सिन्डिकेट जोगाउन आन्दोलन ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिन्डिकेट जोगाउन आन्दोलन !


प्रशासन विशेष ब्युरो

१९ चैत्र २०७४, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले राजमार्गमा निर्बाध रूपमा सवारी आवागमनलाई सुचारु गर्न दिएको निर्देशन लत्याउँदै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले अरनिको राजमार्गमा सवारी आवागमन ठप्प पारेको छ ।

केही दिनअघि मात्र प्रधानमन्त्रीले बनेपा–काठमाडौं रुटमा चल्ने मयूर यातायातका बसलाई अवरोध पुर्‍याए रुट खारेज गर्न विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई निर्देशन दिएका थिए । स्थानीय व्यवसायीसँग समन्वय नगरी विभागले मयूर यातायातलाई रुट इजाजत दिएको भन्दै महासंघले आवागमन ठप्प पारेको हो । कोटेश्वरपूर्वका १३ समितिले अरनिको राजमार्गलगायत भक्तपुर र काभ्रेका स्थानीय रुटमा गाडी गुडाउन बन्द गरेका छन् ।

जतिसुकै आन्दोलन गरे पनि मयूरलाई दिएको रुट परमिट खारेज नहुने यातायात व्यवस्था विभागका निर्देशक तुलसीराम अर्यालले बताए । ‘कानुनी राज्यको सम्मान सबैले गर्नुपर्छ, आवेगमा आएर बन्दरअवरोधजस्ता आन्दोलनको कुनै अर्थ छैन,’ उनले भने, ‘प्रतिस्पर्धात्मक रूपमा गाडी चलाउँदा राम्रो हुन्छ ।’

सर्वोच्च अदालतको फैसलासमेतको अवज्ञा गर्दै व्यवसायीले सिन्डिकेटलाई प्रश्रय दिएको विभागका एक अधिकारीले बताए । ‘खुला अर्थतन्त्र, प्रतिस्पर्धात्मक बजारको मान्यताअनुसार सबै चल्नुपर्छ,’ ती अधिकारीले भने, ‘कसैको दादागिरी चल्दैन, कानुनी राज्यको उपहास गर्दा के हुन्छ, त्यसबाट निस्कने परिणाम भोग्न तयार हुनुपर्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस