सिटी हल निर्माण अन्तिम चरणमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिटी हल निर्माण अन्तिम चरणमा


२९ चैत्र २०७४, बिहिबार


कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिले महेन्द्रनगरमा बनाउन लागेको सिटी हल निर्माण अन्तिम चरणमा पुगेको छ ।

एक दशकअघि निर्माण शुरु भएको सिटी हलको ९५ प्रतिशत काम पूरा भएको छ । आठ करोड ९३ लाख ५२ हजारमा निर्माणको ठेक्का दिइएकोमा हालसम्म सात करोड ५० लाख खर्च भएको समितिका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिए ।

श्यामसुन्दर गौरी पार्वती जेभीले सिटी हल निर्माणको ठेक्का लिएको छ । पछिल्लो पटक आगामी जेठ मसान्तसम्म म्याद थपिएको छ । समितिले यसलाई अन्तिम पटक भनेर म्याद थप गरेको हो । त्यस अघिका म्याद थप गुजारिएका थिए ।

‘सिटी हलको निर्माण लगभग सकिन लाग्यो, जेठभित्र समितिलाई हस्तान्तरण हुन्छ,’ भट्टले भने । सिटी हलमा अहिले विद्युत्, पानी र झ्यालढोका जडान भइरहेको छ । विद्युत् लाइन जोड्ने विद्युत् कार्यालयलाई एक लाख ४२ हजार भूक्तानी गरिएको छ ।

ठेकेदार कम्पनीले निर्माण सम्झौतापछि अर्को ठेकेदारलाई जिम्मा दिएको थियो । सूचना अधिकारी भट्ट ढिलाइमा दुवै पक्षको कमजोरी देखिएको बताउछन् । समितिले निर्माणमा अवरोध आउनसक्ने भन्दै पाँच पटकसम्म सिटी हल निर्माणको म्याद थप गरेको थियो ।

‘बाध्यतावश म्याद थप गरिएको हो,’ उनले भने । पछिल्लो पटक म्याद थप अघि ठेकेदारलाई पाँच लाख जरिवाना गरिएको छ । नगर विकास समितिले गुरुयोजना अनुसार बनाएको हल एक हजार जना अटाउने क्षमताको छ । ठूलो सभाकक्ष, दुई सय क्षमताको अर्को हल र ५०÷५० जना क्षमताका दुईवटा हल छन् ।

समितिले जग्गा बिक्री गरी सिटी हल निर्माण थालेको हो । हालसम्म झण्डै ६ सय बिगाहा जग्गा बिक्री गरिसकेको छ । ‘विगतमा प्रक्रिया पु¥याएर बिक्री गरिएको जग्गाबाट आएको रकम सिटी हल निर्माणमा खर्च गरिएको छ,’भट्टले भने। समितिले दुई वर्षमा बनाउने लक्ष्यका साथ २०६५ मा सिटी हल निर्माण थालेको थियो । रासस

प्रतिक्रिया दिनुहोस