठूलो नोक्सानी भएको खबर आजको कान्तिपर दैनिकमा छापिएको छ ।

महालेखा परीक्षकको कार्यालयले गतसाता सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘एक अर्ब ९६ करोड ३२ लाख रुपैयाँ भुक्तानी गरेर खरिद भएको जग्गा सरकारी मूल्यांकनअनुसार ६१ करोड ७५ लाख रुपैयाँको मात्रै देखियो ।’ सरकारी मूल्यांकनको तुलनामा बजारमा जग्गाको भाउ केही बढी हुन्छ । तर एक लेखापरीक्षक अनुसार सरकारी मूल्यांकनको ५० प्रतिशत नै बढी भुक्तानी भएको भए पनि एक अर्बभन्दा बढीको घोटाला स्पष्टै देखिन्छ ।’

आयल निगम स्रोतबाट प्राप्त टेन्डरसम्बन्धी कागजात हेर्दा जग्गा खरिदका लागि निगमले तयार गरेको स्पेसिफिकेसनअनुसार समेत जग्गाको भाउ मालपोत कार्यालयको भन्दा बढी थिएन । खोला किनार वा पानीको मुहान भएको ठाउँ नजिकको, होचो भागको, बस्तीबाट टाढाको जग्गा मापदण्डमा पर्ने भनेर सूचना निकालिएको थियो ।

यस्ता मापदण्डमा पर्ने जग्गा सरकारी दररेटकै हाराहारीमा हुन्छन् । निगमले यस्तै सर्तअनुसार पाउने जग्गा भने बजारको केन्द्रमा हुने जग्गाको भाउअनुसार खरिद गरेको थियो । स्थलगत निरीक्षणमा गएका एक लेखापरीक्षकले भने, ‘सबै ठाउँमा ट्यांकर आवतजावत गर्न बाटोको सुविधासमेत छैन ।’ आयल निगमले चार ठाउँको जग्गा खरिदमा २ अर्ब ३४ करोड रुपैयाँ खर्चेको भनिए पनि केही ठाउँमा जग्गाधनीले जग्गा दिन नमानेका कारण भुक्तानी एक अर्ब ९६ करोड रुपैयाँमा सीमित भएको थियो ।

झापाको मेचीनगरमा खरिद भएको जग्गाका लागि ६२ करोड ६४ लाख रुपैयाँ भुक्तानी भएको छ । जब कि उक्त जग्गाको मूल्यांकन १० करोड ८२ लाख रुपैयाँमात्रै छ । सर्लाहीको हरिहरपुरमा २७ करोड ४३ लाख रुपैयाँमा खरिद भएको जग्गाको मूल्य ९१ लाख रुपैयाँ मात्रै भएको देखिन्छ ।

चितवन लोथरमा ७४ करोड ८४ लाख रुपैयाँमा खरिद भएको जग्गाको सरकारी मूल्यांकन २८ करोड ५८ लाख रुपैयाँमात्रै छ । रूपन्देहीको वसन्तपुरमा ३१ करोड ४१ लाख रुपैयाँमा खरिद भएको जग्गाको मूल्यांकन २१ करोड ४४ लाख रुपैयाँमात्रै छ ।

प्रतिक्रिया दिनुहोस