बाटैमा हराए हजार कर्मचारी ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बाटैमा हराए हजार कर्मचारी !


प्रशासन विशेष ब्युरो

१८ चैत्र २०७४, आइतबार


काठमाडौँ । प्रदेश र स्थानीय तहमा खटिएका झन्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कविहीन भएका छन् । बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरू सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराउन थालेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कम्तीमा एक हजार कर्मचारी कार्यक्षेत्र पुगेका छैनन् । अहिलेसम्म प्रदेश र स्थानीय तहमा कति कर्मचारी खटिए भन्ने तथ्यांक मन्त्रालयसँग छैन । स्थानीय विकास र सामान्य प्रशासन समायोजनबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएयता कर्मचारी सरुवाको सूचीसमेत सार्वजनिक गरिएको छैन ।

मन्त्रालयले गत पुसदेखि फागुन १७ सम्म ७ वटै प्रदेशका मन्त्रालयका लागि १ हजार १ सय ४३ कर्मचारी सरुवा गरेको थियो । तीमध्ये २ सय ४१ कर्मचारी अझै प्रदेशका मन्त्रालयमा हाजिर भएका छैनन् । तथ्यांकअनुसार ८ सय ८१ कर्मचारी मात्रै प्रदेश सरकारको सम्पर्कमा पुगेर हाजिर भएको देखिन्छ ।

स्वैच्छिक अवकाशमा आवेदन दिएका २१ कर्मचारी पनि प्रदेश गएका छैनन् । प्रदेश १ मा १ सय ७४ कर्मचारी खटाइएकामा ३७ जना हाजिर भएका छैनन् । प्रदेश २ मा १ सय ५७ मध्ये ६० जना गएका छैनन् । प्रदेश ३ मा पठाइएका १ सय ४८ जनामा २९ जना सम्पर्कविहीन छन् ।

प्रदेश ४ र ५ मा क्रमश: १ सय ७३ र १ सय ५५ कर्मचारी पठाइएको थियो । तीमध्ये क्रमशः २३ र ४० कर्मचारी हाजिर हुन गएका छैनन् । प्रदेश ६ मा एक सय ७६ कर्मचारी खटाइएकामा १ सय ४९ मात्रै हाजिर हुन पुगेका छन् । प्रदेश ७ मा पठाइएका १ सय ६० मध्ये ४६ कर्मचारी हाजिर कार्यक्षेत्र पुगेका छैनन् । यो तथ्यांक सामान्य मन्त्रालयका प्रशासनिक कर्मचारीको मात्र हो ।

मन्त्रालय स्रोतका अनुसार अन्य मन्त्रालयले सामान्य प्रशासनको सहमति लिएर खटाएका प्राविधिकतर्फका कर्मचारीसमेत प्रदेश सरकारको सम्पर्कमा पुगेका छैनन् । प्राविधिकतर्फका बढी कर्मचारी सम्पर्कमा नआएको प्रदेश सरकारका सचिवहरूको भनाइ छ ।

सामान्य प्रशासनले सरुवा गरेकामध्ये ३ सय २६ कर्मचारीले विभिन्न कारण देखाएर सरुवा रद्द गरेका छन् । सरुवा गरिएका १ सय ४५ उपसचिव र ८६ शाखा अधिकृतमध्ये कतिपय स्थानीय तहमा नपुगेको सामान्य प्रशासनका एक कर्मचारीले बताए । ‘कागजमा सरुवा भएको देखिन्छ, सेवासुविधा पनि लिएका छन्,’ ती कर्मचारीले भने, ‘वास्तविक रूपमा केही कर्मचारी तोकिएको ठाउँमा पुगेका छैनन्, पछिल्लो समय भद्रगोल बढेको छ ।’

हाजिर हुन नगएका कर्मचारीको लगत संकलन भइरहेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । उनका अनुसार स्थानीय सरकार र प्रदेश सरकार बनेपछि मन्त्रालयले १० हजारभन्दा बढी कर्मचारी खटाइसकेको छ । स्थानीय तहमा प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी संयोजक रहेको कर्मचारी व्यवस्था तथा समन्वय समितिले पनि कर्मचारी खटाउने गरेको छ । प्रजिअले जिल्लाभित्रै खटनपटन गरेका कर्मचारी पनि अनेक बहानामा तोकिएको ठाउँमा नगएको स्रोतको दाबी छ ।

कतिपय कर्मचारीले बिरामी भएको, घरायसी काम परेको लगायत कारण देखाएर कार्यक्षेत्र जान अटेर गरेका छन् ।

कर्मचारी संघसंगठनका नेतृत्व गर्ने कर्मचारी पहुँचका भरमा तोकिएको क्षेत्र जान आनाकानी गरिरहेका छन् । न्यौपानेले भने सरुवा भएका ८० प्रतिशतभन्दा बढी कर्मचारी कार्यक्षेत्रमा हाजिर भएको र नगएकाहरू पनि जाने क्रममा रहेको दाबी गरे ।

सामान्य प्रशासन, तत्कालीन स्थानीय विकास, अन्य मन्त्रालय र प्रजिअले समेत खटाएका कारण कर्मचारीको लगत संकलन ढिलो भएको न्यौपानेको भनाइ छ । उनले भने, ‘सरुवा भएका कर्मचारी पुगेरनपुगेको अनुगमन र कारबाही गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रजिअलाई हुन्छ ।’

बैमौसमको सरुवा भएका कारण कर्मचारी सरुवाको सूची मन्त्रालयले सार्वजनिक नगरेको उनको भनाइ छ । ‘भदौ, असोजमा मात्रै गर्नुपर्ने सरुवा जुनसुकै महिनामा गर्नुपरेको छ,’ उनले भने, ‘विभिन्न कारणले सरुवा संशोधन हुन सक्ने भएकाले सार्वजनिक नगरेका हौं ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस