बालसन्तमाथि आक्रमणको आशंकामा दुई पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बालसन्तमाथि आक्रमणको आशंकामा दुई पक्राउ


२५ चैत्र २०७४, आइतबार


विराटनगर । प्रहरीले बालसन्त श्रीनिवास आचार्यलाई गोली प्रहार गरेको आशंकामा आज दुई जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१४ बाट पक्राउमा परेका ती दुई जनासँग सोधपुछ भइरहेकाले नाम गोप्य राखिएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराए । आचार्यमाथि गोली प्रहार भएलगत्तै मोरङमा प्रहरीले खोज अभियानलाई तीव्रता दिएको थियो ।

विराटनगर–१४ स्थित जतुवामा गएराति १ः४५ बजे शौचका लागि कोठाबाट बाहिर निस्कनासाथ आचार्यमाथि गोली प्रहार भएको थियो । दाहिने कुममा गोली लागेको उनको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ । घटनास्थलमा मङ्गोल अर्गनाइजेशनको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

सुनसरीको चकरघट्टीस्थित लक्ष्मी बैंकटेश मन्दिरका ५० वर्षीय आचार्य आजदेखि विराटनगर–१४ स्थित रामजानकी मन्दिरमा श्रीमद्भागवत पुराण वाचनका लागि आएका थिए ।

आचार्यको स्वास्थ्य अवस्था बुझ्न १ नं प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीसहित सुरक्षा निकायका प्रमुख न्यूरो अस्पताल पुगेका थिए । रासस

प्रतिक्रिया दिनुहोस