सुबिधा र सेवा भन्नु त नामेट छ जताततै
बाटोदेखि घाटैसम्म सिन्डिकेट छ जताततै ।
सोझो औंला हुनेलाई जिस्क्याउँछ चप्पलले
बाङ्गो औंलो गर्नेलाई जहाज(जेट छ जताततै ।
छिर्नै नपाई लुरुक्कन फर्किंदा छन् लुरे जति
तिघ्रेलाई भित्रै पुग्ने खुल्ला गेट छ जताततै ।
सेता-राता चम्के घरमा भेटी नभै भेटै हुन्न
टक्र्याउन सक्नेलाई दर्शन-भेट छ जताततै ।
कावा खाँदै बाज घुम्छ, दच्काउँदै चल्लालाई
परेवा र चखेवाको चंगा–चेट छ जताततै ।