प्रधानमन्त्रीको सम्पत्ति विवरण खोइ ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको सम्पत्ति विवरण खोइ ?


प्रशासन विशेष ब्युरो

२३ चैत्र २०७४, शुक्रबार


काठमाडौंः प्रधानमन्त्री केपी ओलीसहित सरकारका २१ मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गर्न चासो देखाएका छैनन्।

ओली प्रधानमन्त्री भएको डेढ महिना पुगिसकेको छ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भने पदमा नियुक्त भएसँगै आफ्नो र परिवारका नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए।

कानुनमन्त्रीवाहेक अन्य २१ मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रजातन्त्र आएपछि बनेका लोकतान्त्रिक सरकारले नागरिकप्रतिको जिम्मेवारी बहनगर्न र सुशासनको प्रत्याभूति दिन सरकार गठन भएको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परिपाटी बसालेका थिए।

मन्त्रिपरिषद् बैठकले सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिकीबारे निर्णय गर्ने र सोहीअनुरूप मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा छ। ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नेबारे हालसम्म निर्णय गरेका छैनन्।

भ्रष्टाचार निवारण ऐन २०५९ मा सार्वजनिक पदमा नियुक्त प्रधानमन्त्री तथा मन्त्रीले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ। कानुनमा यस्तो व्यवस्था भए पनि सदाचार र नैतिकताको अनुभूति दिन मन्त्रिपरिषद् गठन भएलगत्तै मन्त्रीहरूले आफू र आफ्नो परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन छ। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस