डोल्पालीका लागि अस्पताल बन्दै तातोपानी कुवा « प्रशासन
Logo १४ असार २०७९, मंगलबार
   

डोल्पालीका लागि अस्पताल बन्दै तातोपानी कुवा


२२ चैत्र २०७४, बिहिबार


त्रिपुराकोट । बिरामी पर्दा डोल्पाका अस्पतालमा सामान्य सिटामोलसम्म नपाउनु यहाँका जनताको नियति नै बनिसकेको छ ।

दुर्गम जिल्ला डोल्पाका सर्वसाधारणले वर्षौंदेखि स्वास्थ्योपचारका लागि विभिन्न प्रकारका समस्या भोग्दै आएका छन् । तर पछिल्लो समयमा डोल्पाली जनताको उपचार गर्ने अस्पतालका रुपमा बाफिलो तातोपानीका कुवा प्रयोग हुन थालेका छन् । यस्ता कुवामा जमिनको भित्री भागबाट नै तातो बाफयुक्त पानी आउने गर्दछ ।

प्राकृतिक रुपमा आफैँ बनेका यी कुवा लामो समयदेखि डोल्पालीका लागि अस्पताल बन्दै आएका छन् । यी कुवामा डुबुल्की मारेर नुहाउनाले विभिन्न प्रकारका रोग निको हुने विश्वास रहेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका—१ की स्थानीय धनकली सार्कीका अनुसार विगत चार वर्षसम्म शरीर दुख्ने रोगले हैरान पारेको थियो, पटकपटक जाँच गराउँदा समेत निको भएको थिएन, पछि गाउँका महिलाले तातोपानी कुवामा पुगेर नुहाएपछि निको हुन्छ भनेर बताए, उनीहरुले भनेअनुसार तातोपानी कुवामा नुहाएपछि शरीर दुख्ने रोग हराएको सार्कीले बताए ।

‘अहिले शरीर स्वच्छ छ, हरेक वर्ष यही समयमा तातोपानी पुग्छु, तीन दिनको बसाइमा सात पटकसम्म नुहाउने गरेपछि निको भएको छ”, सार्कीले भने, ‘हामी गरिब समुदायका लागि यस्ता कुवा अस्पताल नै साबित भएका छन् ।’ प्रत्येक वर्ष यस्ता तातोपानीका कुवामा नुहाउनाले छाला, मुटुजन्य, बाथ, औलो, ज्वरो, मोटोपन लगायत विभिन्न प्रकारका दीर्घ रोगसमेत निको हुने डोल्पाली सर्वसाधारणको विश्वास रहेको छ ।

यस कारण पनि फागुन पहिलो सातादेखि चैत अन्तिम साता सम्मको अवधिमा हजारौँ सर्वसाधारण तातोपानी कुवा पुग्ने गर्दछन् । जिल्लाको फलरुपी, सुँपानी, सहरतारा, रुपगाडलगायतका स्थानमा तातोपानी तथा पहेँलो पानीको कुवा रहेका छन् । आर्थिक रुपमा सम्पन्न व्यक्तिका लागि मात्रै महँगा अस्पताल भएको र गरीबका लागि तातोपानी कुवा नै अस्पताल साबित भएको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थानीयवासी मुना सार्कीले बताइन् ।

उक्त कुवामा नुहाउने गरेपछि आफ्नो शरीर झम्झमाउने तथा मुटु दुख्ने रोग निको भएकाले हरेक वर्ष तातोपानी पुग्ने गरेको थापाको भनाइ छ । ‘यस्ता कुवाले जिल्लाबाहिर गएर उपचार गराउँदा लाग्ने पचासौँ हजार रुपैयाँ जोगिएको छ’, थापाले भने । यस्ता कुवामा नुहाउन फागुनदेखि चैतसम्म समय मात्रै उपयुक्त मानिन्छ । यस वर्ष पनि उक्त कुवामा नुहाउन जाने भीडभाड देख्न पाइन्छ । बाटाघाटामा गाउँ–गाउँबाट झरेका कुवामा पुग्नेको लर्को लागेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका—१ का धनमल सार्की पनि परिवारसहित तातोपानी पुगेका छन् । तातोपानीमा नुहाउनाले वर्षौंदेखि मुटु पोल्ने रोक सञ्चो भएको उनले बताए ।

प्रायः स्थानीय समूहमा जाने भएकाले घरबाटै मीठामीठा परिकार लिएर गाँसबासको व्यवस्थासहित घरमा ताला मारेर केटाकेटी, बूढाबूढी सबै तातोपानी कुवा पुग्ने गर्दछन् । महिनौँ सम्म चिसोपानीमा नुहाएको शरीरलाई तातोपानीमा डुबाउँदा शरीर कमलो र कमजोर हुने भन्दै दूध, मासु जस्ता पोसिलो खानेकुराको बन्दोबस्त गरेर स्थानीयवासी पुग्दछन् ।

तातोपानीमा नुहाएर घर फर्केपछि कम्तीमा एक हप्तासम्म आराम गर्नुपर्ने तातोपानी कुवा पुग्ने बताउँछन् । विशेष गरेर यस्ता तातोपानीका कुवामा पुरुषको तुलनामा महिला धेरै पुग्ने गर्दछन् ।

ग्रामीण महिला बाह्रै महिना खेतीपातीको कामकाजले स्वास्थ्य जाँच गर्ने समयसमेत नहुने भएकाले यतिखेर घरायसी कामको बोझसमेत कम हुने भएकाले उपचारका लागि पुरुषभन्दा तुलनात्मक रुपमा महिला धेरै जाने गरेको त्रिपुरासुन्दरी नगरपालिका—१ बस्ने कालिका बिष्टले बताए ।

जिल्लाका केही तातोपानीका कुवासम्म पुग्ने बाटो अत्यन्तै जोखिमयुक्त भएकाले सुधार गर्नुपर्ने ठूलीभेरी नगरपालिका—९ का स्थानीयवासी अमर सिंह कठायतले बताए ।

यस्ता कुवालाई व्यवस्थित बनाएर पर्यटकीय स्थलका रुपमा विकसित गरेर आर्थिक लाभ लिन सकिने समेत कठायतको भनाइ छ । उक्त कुवामा नुहाउन जाने मान्छेको चाप बर्षेनि बढ्दै जान थालेकाले यसलाई व्यवस्थित गराउन सबै लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस